
१४ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाले नेपालका तर्फबाट बोआओ फोरम फर एसियामा सहभागिता जनाउने भएका छन् ।
मंगलबारदेखि चीनको हाइनान प्रान्तमा ‘एसिया र विश्व : संयुक्त चुनौती र साझा कर्तव्य’ नारा दिएर सुरू भएको बोआओ फोरम ४ दिनसम्म चल्नेछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार १३ देखि १६ चैतसम्म चल्ने उक्त फोरममा सहभागिता जनाउन सापकोटा मंगलबार राति त्यसतर्फ गएका छन् ।
‘कार्यक्रममा निम्तो नभएकाले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने गरी जाने भन्ने भएन, तर सरकारका तर्फबाट नेपालबाट परराष्ट्र सल्लाहकार सहभागी हुनुहुने भएको छ’, प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो, ‘उहाँले नै फोरममा सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।’
अघिल्लो वर्ष निम्तो पठाउँदा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी भएका थिएनन् । यसपटक चीनले नेपाललाई बोआओ फोरममा निम्तो समेत गरेको छैन । बरु यही बेलामा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनकै बेइजिङलगायत क्षेत्रमा ९ दिन लामो भ्रमणमा छन् ।
फोरममा नेपालको तर्फबाट यसअघि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठले सहभागिता जनाउने गरी तयारी भइरहेको थियो । उनी चीनकै भ्रमणमा रहने, तर बोआओमा सहभागी नहुने भएपछि बेइजिङनस्थित नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई पठाउने तयारी पनि नेपालले गरेको थियो ।
परराष्ट्रमन्त्री श्रेष्ठ भ्रमणमा रहेकाले राजदूत श्रेष्ठ पनि सहभागी नहुने भएपछि नेपालबाट प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार सापकोटा सहभागी हुन गएका हुन् ।
प्रतिक्रिया 4