
१५ चैत, क्यानबेरा । निजी क्षेत्रमा उचित प्रतिस्पर्धाको अभावले अष्ट्रेलियालीहरूको जीवनस्तर खस्किएकाे एक अनुसन्धान रिपोर्टले उल्लेख गरेको छ ।
संघीय संसद्को अर्थसम्बन्धी समितिले गरेको अध्ययनले अष्ट्रेलियामा प्रतिस्पर्धामा गिरावट तथा विभिन्न क्षेत्रहरूमा संकुुचन आएको उल्लेख गरेको हो ।
रिपोर्टले पछिल्लो दशकमा अष्ट्रेलियाको उत्पादकत्वमा मन्दी छाएको, बजार संकुचन बढेको, नयाँ प्रविधिमा लगानी न्यून भएको तथा सेवा अर्थतन्त्रतर्फ उन्मूख भएको जनाएको छ । रिपोर्टमा अष्ट्रेलियाको औसत उत्पादकत्व वृद्धि १.१ प्रतिशतमा झरेको उल्लेख छ । जुन ६० वर्षमा सबैभन्दा कम हो ।
सत्तारुढ लेबर पार्टीका सांसद एवं अर्थशास्त्री डान मुलिनोले मानिसहरूको जीवनस्तरमा सुधार ल्याउन अष्ट्रेलिया अझै बढी प्रतिस्पर्धी बन्नुपर्ने बताएका छन् ।
नाइन इन्टरटेनमेन्ट अखबारलाई दिएको अन्तर्वार्तामा समितिका अध्यक्ष समेत रहेका मुलिनोले अष्ट्रेलिया कम उत्पादकत्व वृद्धिको दशकबाट सुधारतर्फ अग्रसर भइरहेको बताउँदै प्रतिस्पर्धा र आर्थिक गतिशीलता आवश्यक भएको बताएका छन् । उनले भनेका छन्, ‘अर्थपूर्ण सुधारका निम्ति अहिले धेरै अवसर हाम्रासामु छन् । यसबाट उपभोक्तालाई तत्काल लाभ मात्र हुने होइन कि भावी पुस्ताको जीवनस्तर सुधारमा पनि महत्त्वपूर्ण हुनेछ ।’
सन् २०२३ जनवरीमा अर्थमन्त्री जिम चाल्मर्सले आर्थिक गतिशीलता, प्रतिस्पर्धा र व्यापार प्रवर्द्धनका लागि अनुसन्धान गर्न समितिलाई आग्रह गरेका थिए ।
प्रतिक्रिया 4