+
+

नेपालमा ठूलो वैदेशिक लगानी भित्र्याउन पहल गर्ने कोरियाली राजदूतको आश्वासन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ९ गते १७:३८

९, चैत, काठमाडौं । नेपालमा ठूलो वैदैशिक लगानी भित्र्याउन पहल गर्ने नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले आश्वासन दिएका छन् । शुक्रबार अर्थमन्त्री वर्षमान पुनसँग भेट गर्दै उनले यस्तो आश्वासन दिएका हुन् ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले नेपालको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा निरन्तर लगानी गर्दै आएकामा कोरिया सरकारलाई धन्यवाद दिए ।

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को लगानीमा शिक्षा, स्वास्थ्य तथा पूर्वधार गरी हाल निर्माणाधीन ११ विभिन्न आयोजनामा लगानी गरेको र ती आयोजनाको प्रगति सन्तोषजनक रहेको जानकारी दिए ।

पुनले आगामी वैशाखमा हुने लगानी सम्मेलनमा कोरियाली लगानीकर्ताको उल्लेख्य सहभागिताका लागि प्रेरित गरिदिन राजदूत थेयङलाई आग्रह गरे ।

पुनले ठूलो अन्तर्राष्ट्रिय लगानी आकर्षित नगरी मुलुकको विकास सम्भव नहुनेमा आफूहरु स्पष्ट गरेकाले त्यसका लागि आवश्यक नीतिगत र कानुनी अड्चन हटाउन लागिएको जानकारी दिए ।

मन्त्री पुनले नेपालको कृषि, ऊर्जा, पर्यटन र प्रविधिको क्षेत्रमा लगानीको राम्रो सम्भावना रहेको चर्चा गरे ।

संसारका धेरै विकसित मुलुक आजको स्थितिमा आइपुग्न दुई वा तीन पुस्ताले योगदान गरेको भए पनि आधुनिक कोरिया निर्माण गरेको पुस्ताले नै समृद्धिको स्वाद चाख्न पाएको उल्लेख गरे ।

‘कोरिया एउटै पुस्ताले बनाएको देश हो । जसले भयावह गरिबीको दुश्चक्र पनि भोग्यो र आजको उच्चस्तरको समृद्धि पनि उपभोग गरिरहेको छ’, पुनले भने, ‘कोरियाली विकास मोडलबाट हामीले अनुशरण गर्नुपर्ने धेरै कुरा छन् ।’

राजदूत थेयङले यसअघिका विकास साझेदारी र रोगजारी प्रणाली (ईपीएस) लाई निरन्तरता दिने बताए ।

नेपाल–कोरिया दौत्य सम्बन्ध स्थापनाको ५०औं वर्ष पुग्न लागेको अवसरमा कोरियाले नेपालमा थप लगानी गर्न चाहेको जानकारी दिए ।

कोइकाले नेपाललाई विगत १५ वर्षदेखि नै प्राथमिकतामा राखेको तथा ईपीएस सम्झौता भएका १६ देशमध्ये नेपाल सबैभन्दा अगाडि रहेको उनले जानकारी दिए ।

नेपालको कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई कोरियाले उच्च प्राथमिकतामा राखेको उनले बताए ।

उनले नेपालमा कृषि उत्पादन बढाउन तथा वातावरण परिवर्तनले कृषि उत्पादनमा पारेको नकारात्मक प्रभाव कम गर्न एक केन्द्र स्थापना गरिएको उल्लेख गरे ।

हाल गण्डकीमा सञ्चालित कोरियन भोकेसनल सेन्टरलाई सातवटै प्रदेशमा विस्तार गर्ने नीति रहेको उनको भनाइ थियो ।

नेपालले आगामी सन् २०२६ भित्र सहश्राब्दी विकास लक्ष्य हासिल गर्नुपर्ने भएका कारण त्यसलाई सघाउ पुग्ने गरी कोरियाले विकास साझेदारीको आयात बढाउन चाहेको जानकारी उनले दिए ।

आगामी मे महिनाबाट नेपालमै हुन्डाई कम्पनीका गाडी उत्पादन हुन लागेको भन्दै उनले वार्षिक ४ हजार ५ सय गाडी उत्पादन गर्ने लक्ष्य राखिएको बताए । त्यसका लागि केही कानुनी र प्रक्रियागत जटिलता देखिएकाले समाधान गरिदिन उनले आग्रह गरे ।

कोरियाले नेपालमा धेरैधन्दा धेरै विदेशी लगानी भित्रियोस् र रोजगारीका अवसर सिर्जना होस् भन्ने चाहना राखेकाले लगानी सम्मेलन सफल पार्न सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

‘धेरै देशले नेपालमा लगानीको चाहना राखेको मैले पाएको छु । धेरै देशबाट ठूलो संख्यामा वैदेशिक लगानी भित्रियोस् र नेपालको समृद्धिमा योगदान गरोस्’, राजदूत थेयङले भने, ‘हामी अन्तर्राष्ट्रिय समुदायलाई त्यसका लागि सहजीकरण गर्छौं ।’

नेपालले दोहोरो कर र लगानी संरक्षण ग्यारेन्टी गर्नु पर्नेमा भने उनको चासो थियो ।

राजदूत थेयङले रोजगार प्रणाली अन्तर्गत कोरियामा काम गरेर फर्किएका नेपालीहरुका लागि व्यवसायमा सहयोग गर्ने नीति रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?