
४ चैत, काठमाडौं । नेपाल औषधि लिमिटेडले आइतबारदेखि थप तीन प्रकारका औषधि उत्पादन सुरु गरेको छ ।
लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले सेन्ट्रिमाइन, एमजीट र एमजिट–डिएफ नामका औषधि उत्पादन सुरु गरेको बताए ।
ट्याबेलटमा सेन्ट्रिमाइन एलर्जी र एमजीट र एमजिट–डिएफ औषधि झाडापखालाका लागि प्रयोग गरिन्छ ।
पनेरुका अनुसार हाल उक्त उत्पादित औषधि लाइसेन्स अनुमति लिनका लागि मात्रै उत्पादन गरिएको हो ।
‘अहिले हामीले केही मात्रामा बजारमा उत्पादित औषधि पठाउँछौं ।औषधि व्यवस्था विभागले थप बजारमा जान अनुमति दिएपछि ठूलो संख्यामा उत्पादन गर्ने योजना छ,’ पनेरूले अनलाइनखरसँग भने ।
लिमिटेडसँग दैनिक उक्त औषधी डेढलाखभन्दा बढी उत्पादन गर्ने क्षमता छ । तर बजारको माग अनुसार मात्रै उत्पादन गरिने पनेरूले बताए ।
यसअघि लिमिटेडले सिटामोल, जीवनजल, स्टानिटाइजर, डिष्टिल्ड वाटर, हेमोडायलासिस, फोलिक एसिड ट्याबलेट, ग्लिसरिन उत्पादन गरिरहेको छ ।
सरकारले थप २० प्रकारका औषधि उत्पादनका लागि २४ करोड बजेट दिने पटक–पटक निर्णय गरेपनि निर्णय कार्यान्वयन नभएको गुनासो गरे । रकम निकासा नहुँदा औषधि उत्पादन प्रक्रिया अगाडि बढाउन नसकिएको उनको भनाई छ ।
उनका अनुसार सरकारले पहिलो चरणमा ५ करोड रुपैयाँ मात्रै दिने हो भने ६ महिनामित्र २० थरिका औषधि बजारमा पठाउन सकिन्छ । तर अहिलेसम्म अर्थ मन्त्रालयले रकम निकासा गर्ने छाँटकाँट देखाएको छैन ।
‘पटक–पटक प्रधानमन्त्री देखि लिएर सम्बन्धित निकायका उच्च अधिकारीलाई भेट गरिसकेको छु । औषधिको उत्पादन र विस्तारको व्यवसायिक योजना पनि पेश गरिसकें’ पनेरुले भने, ‘तर कसैले पनि यसविषय चासो राखेर काम अगाडी बढाएनन् ।’
सरकारको पूर्ण लगानी रहेको औषधि लिमिटेडले १४३ प्रकार औषधिको उत्पादन गरेको इतिहास छ । २०२१ सालभन्दा अगाडि आयुर्वेदिक औषधि उत्पादन गर्ने कम्पनी भएपनि एलोपेथिक औषधिको उत्पादन हुँदैनथ्यो ।
२०२१ मा ऐन बनेपछि २०२५ सालमा थापाथलीस्थित वनस्पति विभागमा ‘शाही अनुसन्धानशाला इकाइ स्थापना भयो । यसले सुरुमा रुघाखोकी र ज्वरोका औषधि र केही मलम उत्पादन गर्यो ।
एलोपेथिक औषधि उत्पादन गर्ने कम्पनी नै आवश्यक महसुस भएपछि त्यही अनुसन्धानशालालाई २०२९ सालमा ‘शाही औषधि लिमिटेड’ बनाइयो ।
देशमा भएका कच्चा पदार्थ खपत गर्ने, देशभर सर्वसुलभ रुपमा औषधि उपलब्ध गराउने र औषधिको आयात प्रतिस्थापन गर्ने यसको उद्देश्य थियो । २०३० फागुनमा बबरमहलमा सरेको लिमिटेडले त्यसपछि औषधि उत्पादन झन् बढायो । ट्याब्लेट, झोल, मलम र सलाइन गरी सयभन्दा बढी प्रकारका औषधि उत्पादन गर्दै करिब तीन दशकसम्म एकछत्र राज गर्यो ।
विस्तारै राजनीति घुस्न थाल्यो । सरकारको नेतृत्व परिर्वतन भएसँगै औषधि लिमिटेडमा पनि प्रमुख परिर्वतन हुन थाल्यो । औषधि लिमिटेडमा राजनीतिक दलका कार्यकर्ता कर्मचारीका रुपमा भर्ती गर्न थालियो । त्यही बेला निजी औषधि उद्योगहरु पनि खुले ।
औषधि लिमिटेड धराशायी बन्दै गयो । २०६२र६३ को जनआन्दोलनसँगै अरु सरकारी संस्थान जस्तै यसको पनि नाम फेरियो । ‘शाही औषधि लिमिटेड’ बाट ‘नेपाल औषधि लिमिटेड’ । तर अवस्था फेरिएन ।
प्रतिक्रिया 4