+
+

रुस जान फेरि खुल्यो श्रम स्वीकृति, युद्धग्रस्त क्षेत्रमा सुरक्षाको प्रश्न

आभास बुढाथोकी आभास बुढाथोकी
२०८० चैत १३ गते २०:४०

१३ चैत, काठमाडौं । सरकारले रुसमा नेपालबाट रोजगारीका लागि जान रोक लगाउने निर्णय फिर्ता लिएको छ । युक्रेनसँग युद्ध लडिरहेको रुसका जुनसुकै क्षेत्रमा काम गर्न जान दिने गरी श्रम स्वीकृति खुला भएको हो । सरकारको यस्तो अपरिपक्व निर्णयले रुसभित्रका युद्धबाट अतिप्रभावित र सुरक्षा जोखिम उच्च भएका क्षेत्रमा नेपालीहरु पुग्ने र थप असुरक्षा बढ्ने चिन्ता विज्ञहरुको छ ।

रुसका कतिपय क्षेत्र युद्धबाट सुरक्षित रहेपनि कतिपय क्षेत्रमा अझै उच्च जोखिम छन् । सरकारले सुरक्षित र असुरक्षित क्षेत्रको कुनै विश्लेषणसमेत नगरी एकसाथ सबै क्षेत्रमा काम गर्न दिन सकिने गरी श्रम स्वीकृति खोलेको हो ।

युद्धग्रस्त देश रुसमा पुगेर नेपालीहरु सेनामा भर्ना भइरहेको भन्दै रोक लगाएको करिब दुई महिनापछि श्रम स्वीकृति खुला गरिएको हो । म्यानपावर एजेन्सीहरुको दबाबका कारण समेत सरकारले संस्थागत श्रम स्वीकृतिसहित पुनः श्रम स्वीकृत खुला गरेको हो ।

सरकारले रुसमा पुगेर नेपालीहरु सेनामा भर्ना भइरहेको भन्दै गत १९ पुसमा रुस र युक्रेनमा सबैखाले श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन भएको थियो । वैदेशिक रोजगारीको सिलसिलामा संस्थागत वा व्यक्तिगत रुपमा नेपाली नागरिक रूस जाँदा हुन सक्ने थप क्षतिलाई न्यूनीकरण गर्न र यस विषयलाई मध्यनजर गर्दै श्रम स्वीकृति स्थगन गरिएको सूचनामा उल्लेख थियो ।

त्यसको करिब दुई महिनापछि फागुनको दोस्रो हप्ता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम र पुनः श्रम स्वीकृति खुला गरेको हो । मन्त्रालयले पुनः श्रम स्वीकृति खुला गरेको १५ दिनपछि संस्थागततर्फको श्रम स्वीकृति पनि खुला गरेको छ ।  वैदेशिक रोजगार विभागका अनुसार व्यक्तिगत रुपमा जाने श्रम स्वीकृति भने अझै खुला गरिएको छैन ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरे श्रम स्वीकृति लिएर गएकाहरुमा रुसी सेनामा संलग्न नरहेकाले श्रम स्वीकृति खोलिएको बताउँछन् । उनले विभागले श्रम स्वीकृति लिएर रुस गएका ९३ र ५६ जनामाथि अध्ययन गरेको बताए । जसमा संस्थागत रुपमा श्रम स्वीकृति लिएकाहरु कोही पनि रुसी सेनामा भर्ना भएको देखिएन ।

‘श्रम स्वीकृति लिएर गएकाहरु जे कामका लागि गएका हुन्, त्यही नै गरिरहेको भेटियो,’ उनले भने, ‘त्यसरी जानेहरु रुसी सेनासँग कुनै पनि संलग्नता नदेखिएपछि श्रम स्वीकृति खोल्नुपर्ने अवस्थामा आयो ।’ तर, व्यक्तिगत रुपमा श्रम स्वीकृत लिएर जानेहरुको हकमा भने अझै खोल्नुपर्ने आधार नभेटिएको उनले बताए ।

त्यस्तै रुसमा व्यापार व्यवसाय र काम गरिरहेकाहरु अप्रवासी नेपालीहरुको हकमा समस्या हुँदा पुनः श्रम स्वीकृति खोल्नुपर्ने अवस्था आएको विभागका महानिर्देशक घिमिरेले बताए ।

‘लामो समयदेखि रुसमै बसेर व्यवसाय गरिरहेका र श्रम गरिरहेका थुपै्रै नेपालीहरु हुनुहुँदो रहेछ’ उनले भने, ‘श्रम पुनः स्वीकृति बन्द हुँदा उहाँहरुलाई समस्या हुने देखिएपछि पुनः श्रम स्वीकृति पनि खोल्यौं ।’

विज्ञहरु भने सरकारले युद्धग्रस्त मुुलुकमा नेपाली श्रमिक पठाउन अनुमति दिनुअघि त्यहाँ श्रमिकको जीवन रक्षा सुनिश्चित हुने÷नहुनेबारे तथ्यपूर्ण विश्लेषण आवश्यक देख्छन् । वैदेशिक रोजगार मामिलाका विज्ञ रामेश्वर नेपाल श्रमिकको सुरक्षा हुने सुनिश्चितता पहिलो शर्त भएको बताउँछन् ।

