+
+
ब्लग :

‘पुराना भर्सेस नयाँ’को सामाजिक भाष्य

आज सार्वजनिक यातायातमा बालेन र रविमा भरोसा देखाइएका सायरीहरू भेटिन्छन् । होलीका टिसर्ट, मेला–महोत्सव र प्रदर्शनीमा यस्तै प्रचार देखिन्छ । आजको पुस्ता र एजेन्डाको प्रतिनिधित्वको बिम्बात्मक प्रस्तुति हो, यो ।

निमा काफ्ले निमा काफ्ले
२०८० चैत १६ गते ८:३७

यतिबेला राष्ट्रिय राजनीति केही समय बीचमै मौसम बदलिए जस्तै गरी बदलिएको छ । गठबन्धन सरकारको चक्र बदलिएको छ । फेरि पनि उही पुरानै शैलीमा विचार, आस्था, सिद्धान्त फरक–फरक रूपमा बोकेका पार्टीहरू एकै ठाउँमा भेला भएका छन्, त्यो पनि नयाँ निकास दिने आश्वासन सहित । निर्वाचन अघिको गठबन्धन, निर्वाचन लगत्तैको गठबन्धनका दुई भिन्न स्वाद र शैली व्यहोरेको नेपाली राजनीतिले यतिबेला भिन्न स्वादको गठबन्धन पाएको छ ।

फरक सिद्धान्त बोकेका दुई पार्टी नेकपा माओवादी र नेपाली कांग्रेसले पूर्व घोषणा र आत्मविश्वास व्यक्त गरे अनुसार टिक्न नसकेको गठबन्धन नेकपा एमालेसँगको समझदारीमा पुनः नयाँ ढंगले उभिएको छ । ७ महिनाको अवधिमा राष्ट्रिय राजनीतिमा चर्चासाथ उदाएको रास्वपा आफ्नै बाटो लागेको थियो ।

तर यसरी परम्परागत राजनीतिको गुरुत्वलाई बुझ्न नसकेर बाहिरिएसँगै परिवर्तन भएको नेपाली राजनीति अहिले फेरि पुराना पार्टीहरूको औचित्य र यथार्थलाई स्वीकार्दै सम्बन्ध जोड्ने अवस्थामा आइपुगेको छ । साथ छोड्ने र जोड्ने उतारचढावका यी सम्बन्धहरूको आयामलाई यतिबेला राष्ट्रिय सरोकारको रूपमा देश–विदेशदेखि टोलटोलसम्म चर्चाको विषय बनेको छ ।

नयाँ गठबन्धनको केन्द्र भागमा दुई पात्र पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली देखिए पनि जनताको स्वीकारोक्ति भने भिन्न खालको देखिएको छ । सिंहदरबार आसपास मात्र नभएर देशैभर र प्रवासमा भएको नेपालीहरूमा भने उदाउँदो राजनीतिक दल रास्वपा र रवि लामिछानेको नेतृत्वलाई काम गर्ने अवसर निर्माण भएको रूपमा बुझिएको छ ।

भारीभरकम आदर्श र सिद्धान्तलाई नयाँ पुस्ताले अब आत्मसात् गर्दैनन् । जुन कुरा नयाँ भनिएका पार्टी र यिनका नेताले जनताको चाहना केमा छ भन्ने बुझेर प्रस्तुत भइरहेका छन् र त्यसलाई सचेत र स्वस्फूर्त रूपमा नयाँ वा विकल्प खोजिरहेकाहरूले आफ्नो भावनाको प्रतिनिधित्वको रूपमा अपनाइरहेका छन् ।

एजेन्डाहरूको भिन्नता र आफू विकल्प नै हो भन्ने दृढता राखिरहेका दल र पुराना दल एकै ठाउँ हुँदा र एउटै साझा कार्यक्रम प्रस्तुति गर्दै गर्दा पनि कुनै खास विशेषमा ध्यानाकर्षण हुन्छ भने त्यो व्यवस्थाकीय सबलीकरणको परिणाम नै हो ।

अहिलेको पुस्तालाई नेताको निजी जिन्दगीसँग सरोकार भन्दा पनि कामगराइ र गर्ने हुटहुटी, प्रस्तुत हुने तरिका आदिसँग मात्रै सरोकार छ । उही सवाल परम्परागत धारको राजनीति गर्ने दलका नेतासँग जोडिंदा सामाजिक सञ्जाल, मिडिया र प्रबुद्ध वर्ग झस्कने तर नयाँ भनिएका राजनीतिक दलका नेताहरूको आर्थिक तथा चारित्रिक अनुशासनको सवाल गौण बनिदिने अवस्था त हालैका दिनमा मिडियामा छताछुल्ल भएकै आधारमा पनि अनुमान गर्न सकिने देखिएकै छ ।

