
काठमाडौं । होलीपर्व पहाडी क्षेत्रमा आइतबार र तराई क्षेत्रमा सोमबार मनाइँदैछ । एकापसमा रङ दलेर नेपालीले हर्षोल्लासपूर्वक फागुपूर्णिमा मनाउँछन् । उक्त दिन मुलुकभित्र र डायस्पोराका विभिन्न स्थानमा सांगीतिक माहोल पनि जम्छ ।
एक साताअघिदेखि नै कलाकारले होलीको लाइनअप सार्वजनिक गरिरहेका छन् । यसको अर्थ कलाकारलाई भ्याईनभ्याई हुने पक्का छ । मुलुकभित्र र विदेशमा नेपाली सांगीतिक तथा रमझम कार्यक्रम आयोजना गरिरहेका छन् ।
अष्ट्रेलियाको सिड्नीमा आयोजना हुन लागेको ‘लेट्स प्ले होली’ कार्यक्रममा सहभागी हुन अभिनेत्री मनीषा कोइराला त्यसतर्फ उडेकी छन् । उनीसँगै फिल्म निर्देशकहरु दिनेश डीसी र सम्झना उप्रेती त्यसतर्फ लागेका छन् ।
त्यहाँ मनीषासँग नेपाली समुदायको ‘मिट एण्ड ग्रीट’ कार्यक्रमको पनि आयोजना गरिएको छ । अष्ट्रेलियाको मेलबर्नमा होलीकै दिनमा आउटडोर म्युजिक र फुड फेस्टिभल समेत आयोजना गरिएको छ ।
यो कार्यक्रममा राजेश हमाल, आशिष राना लाउरे र प्रकाश सपूत सहभागी हुँदैछन् । काठमाडौंको दरबारमार्गमा भेक, योवेश थापा, डिजे ड्यान लगायतले सांगीतिक प्रस्तुति दिंदैछन् । होलीकै दिनमा लाउरेको नयाँ गीत ‘रोडसाइड रोमियो’ रिलिज तयारीमा छ ।
भृकुटीमण्डपको बगैंचामा त्रिशला गुरुङ, भूपू पाण्डे, चक्र बम, कुल ब्वाय र सुप्रिम मल्ल ठकुरीले सांगीतिक प्रस्तुति दिनेछन् ।
दाङको तुलसीपुरस्थित अरनिको मैदानमा समीक्षा अधिकारी गुञ्जिनेछिन् भने एलिना चौहानले महेन्द्रनगरको पार्कमा प्रस्तुति दिनेछिन् । शिव परियारले धनगढी रंगशालामा, रक ब्याण्ड मुक्ति एण्ड रिभाइभलले ललितपुरको सानेपामा प्रस्तुति दिने कार्यक्रम छ ।
यसबाहेक अन्य कलाकार सहित फिल्मले पनि सोही दिनमा काठमाडौं लगायत ठाउँमा होली विशेष कार्यक्रम आयोजना गरिरहेका छन् ।
प्रतिक्रिया 4