+

छनोटमा स्वर्ण जितेर पारालिम्पिकमा पलेसा

२०८० चैत  ४ गते २०:०४ २०८० चैत ४ गते २०:०४
छनोटमा स्वर्ण जितेर पारालिम्पिकमा पलेसा

४ चैत, काठमाडौं । पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धनले छनोट चरण पार गर्दै पारालिम्पिकमा छनोट हुने नेपाली खेलाडीको कीर्तिमान बनाइन् । चीनको ताइयाङमा आइतबार भएको पेरिस पारालिम्पिक एसियाली छनोटमा स्वर्ण जित्दै पलेशाले पेरिसको टिकट काटेकी हुन् ।

छनोट अन्तर्गत के ४४ विधाको महिला ५७ केजी तौलमुनि पलेसाले स्वर्ण जित्दै उक्त ऐतिहासिक उपलब्धी हासिल गरेकी हुन् ।

यसअघि नेपालबाट तेक्वान्दोमै संगीना वैद्य र दीपक विष्टले मात्र छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए । यसअघि पारालिम्पिकमा सन् २००४ मा नेपालकी निर्मला ज्ञवाली सहभागी भएकी थिइन् । तर उनको छनोट वाइल्ड कार्डमार्फत थियो ।

पेरिस पारालिम्पिकमा छनोट भएपछि पलेसाले नेपाल तेक्वान्दो संघ,  नेपाल पारालम्पिक कमिटी राष्ट्रिय खेलुकद परिषद नेपाल र आफ्नो परिवार सबैलाई धन्यवाद दिइन् ।

उनले पेरिसमा पनि स्वर्ण पदक ल्याउने लक्ष्यका साथ तयारी गर्ने बताएकी छन् । ‘मेरो लागि यो कठिन थियो तर मैले राम्रो गरेँ देशको लागि गोल्ड ल्याएँ । पेरिसमा पनि यसरी नै गोल्ड ल्याउन सकुँ’, उनले भनिन् ।

पलेसाका प्रशिक्षक कविराज नेगी लामाले पनि नेपाली पारा खेलकुदमा यो ऐतिहासिक क्षण रहेको बताए । पलेसाले देशकै इज्जत राख्ने काम गरेको लामाको भनाइ छ । एक महिनाअघि नेपालमा अभ्यास गरेकी पलेसा हाल चीनको सांघाइमा प्रशिक्षण गर्दै थिइन् ।

यसरी भइन् छनोट

पलेसाले सन् २०२० को टोकियो पारालिम्पिक वाइल्ड कार्ड मार्फत खेलेकी थिइन् । त्यसबेला उनले दुई बाउट जितेर इतिहास रचेकी थिइन् । लगातार दोस्रो पटक पारालिम्पिक पुग्ने क्रममा पलेसाले यस पटक दुई विपक्षीलाई पराजित गर्दै स्वर्ण पदकसहित छनोट भएकी हुन् ।

पलेशाले के-४४ अन्तर्गत महिला ५७ केजीमुनि तौल समूहको सेमिफाइनलमा उज्बेकिस्तानकी खेलाडी करिमा मेलिकुजिएभालाई १८-२ को फराकिलो अन्तरले पराजित गरिन् ।

उनले फाइनलमा इरानकी लेल्ला मिर्जाईलाई ५-४ ले पराजित गरिन् । फाइनलमा सुरुवातमा २-२ को स्कोर भएपनि त्यसपछि पलेसाले अग्रता लिँदै अन्तिमसम्म कायम राखेकी थिइन् ।

पलेसाले खेल्ने के-४४ विधा हातको कुहिना भन्दा तलको भाग नभएका खेलाडीहरुको विधा हो । पलेसाको बायाँ हातको कुहिना तलको भाग छैन ।

पलेसाले गत अक्टोबरमा चीनकै हान्झाउमा भएको चौथो पारा एसियाली खेलकुदमा पनि कांस्य पदक जितेकी थिइन् । उनी पारा एसियाली खेलकुदमा पदक जित्ने पहिलो खेलाडी समेत हुन् ।

एक दशकमा पलेसाको उडान

काठमाडौं महानगरपालिका-२८, बागबजार निवासी पलेसाले जाउलाखेलस्थित डीएभी स्कुलमा अध्ययनरत रहँदा नै १० वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेकी थिइन् । शारीरिक समस्याका कारण उनलाई खेल्न असजिलो लागेपनि परिवारको राम्रो साथ थियो ।

त्यसपछि सन् २०१६ मा उनी पारा राष्ट्रिय टिममा आबद्ध भएकी थिइन् । लगत्तै अर्को वर्ष २०१७ मा दक्षिण कोरियाको छुनचियोनमा भएको तेस्रो एसियाली पारा तेक्वान्दो खुला च्याम्पियनसिपमार्फत पलेसाले अन्तर्रमष्ट्रिय प्रतियोगितामा ‘डेब्यु’ गरिन् ।

१३ वर्षमै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा नर्भस भएपनि उनी त्यसमा पाँचौं भएकी थिइन् । त्यसपछि भने पलेसाले पछाडि फर्केर हेर्नुपरेको छैन । विधिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै पदक जितिरहेकी छन् ।

सन् २०१७ मा लण्डनमा भएको विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा उनले एक खेल जितेकी थिइन् ।

त्यसको अर्को वर्ष भने उनले पहिलो अन्तर्राष्ट्रिय पदक जितिन् । सन् २०१८ मा भियतनाममा भएको चौथो एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा उनले कांस्य पदक जितेकी थिइन् ।

यस्तै सन् २०१९ मा जोर्डनमा भएको पाँचौं एसियाली पारा खुला तेक्वान्दो र २०१९ मै टोकियो पारालिम्पिक गेम्सको टेस्ट इभेन्टमा पाँचौं स्थान हासिल गरेकी थिइन् ।

सन् २०१९ मा टर्कीमा भएको आठौं विश्व पारा तेक्वान्दोमा नवौं भएकी पलेसाले साउदी अरेबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा पनि सहभागिता जनाएकी थिइन् । पलेसाले सन् २०२१ मा एसियाली युथ पारा गेम्समा नेपालका लागि स्वर्ण पदक जितिन् ।

कोरोना महामारीका कारण एक वर्ष ढिलागरी २०२१ मा भएको टोकियो ओलम्पिकमा उनले २ खेल जितेकी थिइन् । तर महत्वपूर्ण खेलमा ९ मिनेट सम्हालिन नसक्दा उनले निकै नजिक रहेको पदक गुमाउनुपरेको थियो ।

पलेसा गोवर्धन पारालिम्पिक
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय