
८ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आलोपालो प्रधानमन्त्रीको सहमतिबारे चलेको चर्चालाई खण्डन गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुक मार्फत ओलीले सरकारको नेतृत्व लिने विषय धारामा पानी थाप्न बसेको लाइन जस्तो नभएको टिप्पणी गरेका हुन् ।
‘राजनीतिमा अहिले तपाईंको पालो त्यसपछि मेरो पालो, मेरोपछि उसको पालो भनेर धारामा पानी थाप्न बसेको लाइन जस्तो हुँदैन’ अध्यक्ष ओलीले लेखेका छन्– ‘नेतृत्व गर्ने कुरा योग्यता, क्षमता, सक्रियता, बुझाइ र इमानदारीमा भर पर्छ । यस्तो संस्कार बसाएर मात्र राजनीतिलाई गुणात्मक र परिणाममुखी बनाउन सकिन्छ ।’
तर सञ्चारमाध्यमदेखि समाजको ठूलो हिस्सामा आलाेपालो सरकारको नेतृत्वको अभ्यासलाई सामान्य रुपमा लिन थालिएको प्रति ओलीले असन्तुष्टि पोखेका छन् । ‘आलोपालो पदको अभ्यासले सञ्चारकर्मीदेखि समाजको ठूलो हिस्सालाई प्रभाव पारेको देखिन्छ र प्रश्न सोधिन्छ– तपाईंको पालो कहिले, उहाँको पालो कहिले ?’
अध्यक्ष ओलीले सरकारको नेतृत्वमा आलोपालोको संस्कृति तोडेर अगाडि बढ्न लागेको बताएका छन् । ‘हामी राजनीतिमा बसेको गलत संस्कारलाई तोड्दै अघि बढिरहेका छौं । राजनीतिलाई गुण/दोषमा आधारित रहेर परीक्षण गर्ने संस्कार बसालौं, आलोपालो वा मेरो/तेरोमा आधारित रहेर होइन ।’
प्रतिक्रिया 4