देख्दा सामान्य लागे पनि नेपाली राजनीतिमा भावनात्मक कोणबाट दिगो छाप पार्ने सम्भावना देखिएको छ । भविष्यमा हुने निर्वाचनमा यस्तै साना लाग्ने विषयहरू नै आधार मानेर जनताले दल चयन गर्दा वैकल्पिक धारका राजनीतिक दलहरू केन्द्रभागमा आउने अवस्था त बन्दै गइरहेको होइन ? भन्ने जस्तो अवस्था आज चोक–चौतारामा चर्चाको विषय बनिरहेको छ ।

कुन पार्टी आउनुपर्छ वा कुन आउनहुँदैन भन्ने सवाल उठाउन खोजिएको होइन हाम्रो राजनीति कतातिर जाँदैछ भन्ने विषय चैं उठाउन खोजिएको हो । नेपाली राजनीतिमा लामो समयदेखि भएको लगानी सहितका राजनीतिक दल र नेतृत्वले जनचाहना अनुसार सच्चिने कि यथास्थितिमा गुज्रने भन्ने हो । प्रतिबद्धता अनुसार अघि बढ्न नसक्ने र सिद्धान्त एवम् व्यवहारको भारीभरकम बोकाउनै पर्ने चेष्टा हुने हो भने त राजनीति जनताका लागि नभएर राज्य स्रोतको दोहन भइरहेको जस्तो पो देखिन्छ भन्ने चिन्ता पनि व्याप्त छ ।

यो अवस्था आउनुमा दलहरूको आफू र आफ्ना संगठन सञ्चालन र प्रविधिको प्रयोग परिचालनको तौरतरिका पो बढी जिम्मेवार छ कि ? यसरी रातारात केही व्यक्तिहरूका प्रयास, प्रयत्नहरूले नै पनि जनतामा अथाह आशा सिर्जना गर्ने र पुराना दलहरूले पुस्तौं गरेका योगदान, संघर्ष र प्रयत्नहरूको पनि आलोचना हुने अवस्था हुनुको पछाडि टीम परिचालन, सूचनाप्रविधिको प्रयोग र एजेन्डाहरूको तयारी र प्रस्तुतिको शैली नै हो ।

एजेन्डाहरूको भिन्नता र आफू विकल्प नै हो भन्ने दृढता राखिरहेका दल र पुराना दल एकै ठाउँ हुँदा र एउटै साझा कार्यक्रम प्रस्तुति गर्दै गर्दा पनि कुनै खास विशेषमा ध्यानाकर्षण हुन्छ भने त्यो व्यवस्थाकीय सबलीकरणको परिणाम नै हो । सूचनाप्रविधिको व्यवस्थापनले दुनियाँको ध्यान तान्न गरिएका पहल प्रयत्नहरूकै कारण नयाँ भनिएका पार्टी र व्यक्तित्वहरू आज प्रबल चर्चामा रहेका छन् ।

सामान्य केही उदाहरण हेर्ने हो भने आज सार्वजनिक यातायातमा बालेन र रविमा भरोसा देखाइएका सायरीहरू देखिन्छन् । होलीका टिसर्टदेखि मेला, महोत्सव र प्रदर्शनमा रवि र बालेनकै प्रचार देखिन्छन् । यो स्वाभाविक रूपमा बढेको आकर्षणहरू पनि आजको प्रवृत्ति, पुस्ता र एजेन्डाको प्रतिनिधित्वको बिम्बात्मक प्रस्तुति हो ।

एउटै शैलीमा उदाएका स्वतन्त्र जनप्रतिनिधिहरूलाई पनि जनताले स्थानीय, क्षेत्रीय र राष्ट्रिय रूपमा आफ्नो भरोसामा हेरिरहेका छन् । जनताको वर्ग, वर्गले आफ्नो प्रतिनिधिको रूपमा सांकेतिक तवरमा छानिरहेको देखिन्छ । जसरी २०३६ देखि २०४६ को राजनीतिक अवस्था र परिवर्तन पछिको पहिलो आमनिर्वाचनमा कम्युनिस्टहरूलाई श्रमजीवी वर्गले आफ्नो वर्गको मुक्तिदाताको रूपमा लिएका थिए ।

तर आज श्रमजीवी जनता र मध्यम तथा निम्नवर्गीय जनताले आफ्नो मुक्तिदाताको रूपमा वैकल्पिक राजनीतिक अभियन्ताहरूलाई खोजिरहेका छन् । यो अवस्थाको पछाडि व्यवस्थापकीय चातुर्य, प्रविधिको प्रयोग र एजेन्डा निर्धारण तथा प्रस्तुतिको कला नै प्रमुख हो ।

