
भक्तपुर बहुमुखी क्याम्पसमा अध्ययनरत अनुपा घिमिरेले २०७९ वैशाखमा बीबीएस प्रथम वर्षको परीक्षा दिएको ११ महिना भन्दा बढी भयो। दोस्रो वर्षको पढाइ सकेर परीक्षा दिने बेला हुँदासम्म पहिलो वर्षको नतिजा आएन। पहिलो वर्षको नतिजा कहिले आउँछ उनलाई थाहा छैन।
नतिजा आएपछि पढ्ने सुरसारमा रहेकी अनुपाले दोस्रो वर्षको तयारी अझै गरेकी छैनन्। समयमा नतिजा नआउँदा पढ्न मन नलागेको तथा नेपालको पढाइप्रति निराशा बढेको उनी बताउँछिन्।
सानोठिमी क्याम्पसमा बीएड तेस्रो वर्षमा अध्ययनरत छात्र रुपेश कार्कीले पनि त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणालीप्रति आक्रोश व्यक्त गरे। यी प्रतिनिधि घटनाले परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुको तस्वीर उतार्न सघाउँछ। परीक्षाको नतिजा दिन नसकेर आलोचित परीक्षा नियन्त्रण कार्यालय बल्खुले कसरी समयमा नतिजा दिन सक्छ त ?
किन भइरहेछ नतिजामा ढिलाइ ?
नतिजाको काम धेरै पक्षसँग जोडिएको हुन्छ। कर्मचारीहरूले परीक्षार्थीको कापीलाई निश्चित मापदण्डका आधारमा प्याकेटिङ गर्छन्। प्याकेटिङसँगै त्यसलाई कम्प्युटर प्रणालीमा इन्ट्री गर्छन्। सकेसम्म गोपनीयता कायम हुने गरी परीक्षण गर्न पठाइन्छ। त्यसले समय लिन्छ ।

फिर्तापछि संपरीक्षण गर्ने, रुजु गर्ने, हाजिरीसँग ट्याली गर्ने काम हुन्छ। हजारौंको सङ्ख्यामा विद्यार्थी हुँदा अनेक समस्या आउँछन्। कापी अर्को प्याकेटमा पर्ने, विद्यार्थीले गलत नम्बर लेख्ने, अरुको नाममा जानी जानी वा नजानेर हाजिरी गर्ने जस्ता कारणले नतिजा केलाउन ढिलो हुन्छ। जसको प्रत्यक्ष असर नतिजा प्रकाशनमा पर्ने गर्छ।
कमजोर कर्मचारीतन्त्र
एकातिर भएका कर्मचारी पुराना छन् र प्रविधिमा कम रुचि राख्छन्। त्यति मात्र होइन; कर्मचारीको अवकाश दर उच्च छ। दरबन्दीहरू रिक्त छन्। पूर्ति गर्ने सेवा आयोग निष्क्रिय छ। परम्परागत ढंगले काम गर्ने हुँदा कर्मचारीको व्यापक अभाव छ।
त्यस्तै, समय बढी दिनुपर्ने, तनाव हुने, कानुनी झन्झटमा फस्नुपर्ने, अख्तियार-अदालत धाउनुपर्ने, सेवा–सुविधा खासै आकर्षक नभएको हुँदा कर्मचारी बल्खुमा रमाउँदैनन्। नियुक्ति वा सरुवा भएर आए पनि सकेसम्म छिटो बल्खुबाट बाहिरिन खोज्दछन्।
अस्थायी कर्मचारी राख्न सजिलो छैन। विद्यार्थी संघ–संगठनहरूले आफ्नो मान्छे घुसाउन अनेक कोणबाट दबाब दिन्छन्। उनीहरूले भने जस्तो भएन भने तोडफोड र तालाबन्दीसम्ममा पुग्छन्। समस्या झन् बढ्छ।
व्यवस्थापन पक्ष
