
१३ चैत, काठमाडौं । प्रदेश सभाको उपनिर्वाचनका लागि बझाङ–१ मा उम्मेदवार चयन गर्न माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटीले बैठक बोलाएको छ ।
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका सचिव जनक बुढाका अनुसार १६ र १७ चैतमा उम्मेदवारबारे निर्णय लिनका लागि प्रदेश कमिटीको बैठक बोलाइएको हो ।
‘४/५ जना नेता साथीहरू उम्मेदवारको आकांक्षी हुनुहुन्छ । त्यसमध्ये कसलाई उम्मेदवार बनाउने निर्णय लिन्छौं । नभए आकांक्षीहरूको नाम पार्टी केन्द्रमा पठाउँछौं’ बुढाले अनलाइनखबरसँग भने ।
गत चुनावमा बझाङ–१ बाट सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको गत ५ असारमा सवारी दुर्घटनामा परेर निधन भएको थियो । उक्त स्थानका लागि आगामी १५ वैशाखमा उपनिर्वाचन हुँदैछ ।
यो क्षेत्रमा एमालेले पार्टीका बझाङ जिल्ला अध्यक्ष दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
नेपाली कांग्रेसमा भने उम्मेदवारका १० जना आकांक्षी देखिएका छन् । उपनिर्वाचनका लागि जिल्ला कार्यसमितिले आकांक्षी १० जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।
जसमा अभिषेक सिंह, सत्यराज भण्डारी, जगतप्रसाद जोशी, शान्ति बोहरा, नन्दकृष्ण जोशी, ध्रुवराज उपाध्याय, विष्णुकुमार सिंह, लोकेन्द्रबहादुर रोकाया, नारायण हमाल र अर्जुन स्याडा रहेका छन् । अभिषेक सिंह स्वर्गीय पृथ्वीबहादुरका छोरा हुन् ।
प्रतिक्रिया 4