
६ चैत, जनकपुरधाम । मधेशमा नेकपा एमालेबाट सोमबार भौतिक पूर्वाधार विकास मन्त्री भएका सरोजकुमार यादवलाई थप दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार स्वास्थ्य तथा जनसंख्या र गृह सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी पनि एमालेका सरोजकुमार यादवलाई दिएका हुन् ।
यसअघि कांग्रेसको भागमा रहेको मन्त्रालयहरु एमालेका नेतालाई जिम्मा दिइएको हो । मुख्यमन्त्रीले सोमबार कांग्रेसका तीन मन्त्रीलाई बर्खास्त गरेर मन्त्रिपरिषद पनर्गठन गर्दै यादवलाई पूर्वाधार मन्त्री नियुक्त गरेका थिए ।
नेकपा एमालेबाट मन्त्री बन्ने थप तीनजना को नाम टुंगो लाग्न बाँकी छ । त्यस कारण दलका नेता यादवले नै कांग्रेस भागको मन्त्रालयको जिम्मेवारी लिएका हुन् । एमाले नेता यादवले जिम्मा लिएको स्वास्थ्य तथा जनसंख्या र गृह मन्त्रालयमा एमालेकै मन्त्री नियुक्त हुनेछन् ।
मुख्यमन्त्री यादवसंग अब जनमतले छाडेको शिक्षा तथा संस्कृति र श्रम तथा यातायात मन्त्रालय बाँकी छ । यी दुईमध्ये एक मन्त्रालय एमाले र एक माओवादीले पाउने मुख्यमन्त्री निकट स्रोतको भनाइ छ ।
प्रतिक्रिया 4