राजनीतिक दलले समाजलाई बुझ्ने र त्यही अनुसारको तयारी गर्ने कला पनि यो अवस्था बन्न र प्रतिस्पर्धात्मक राजनीतिमा आफूलाई स्थापित गर्न सक्ने सफलता हो । आज पार्टीभित्रका नयाँ पुस्ता, विषय विज्ञ र क्षमतावानलाई तत्काल अघि सारेर सम्भावित चुनौतीसँग मुकाविला गराउने शैली समाजले खोजिरहेको छ न कि पालो पर्खिएर बसेका सिनियर वा हिजोको इतिहास बोकेको र योगदान गरेको व्यक्ति ।

इतिहास र योगदानको विषय सहज अवस्थामा छलफल गर्न सकिन्छ तर यो अवस्थामा जसले चुनौतीसँग लड्न सक्छ र आशा जगाउन सक्छ उसैलाई अगाडि सार्ने रणनीतिक तयारीले पनि जनतामा आशा बढाइरहेको छ ।

यी अवस्थाहरू आजको समाज र राजनीतिलाई डोर्याएर ठिक ढंगले ठिक गन्तव्यमा पुर्याउने सहायक हुन् । यी अवस्थाले नयाँ विकल्पहरूलाई आशा जगाउँदै उभ्याउने काम मात्र गरेका छैनन् पुराना सोच, शैली र प्रवृत्तिहरूलाई कडा रूपमा झक्झक्याइरहेका छन् । पुरानाहरूलाई सच्याउने खबरदारीको रूपमा यी शैलीहरू आएका छन् ।

यसले राजनीतिलाई कोर्स करेक्सनको बाटोमा लैजानलाई योगदान गर्छ नै । को स्थापित हुने भन्ने सवाल गौण राख्दै तटस्थ रूपमा भन्ने हो भने औसत जनताको चाहना नै यही हो । सरल, सहज, स्पष्ट, गतिशील र क्षमतावान् प्रयत्नहरू नै राजनीतिले जनतालाई दिने महत्वपूर्ण आशा, विश्वास र भरोसा हो ।

समाज जहिल्यै प्रगतिशील र सकारात्मक रूपान्तरणको अपेक्षामा हुन्छ । समाजको रूपान्तरणको स्वाभाविक नियम नै यही हो । यो प्राकृतिक र स्वाभाविक नियमलाई बुझ्नेहरू नै स्थापित हुन्छन् । जसले यो नियमलाई बुझ्न सक्दैन वा पेल्न खोज्छ त्यो समयको गतिसँगै विलाउन बाध्य हुन्छ । नेपाली राजनीतिमा पनि यो स्वाभाविक नियम लागू हुन्छ ।

यो हरेक सन्निकट राजनीतिक प्रतिस्पर्धाहरूमा देखिन्छ । निर्वाचनको प्रक्रिया वा कुनै प्राप्ति वा गुमाइले मात्रै यसको मूल्यांकन हुने भन्दा समाजका हरेक अवयवहरूमा यसको प्रभाव गडेर बसेको हुन्छ । हरेक सामाजिक परिघटनाहरूले यसलाई ब्युँझाइरहेको हुन्छ । हरेक सामाजिक घटना, सामाजिक सवाल र प्रवृत्तिहरूले यसको प्रतिनिधित्व गरिरहेको हुन्छ ।

दर्ता गरेर सञ्चालन गरिएका दलहरू र आमनिर्वाचनबाट मात्रै यस्तो प्रवृत्तिको उजागर हुने नभई हरेक सामाजिक अवस्थाहरूले समाज विकासको स्वाभाविक नियमलाई स्वस्फूर्त रूपमा प्रदर्शित हुने अवस्था निर्माण गर्छ । हामीले चाहेको राजनीतिक रूपान्तरण, सुधार र सिर्जनशीलता सहितको समृद्धिको बाटोलाई निर्देश र नेतृत्व गर्ने राजनीति यही नियमले निर्देशित गर्नेछ ।

कसैको उदय वा पतनलाई भन्दा सामाजिक नियमलाई स्वीकार्ने बाटोमा जाँदा पनि प्रविधि, आविष्कार र विज्ञानको गतिलाई समेत राजनीतिक दलहरूले समाजको अभिन्न प्रक्रियाको रूपमा स्वीकार्दै त्यसको उचित परिचालन र प्रयोग गर्नुपर्छ ।

त्यसलाई राजनीतिक दलहरूले आफ्नो राजनीतिक जीवन, भ्रातृ तथा शुभेच्छुक संगठनहरू र आम रूपमा राजनीतिक जीवनशैलीमा अवलम्बन गर्ने संकल्प गर्नुुपर्छ । यसले हामीले चाहेको अग्रगति उन्मुख र प्रगतिशील एवम् रूपान्तरणकारी समाज निर्माणको बाटो निर्माण गर्न सहयोग पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?