बल्खुमा गरिने परीक्षाका काम असाध्य परम्परागत र लम्बे शैलीका छन्। स्वाभाविक रूपमा परीक्षाका कामहरू धेरै पक्षसँग जोडिएका हुन्छन्। एउटा पक्षबाट ढिला हुनासाथ परीक्षाफल प्रकाशनको काम स्वतः ढिलाइ हुन्छ। अनेक पक्षसँग तालमेल मिलाउनुपर्ने तथा एकअर्कोसँग जेलिएका हुँदा सानो प्रक्रियाले पनि काम रोकिन्छ। काममा ढिलाइ हुन्छ।
पदाधिकारी तथा परीक्षाको नेतृत्वले सहजीकरण गर्ने उपाय खोजेन। त्यतातिर ध्यान गएन। कामको रफ्तार बढाउन कर्मचारीलाई उत्प्रेरित गर्नुको सट्टा निराशा थपिदिन्छ। काम गर्ने क्षमताका कर्मचारीलाई सही ठाउँमा व्यवस्थापन गर्न सकेन। परीक्षाको नेतृत्व पूरै असफल छ।
मुख्य समस्या
विश्वविद्यालय समस्याको दुष्चक्रमा फसेको छ। त्यही चक्रभित्र परीक्षा नियन्त्रण कार्यालय बल्खु पनि परेको छ। यो बहुआयामिक समस्याको भुमरीमा छ। तर दुनियाँमा समस्या मात्र हुँदैनन्, समाधान पनि हुन्छन् तर बल्खुको हकमा यो कुरा लागू भएको छैन।
प्रकाशित परीक्षाफलमा त्रुटि धेरै हुन्छन्। सच्याउने प्रक्रिया सहज छैन। बेला–बेलामा उत्तरपुस्तिका हराउँछ पनि। परीक्षकले समयमा उत्तरपुस्तिका परीक्षण गर्दैनन्। परीक्षकलाई समयमा कापी दिइँदैन। यो प्रक्रिया नै लम्बेतान छ र दण्ड–सजायको व्यवस्था कमजोर। परीक्षाफल आए पनि प्रमाणपत्र पाउनै मुस्किल हुन्छ। किनकि कर्मचारीको अभाव छ।
भएकालाई पनि काममा उत्प्रेरित गर्न सकिएको छैन। प्रविधिको प्रयोग कम भइरहेको छ। कमजोर नेतृत्वले कार्यालय हाँकिरहेका छन्। यी र यस्ता अनेकौं समस्याबाट परीक्षा नियन्त्रण कार्यालय ग्रसित छ। फलतः नव-नियुक्त उपकुलपति केशरजंग बरालले परीक्षाफल समयमा दिने कुरालाई प्राथमिकतामा राखेको हुनुपर्छ।
१८ महिनासम्म नतिजा दिन नसकेको चुरो कुरो बुझेको हुनुपर्छ। यी सबै पक्षलाई कहीं न कहीं राजनीतिले गिजोलेको छ। भागबन्डामा आएका नियन्त्रक तथा सहनियन्त्रकले कामलाई भन्दा शक्तिकेन्द्रलाई रिझाउने कुरा छिपेको छैन। कामको कार्यक्षमता नभए पनि राजनीतिक पार्टीलाई रिझाउन सक्ने क्षमताले नियुक्ति पाएको यथार्थ प्रष्ट छ। यस खालको आशीर्वादबाट आएको नेतृत्वले काम गर्न र अरुलाई परिचालन गर्ने हैसियत राख्दैन। बल्खुमा भएको यही हो।
निरुपणका उपायहरू
अहिलेको प्रदेशलाई आधार मानेर परीक्षार्थीका कापी सोही क्षेत्रमा प्याकिङ, कोडिङ र अभिलेखीकरण गर्नुपर्छ। यथाशक्य छिटो परीक्षणका लागि अर्को प्रदेश/क्षेत्रमा पठाउनुपर्छ।
यसो गर्दा परीक्षाको विश्वसनीयता र गोपनीयता कायम हुन्छ। थोरै विद्यार्थी तथा भौगोलिक रूपमा सुगम हुँदा अपनाइने कापी परीक्षणको तरिका परिवर्तन नगरी परीक्षाफल छिटो प्रकाशन हुँदैन। घरमा परीक्षण गर्न दिने प्रणालीलाई परिवर्तन गरी एउटा निश्चित केन्द्रमा परीक्षण गराउने चाँजोपाँजो मिलाउनुपर्छ। जुन गाह्रो काम होइन, गराउन सकिन्छ।
