
८ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले पर्यटनमा नीतिगत सुधार गरिने बताएका छन् ।
बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको स्वागत कार्यक्रममा बोल्दै उनले नीतिगत सुधारका लागि मन्त्रालय तयार रहेको बताए ।
मन्त्री तामाङले बोर्डलाई प्रभावकारी ढंगले पर्यटन प्रवर्द्धनका कार्य गर्न आग्रह गरे । पर्यटन विकासका लागि अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रणनीति अनुरुप क्रमशः काम गर्दै अघि बढ्ने भन्दै उनले मन्त्रालयले रचनात्मक कार्यका लागि सरोकारवाला सबैसँग सहकार्य गरेर अघि बढ्ने बताए ।
‘केही नीतिगत कुराहरु रहेका छन् त्यसलाई क्रमशः सुधार गर्दै लगिनेछ । रिक्त रहेका बोर्ड सदस्य नियुक्ति देखि कार्यकारी प्रमुखको छनोट लगायत सबै काम प्रक्रियामा छन् । अब यी सबै काम छिट्टै टुङ्गिन्छन,’ उनले भने ।
मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा. दीपक काफ्लले बोर्डको विगत गौरवपूर्ण रहेको भन्दै पर्यटन प्रर्वद्धनका लागि बोर्डलाई थप चलायमान बनाउनु पर्ने बताए ।
कार्यक्रममा बोर्डका कर्मचारी युनियनको तर्फबाट धारणा राख्दै अधिकृत सुदन सुवेदीले बोर्ड सदस्य तथा कार्यकारी प्रमुखको नियुक्ति छिटो गर्न सके बोर्डका कार्यक्रम प्रभावकारी हुने बताए ।
मन्त्री तामाङलाई पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा. दीपक काफ्ले र बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले स्वागत गरेका थिए ।
प्रतिक्रिया 4