
१८ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको आन्तरिक क्षेत्र सुधारका लागि बाह्य क्षेत्रको स्थायित्वलाई उपयोग गर्नुपर्ने बताएका छन् ।
पोखरामा शनिबार भएको गण्डकी प्रदेशको वार्षिक सभामा महासंघका अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
गण्डकीमा यही सभासँगै सातवटै प्रदेशको वार्षिक सभा सकिएको उनले जानकारी दिए ।
महासंघको विधानमा वार्षिक सभा माघ मसान्तभित्र हुनुपर्ने उल्लेख भएकाले सो नियम पालना गर्न उनले प्रदेश सभालाई आग्रह गरे ।
ढकालले आफ्नो कार्यकालको पहिलो वर्ष सकिन लागेको र छिट्टै महासंघको वार्षिक साधारण सभा आयोजना गर्ने बताए ।
उनले महासंघको अध्यक्षको हैसियतमा पहिलो वर्ष नै संकटग्रस्त अर्थतन्त्रको सुधार, लगानी प्रवर्द्धन र निजी क्षेत्रलाई प्रतिष्ठा प्रदान गर्न धेरै पहल गरेको बताए ।
महासंघका अध्यक्ष ढकालले विदेशी मुद्रा सञ्चितिमा भएको सुधार र भुक्तानी सन्तुलनलाई आन्तरिक बजार सुधारका लागि उपयोग गर्नुपर्ने बताए । ढकालले लगानीको नयाँ वातावरण नहुँदा उद्यमीहरूको मनोबल खस्किएको बताए ।
उद्योगहरूले फेरि लोडसेडिङको अवस्था भोग्नु परेको र उद्योगको उत्पादन क्षमता घटेपछि सरकारले नै घाटा बेहोर्ने समेत उनले बताए ।
राजस्व घट्न थालेपछि सरकारले उद्यमीलाई अनावश्यक पीडा दिन थालेको अध्यक्ष ढकालले बताए । बजार अनुगमन बढेको गुनासो आइरहेको उनको भनाई छ ।
उनले नियमविपरीत काम नगर्न व्यवसायीलाई आग्रह गरे । निजी क्षेत्रलाई आतंकित नगर्न समेत सरकारसँग आग्रह गरे ।
निजी क्षेत्रको आत्तिइरहने हो भने राजस्व सङ्कलन प्रभावित हुने र सरकार चलाउन गाह्रो हुने उनले बताए ।
यस वर्षको वार्षिक साधारण सभामा हामीले सबै राजनीतिक दलका शीर्ष नेतृत्वलाई आमन्त्रण गरेका र राम्रो व्यापारिक वातावरण बनाउन प्रतिवद्धता खोज्ने उनले बताए ।
अध्यक्ष ढकालले महासंघले चाँडै लगानी कम्पनी खोल्ने तर त्यो महासंघको स्वामित्वमा नहुने जानकारी दिए ।
महासंघले लगानी कम्पनी स्थापना र प्रवर्द्धन गर्न प्रारम्भिक पहल मात्र गर्ने बताए ।
मुलुकभरका व्यवसायीलाई एकै ठाउँमा ल्याउने पहल भएको र पछि व्यावसायिक रूपमा सञ्चालन गरिने उनले जानकारी दिए । गैरआवासीय नेपाली तथा अन्य निजी क्षेत्रका संस्थाले पनि यसमा लगानी गर्न सक्ने उनले बताए ।
प्रतिक्रिया 4