विद्यार्थीको उत्तरपुस्तिकामा परीक्षा केन्द्रको नाम उल्लेख नगरी परीक्षा केन्द्र नम्बर उल्लेख गर्ने व्यवस्था तत्काल मिलाउनुपर्छ। यस्तो कार्यले परीक्षाको विश्वसनीयता बढाउँछ। यो गाह्रो काम होइन; तत्काल गर्न सकिन्छ। कोडिङ गरेका कापीलाई अर्को परीक्षण केन्द्रमा पठाई यथाशक्य छिटो फिर्ता ल्याउने व्यवस्था मिलाई संपरीक्षण गर्नुपर्छ। सेवासुविधा आकर्षक भएमा काम अझ सहज हुन्छ।
अहिले दिएको कापी परीक्षण र संपरीक्षण (स्नातक तहको कापी परीक्षण रु.४२) लाई आकर्षक बनाउनुपर्छ। यसले परीक्षणको कामलाई छिटो बनाउँछ। त्यसका अलावा पनिका बल्खुमा नम्बर इन्ट्री गर्ने एउटा अलग्गै कम्प्युटर प्राविधिकको टिम तयार हुनुपर्छ। आजको दुनियाँमा प्रविधिको प्रयोगलाई प्राथमिकता नदिंदासम्म काममा ढिला भएको छ। प्रविधिको प्रयोग बढाउनुपर्छ। यसलाई अभिवृद्धि गर्न नवजवान र फुर्तिला कर्मचारी सरुवा वा नियुक्ति गर्न सकिन्छ। मूल व्यवस्थापनले यो काम सजिलै गर्न सक्छ।
स्नातक तह मात्र होइन डीन कार्यालयहरूले चलाएका सेमेष्टर प्रणालीका परीक्षाहरू पनि व्यवस्थित छैनन। विशिष्टीकृत रूपमा स्थापित प.नि.का. बल्खुबाट परीक्षाका सबै काम गर्ने व्यवस्था मिलाउनुपर्छ। यसले दोहोरोपन र भद्रगोलमा कमि आउँछ। छरिएको स्रोतसाधन र जनशक्ति एकत्रित भई काम छिटोछरितो हुन्छ। यी सबै काम सम्भव छ। त्यसका लागि परीक्षासँग सम्बन्धित केही नीतिगत र केही प्रणालीगत व्यवधान हटाउनुपर्छ।
त्रि.वि. सभाले आफ्नो नियम २०५० लाई आवश्यक संशोधन गरी अप्ठेराहरू सहज बनाउन सक्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा भीमकाय त्रि.वि. संरचनालाई यथाशक्य छिटो पुनर्संरचना गरी व्यवथित बनाउन पहल गर्नुपर्छ। त्रि.वि. नेतृत्व र सरकार यसमा लागेमा गिर्दै गएको विश्वविद्यालयको साखलाई उँचो बनाउन सकिन्छ। पनिका बल्खुबाटै त्रि.वि. सुधारको सुरूवात गर्नुपर्छ।
अब भने व्यवस्थापन पक्षले व्यवस्थापकीय कौशलता देखाउने बेला भएको छ। अहिलेको परीक्षा नेतृत्वले नसके नेतृत्व परिवर्तन गरेर भए पनि विश्वविद्यालयको बेइज्जत हुनबाट रोक्नुपर्छ। राजनीतिक जोडघटाउ र आशीर्वादले अब चल्दैन। विश्वविद्यालयका पदाधिकारी, राजनीतिक दल र सरकारले यो कुरा बुझ्नुपर्छ।
सुधार गर्ने भनेको बिग्रेपछि नै हो। बल्खु पनि सुधार गर्न सकिन्छ। मात्र त्रिविका पदाधिकारीले व्यापक चासो राख्नुपर्छ। कुनै पनि विश्वविद्यालयले आफ्ना विद्यार्थीको परीक्षाफल समयमा दिन नसक्नु लज्जाको विषय बाहेक अरु हुन सक्दैन। तीन महिना वा सो अगावै नतिजा दिन सकिन्छ, सम्भव छ। कार्य शैली र कार्य प्रणाली परिवर्तन जरुरी छ।
(लेखक त्रिभुवन विश्वविद्यालय कार्यरत छन्।)
प्रतिक्रिया 4