
५ चैत, काठमाडौं । परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले कूटनीतिक आचारसंहिता पालनाका लागि कडा कदम चाल्ने दाबी गरेका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै परराष्ट्र मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले भने, ‘परराष्ट्र सम्बन्ध र कूटनीतिक मामिलामा राष्ट्रिय सहमतिको आवश्यकता छ । आचारसंहिता पालनामा सरकार कडा हुन्छ । देशको हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र मामिलामा सहमतिको साथ अगाडि बढ्नुपर्छ ।’
श्रेष्ठले परराष्ट्र मामिलामा स्वार्थ राख्दा र अरूबाट प्रभावित हुँदा सार्वभौम देशमा चुनौती थपिने बताए । उनले भने, ‘यस्ता कुरामा सरकार गम्भीर छ । म सरकारको तर्फबाट परराष्ट्र मन्त्रीको हैसियतले निस्वार्थ मुलुकको हितमा अगाडि बढ्ने पूर्ण प्रतिबद्धता प्रकट गर्न चाहन्छु ।’
राष्ट्रिय हितलाई सर्वोपरी ठानेर विश्वको बदलिँदो अवस्था, भूराजनीतिक अवस्थिति र त्यससँग जोडिएको संवेदनशीलतालाई ध्यान दिएर स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्दै जाने उनले बताएका छन् । ‘यसको लागि दक्ष र कुशल कूटनीतिक अभ्यास गर्दै अगाडि बढ्ने छौं,’ मन्त्री श्रेष्ठले भने । यसको आधार नेपालको संविधान, संयुक्त राष्ट्र संघको बडापत्र, पञ्चशीलको सिद्धान्त र असंलग्नताको नीति हुने उनको भनाइ छ ।
मन्त्री श्रेष्ठले दुई छिमेकी मुलुकसँगको सम्बन्धलाई मुख्य प्राथमिकता दिएको बताए । ‘छिमेकीसँगै अन्य मित्रराष्ट्रसँग मैत्रीपूर्ण सम्बन्ध, संयुक्त राष्ट्र संघलगायत बहुपक्षीय विश्व संस्थासँगको राम्रो सम्बन्ध र विकास साझेदारसँग पनि सहभागितामूलक सम्बन्धका आधारमा हाम्रो परराष्ट्र नीति सञ्चालिन हुनेछ,’ उनले भने ।
परराष्ट्र मन्त्री श्रेष्ठले आर्थिक कूटनीतिलाई पनि महत्त्वपूर्ण पक्षका रूपमा अगाडि बढाउने दाबी गरेका छन् ।
प्रतिक्रिया 4