
५ चैत, जनकपुरधाम । पार्टीले राजीनामा दिन निर्देशन दिए पनि मधेश प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले टेरेका छैनन् ।
मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकार छ । केन्द्रमा जसपा वर्तमान सत्ता गठबन्धनमा सामेल छ ।
मधेश सरकारमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव भौतिक पूर्वाधार विकासमन्त्री, वीरेन्द्र सिंह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र मोहम्मद समिम गृह सञ्चार तथा कानुन मन्त्री छन् ।
मुख्यमन्त्री सरोजकुमार यादवले पनि केही दिनअघि कांग्रेसका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका थिए । तर कांग्रेसका मन्त्रीहरू मुख्यमन्त्रीले बर्खास्त नगर्दासम्म सरकारमै रहने बताएका छन् ।
कांग्रेस संसदीय दलका नेता समेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले मुख्यमन्त्रीले आफूहरूको राजीनामा नमागेको दाबी गरे । ‘हिजो गठबन्धन गर्दा मन मिलेर गरिएको थियो । अहिले छोड्दा नराम्रो सन्देश जान्छ । हामीलाई यो सरकारमा कुनै अप्ठ्यारो महसुस भएको छैन’ मन्त्री यादवले भने ‘यदि मुख्यमन्त्रीलाई कांग्रेस चाहिएको छैन भने हटाउनुस्, हामी स्वीकार्छौं ।’
मुख्यमन्त्री यादवले भने सरकार पुनर्गठनको तयारीमा लागेको बताए । उनले एमालेलाई सरकारमा ल्याएर मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् ।
१४ सदस्यीय मन्त्रिपरिषद्मा जसपाका मुख्यमन्त्री सहित ४ मन्त्री र १ राज्यमन्त्री छन् । गत ९ माघमा जनमत पार्टीले छाडेको दुई मन्त्रालय पनि मुख्यमन्त्री यादवले सम्हालिरहेका छन् । कांग्रेसका ३, माओवादी केन्द्रका १ मन्त्री र १ राज्यमन्त्री, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका १/१ मन्त्री छन् ।
मन्त्रिपरिषद् पुनर्गठन गर्दा एमालेलाई कांग्रेसको भागमा रहेका ३ र जनमतले छाडेको २ मध्ये १ मन्त्रालय र माओवादी केन्द्रलाई थप १ मन्त्रालय दिने तयारी छ ।
१०७ सदस्यीय मधेश प्रदेश सभामा बहुमतका लागि ५४ मत आवश्यक पर्छ । मधेशमा एमालेका सभामुखसहित २४, जसपाका १९, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीको ७ सिट छ ।
प्रतिक्रिया 4