
मैले
मेरो आँगन
कैयौं सपनाहरु बटुल्ने आशामा
मेरी आमाको
बुबालाई पर्खिरहने आँखाहरुमा
छोराको पर्खाइ खापेर
रुझाउँदै-रुझाउँदै छोडेको पनि
दशौं हिउँद सकिसकेछ ।
बटुल्दै सँगाल्ने सपनाहरु
सकिने त कहाँ हो कहाँ
उसैगरी खापिन्छन्
जसरी
मेरी आमाका पर्खाइहरु
खापिएको थियो
बुबापछिको म झैं ।
भारी मन लिएर
बुबाको पर्खाइमा
पर्खिरहने मानेभञ्ज्याङमा
उसैगरी पर्खिंदै होलिन्
मलाई पनि
बिंडीको केही सर्कोसँगै
मेरी आमा ।
अब त
त्यही आँगनमा उभिएर
लिएको पानीफोटो पनि
नचिनिने गरी धुलिसक्यो होला
मेरो मुहारको आकृतिमा
मेरी आमाले नदेखेका रेखाहरु
चालै नपाई चुपचाप बसिसक्यो होला ।
डाँडाघरे माइला
वर्षैपिच्छे घर फिर्दा
मेरी आमाको मन
कत्ति पिर्दो होला ?
हरेक मंसिरमा
काइला-माइलाहरुले
बाजा बजाई-बजाई
दुलही भित्र्याउँदा
मौन आँगन हेरेर
कत्ति रुँदी होलिन् मेरी आमा ?
यो सबै
थाहा हुँदाहुँदै
किन पाइलाहरु घरतिर लम्किंदैन ?
बल्ल थाहा हुँदैछ
बुबा नफिर्नुको कारणहरु
– पर्खिनेको सम्झनामा निदाउनु
– सम्झना बोकेर बिर्सनु
– उसैगरी नबिर्सी सम्झनु ।।
प्रतिक्रिया 4