+
+

स्थानीय अवरोधले नागढुंगा सुरुङ ‘ब्रेक थ्रु’ ढिला

परियोजनाका निमित्त आयोजना प्रमुख गोविन्द डुमारुका अनुसार अन्तिम समयमा काम रोकिएका कारण निर्माण साइटमा कामदार आउने र पुनः काम थाल्दा अझै केही समय लाग्ने छ ।

अच्युत पुरी अच्युत पुरी
२०८० चैत ११ गते १८:५५
फाइल तस्वीर

११ चैत, काठमाडौं । काठमाडौं राजधानीलाई बाहिरी जिल्लासँग जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्गमा पर्ने नागढुंगामा निर्माणाधीन सुरुङमार्गको ‘ब्रेक थ्रु’ अन्तिम समयमा भएको अवरोधका कारण ढिला हुने भएको छ ।

आयोजनाको सुरुङ १४ मिटरमात्र खन्न बाँकी रहेको समयमा स्थानीयले काम रोकेका थिए । अघिल्लो साता भौतिक, पूर्वाधार तथा यातायात मन्त्रीसहित सरकारी टोली र स्थानीयबीच भएको वार्तापछि काम सुचारु गर्ने सहमति भएको थियो । यसले निर्धारित समयमा ‘ब्रेक थ्रु’ गर्ने आयोजनाको लक्ष्य भने पर सरेको छ ।

परियोजनाका निमित्त आयोजना प्रमुख गोविन्द डुमारुका अनुसार अन्तिम समयमा काम रोकिएका कारण निर्माण साइटमा कामदार आउने र पुनः काम थाल्दा अझै केही समय लाग्ने छ ।

‘पुनः काम सुरु भएको छ,’ उनी भन्छन्, ‘तर, पहिलाकै रफ्तारमा जान सकेको छैन, यसले ‘ब्रेक थ्रु’ को पनि समय पर धकेलेको छ ।’

अहिले ठ्याक्कै यही दिनमा ‘ब्रेक थ्रु’ हुन्छ भनेर भन्न सकिने अवस्था नरहेको उनले बताए ।

यसअघि ६ मार्च २०२४ (२३ फागुन) का दिन ‘ब्रेक थ्रु’ गर्ने योजना आयोजनाको थियो । यो आयोजनाको रेस्क्यु टनेल यसअघि नै ‘ब्रेक थ्रु’ भइसकेको छ ।

यहाँ २ हजार ५ सय ५७ मिटर लामो रेस्क्यु टनेल छ । जसको ७ अगस्ट २०२३ का दिन ‘ब्रेक थ्रु’ भएको थियो । नागढुंगा सुरुङको मुख्य टनेल २ हजार ६ सय ८८ मिटर लामो छ । स्थानीयले सुरुङ ‘ब्रेक थ्रु’ गर्ने भनी तोकिएको मितिभन्दा केही अगाडि अर्थात् ६ फागुनदेखि धादिङ र काठमाडौं दुवैतर्फको काम रोकेका थिए ।

सञ्चालनमा ल्याउन अझै एक वर्ष लाग्ने

‘ब्रेक थ्रु’ भएको एक वर्षपछि यो सुरुङ व्यावसायिक सञ्चालनमा ल्याउने योजना छ । आयोजना अन्तर्गतका सबै काम सम्पन्न गरी सञ्चालनमा ल्याउन अर्को एक वर्ष लाग्ने अनुमान आयोजनाको छ ।

त्यसपछि भने नागढुंगा सुरुङमार्ग सञ्चालनमा आउने छ । नेपालमा व्यावसायिक सञ्चालनमा आउने यो नै पहिलो सुरुङमार्ग समेत हुनेछ ।

यो सुरुङमा मोटरसाइकल र अतिप्रज्ज्वलनशील पदार्थ बोकेर हिँड्ने सवारीसाधनले प्रवेश अनुमति पाउने छैनन् । अन्य सवारीसाधन भने धादिङ नौबिसेबाट सुरुङमार्ग हुँदै काठमाडौं प्रवेश गर्न सक्नेछन् ।

यो आयोजनातर्फ ९५ प्रतिशत जग्गाको मुआब्जा वितरण र स्थानीयबासीसँगको विवाद समाधान भइसकेको छ । बाँकी ५ प्रतिशतमा विवाद बल्झिने गरेको छ ।

काठमाडौं बलम्बुतर्फ केही विवाद जारी छ । आयोजना निर्माणका बेला केही घरमा दरार देखिएपछि स्थानीयसँग बेला बेला विवाद उठ्ने गरेको छ ।

सुरुङबाण्हेक यहाँ फ्लाइओभर, पुल, बक्स कल्भर्ट, अन्डरपास र ओभरपाससमेत कुल १२ वटा थप संरचना बनिरहेका छन् । यी संरचनाको काम सकी पूर्णता दिन अर्को एक वर्ष लाग्ने भएको हो ।

यो आयोजनाको अध्ययन सन् २०१४ मा भएको हो । २०१६ मा स्रोत सुनिश्चित भएपछि २०१७ मा डिजाइनको काम सुरु भएको थियो । जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले यस आयोजनामा काम गरिरहेको छ । यो कम्पनी कोटेश्वर–सूर्यविनायक खण्ड विस्तार तथा बिपी राजमार्ग निर्माणमा समेत सफल भएको थियो ।

नागढुंगा सुरुङमार्ग डिजाइन जापान सरकारको सहयोगमा भएको हो । करबाहेक साढे १३ अर्ब रुपैयाँमा आयोजनाको ठेक्का लागेको हो । यो सुरुङमार्गलाई त्रिभुवन राजपथसँग जोड्न २.८७ किलोमिटर पहुँचमार्ग समेत बनिरहेको छ । सुरुङसम्म पहुँचमार्गका लागि गुर्जुधारा चोक र सुरुङको मुख नजिकै फ्लाइओभर समेत सँगै बनिरहेका छन् । गुर्जुधाराको फ्लाइओभर ६ सय १० मिटर लामो हुँदैछ ।

सुरुङमार्ग र पहुँचमार्ग समेत गरी कुल लागत भने २२ अर्बभन्दा माथिको हो । नौबिसेदेखि थानकोटसम्मको घुमाउरो र भिरालो सडकका कारण हुने बाक्लो ट्राफिक जाम हटाउने उद्देश्यले सुरुङमार्ग निर्माण थालिएको हो ।

आयोजनामा ‘टनेल बोरिङ मेसिन’ (टीबीएम) र विस्फोटक पदार्थ प्रयोग नगरी नै सुरुङ बनाइएको छ । अहिले सडकमा सानो अवरोध हुँदा नौबिसेबाट काठमाडौं आउन घण्टौं जाममा फस्नुपर्छ । सुरुङमार्ग सञ्चालनमा आएपछि यो समय २० मिनेटमा झर्ने छ । साथै, काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनको इन्धन बचत हुनेछ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?