‘युद्धग्रस्त देशमा सेनामा भर्ती हुन्छन् वा हुँदैनन् भन्ने आधारमा मात्रै निर्णय लिनु ठीक हुँदैन, उनीहरुको जीवन रक्षा न्युनतम् शर्त भएकाले त्यो ग्यारेन्टी गरेर श्रम स्वीकृति खोलिएको हो भने आपत्ति जनाइरहनुपरेन,’ उनले भने,‘ सुरक्षा पहिलो भन्ने कुरालाई सरकारले ध्यान दिनुपर्छ ।’

युद्धग्रस्त देशमा घुम्न जान समेत ट्राभल एड्भाइजरी जारी हुने गरेको भन्दै उनले काम गर्न जान दिने विषयमा सरकारले संवेदनशील भएर सोच्नुपर्ने बताए । ‘अफगानिस्तानमा श्रमिक पठाउँदा ग्रिन जोनभित्र जान दिने अभ्यास सुरक्षा सुनिश्चित हुने गरी थियो, हो त्यसैगरी श्रमिकलाई कुनै न कुनै रुपमा सुरक्षा सुनिश्चितताको खोजी गर्नुपर्छ,’ उनले भने,‘रुसभित्रकै युद्धग्रस्त क्षेत्रमै श्रमिक जान्छन् भने त्यहाँ सेनामा भर्ति हुँदैनन् भनेर पठाउँदाको नतिजाबारे अहिले नै सोच्नुपर्छ ।’

अवैध मार्गबाट रुसी सेनामा

नेपालबाट भने श्रम स्वीकृति लिएर पछिल्लो १८ महिनामा नेपालबाट ७७२ जनाले श्रम स्वीकृति लिएर गएका छन् । आर्थिक वर्ष ०७९/०८० मा ३८६ जना रुस गए । चालु आर्थिक वर्षको साउनमा ५३, भदौमा १ सय ६१, असोजमा ४७ र कात्तिकमा ४३, मंसिरमा ३९ छन् । गत पुसदेखि नै रोक लगाइएकाले पुस, माघ र फागुनमा यो संख्या सुन्य छ ।

रुसी सेनामा भर्ना हुन नेपाल सकारबाट श्रम स्वीकृति जारी हुँदैन । त्यसैले भिजिट भिसा र विद्यार्थी भिसामा गएर भर्ना भएकाहरु छन् । रुसी सेनामा गएर मारिएका, सम्पर्कविहीन भएकाहरु सबैजसो भिजिट र विद्यार्थी भिसामा यूएई ट्रान्जिट बनाएर मस्को पुगेर रुसी सेनामा भर्ना भएका देखिन्छ ।

ठूलो हिस्सा दुबई, कतार, मलेसियामा काम गर्न पुगेका नेपालीहरुको छ । उनीहरु संगठित मानव तस्करको सहयोगमा त्यहाँ पुगेका हुन् । गत मंसिर २० गते रुसको सेनामा भर्ती गराउने एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको थियो ।

नेपाली युवालाई भारत, यूएई हुँदै रुससम्म पुर्‍याउने १२ जनालाई जिल्ला प्रहरी परिसरले पक्राउ गरी सार्वजनिक गरेको थियो । उनीहरुले विभिन्न माध्यमबाट विज्ञापन खोलेर सम्पर्कमा आएकाहरुलाई भारतबाट युएई हुँदै भिजिट भिसामा रुस पठाउने गरेका थिए ।

अहिले पनि रुसी सेनामा भर्ना भएका नेपालीहरुको मृत्युका खबर भने आइरहेका छन् । सरकारले सार्वजनिक गरेको पछिल्लो तथ्याङमात्र १७ जना नेपालीको मृत्यु भएको जनाएको छ भने रुसबाट रुसी सेनामा भर्ना भएका १५ जना शव पहिचानका लागि भनेर नेपालीको डीएनए परीक्षण गर्न नमूना मागेको छ ।

योसँगै रुसमा नेपालीहरुको ३२ जनाको मृत्यु भइसकेको लगभग जानकारीमा आइसकेको छ । यद्यपी सरकारले भने १५ जनाको मृत्युबारे आधिकारिक पुष्टि गरेको छैन ।

रुसी सेनामा भर्ना भएका चार नेपाली युक्रेनी सेनाको कब्जामा छन् । रुसी सेनामा भर्ना भएका सम्पर्कविहीन भएका र शव फिर्ताका लागि भनेर परिवारहरुले उद्धारका लागि भनेर दुई सय ५० बढी परिवारले कन्सुलर सेवा विभागमा निवेदन दिएका छन् ।

रुसी सेनामा गएका नेपालीहरुको जीवन रक्षाका लागि अभियानसँगमात्रै रुसी सेनामा गएका एक हजार परिवार जोडिएका छन् । अभियानकी कृतु भण्डारीका अनुसार २७२ जना परिवार सम्पर्कविहीन भएका छन् ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?