
७ चैत, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले आफ्ना ग्राहकको धारा सर्वेक्षण गर्ने भएको छ । धारामा पानी आउने, नआउने समस्या, मिटरको समस्याबारे केयूकेएलले सर्वेक्षण गर्ने भएको हो ।
केयूकेएलका इन्जिनियर अनुप ठटालका अनुसार पहिलो चरणमा काठमाडौं र ललितपुर महानगरका ५० हजार ग्राहकको घरमा गएर मिटर छ कि छैन, मिटरका लागि चाहिने लालपुर्जा, पानीको बिल र ग्राहक कार्ड हेर्ने गरी सर्वेक्षण हुने भएको हो ।
‘धेरै वर्षदेखि ग्राहकबारे केयूकेएललाई पनि थाहा छैन, त्यसको लागि हामी सर्वेक्षण गर्दै छौं,’ उनले भने, ‘मेलम्ची आएपछि खानेपानीबारे केही समस्या छ कि भनेर सर्वेक्षण सुरु गर्दै छौं ।’
केयूकेएलले ४० सर्वेक्षक खटाएर प्रत्यक्ष सोधपुछ गर्ने उनले बताए । ‘अहिले कतिपय मिटर बिग्रेको, नयाँ मिटर राख्ने, चुहावट जस्ता समस्या आइरहेका छन् । त्यस्ता समस्या समाधान गर्नका लागि पनि सर्वेक्षण गर्न लागिएको हो,’ ठटालले भने ।
केयूकेएलले अनलाइन मार्फत पनि ग्राहकले मिटर राख्नुपरे, सर्वेक्षकसँग छलफल गर्नुपरे र मिटर हराएको सूचना दिन सकिन्छ । त्यसका लागि म्याप्सडट केयूकेएलपीआईडीमा जान सकिने बताए । केयूकेएलको ११३९ नम्बरमा फोन गरेर सर्वेक्षणबारे सोध्न मिल्ने उनले बताए ।
प्रतिक्रिया 4