+

गल्तीवश शरीरमा अर्कै ब्लड ग्रुपको रगत चढाइयो भने के हुन्छ ?

२०८० चैत  १८ गते १३:५२ २०८० चैत १८ गते १३:५२
गल्तीवश शरीरमा अर्कै ब्लड ग्रुपको रगत चढाइयो भने के हुन्छ ?

कुनै दुर्घटना हुँदा वा रोग लाग्दा आपतकालीन अवस्थामा रगत चढाउनुपर्‍यो भने समान समूहको रगत खोज्न निकै सकस हुन्छ । धेरै पटक एउटै समूहको रगत (ब्लड ग्रुप) फेला पार्न धेरै समय लाग्छ र यस्तो अवस्थामा बिरामीको अवस्था पनि गम्भीर हुन पुग्छ ।

हेर्दा रगतको रङ सबैको रातो भएपनि व्यक्तिअनुसार यसको समूह चाहिं फरक–फरक हुन्छ । जसले कसैलाई रगत चाहिएमा अर्को व्यक्तिको रगत नमिल्न सक्छ । यस्तो अवस्थामा धेरै मानिसको मनमा यो प्रश्न अक्सर उठ्छ कि गलत समूहको रगत चढाइयो भने के हुन्छ ?

रगत हाम्रो कार्डियो भास्कुलर प्रणालीको सबैभन्दा महत्त्वपूर्ण भाग हो । रक्तसञ्चारको माध्यमबाट अक्सिजन, इन्जाइम, पोषण, हार्मोन आदि शरीरका सबै कोषहरूमा पुग्छ । साथै यसले रक्तचाप नियन्त्रणमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ । यस्तो अवस्थामा गलत समूहको रगत चढाएमा रक्तसञ्चारमा अवरोध, प्रतिक्रिया र संक्रमणको जोखिम हुन्छ । गलत समूहको रगत ट्रान्सफ्युजनका यी सबै सम्भावित हानिकारक असरबारे यहाँ चर्चा गरिन्छ ।

रक्तसञ्चारमा अवरोध

गलत समूहको रगत चढाएपछि शरीरमा रक्तसञ्चारमा बाधा पुग्न सक्छ । वास्तवमा, विभिन्न प्रकारका एन्टिजेनहरू दुई फरक समूहमा हुन्छन् र जब तिनीहरू एकअर्कासँग मिसिन्छन्, प्रतिक्रियाहरू सुरु हुन्छन् । उदाहरणका लागि यदि कसैको रक्त समूह ‘ए पोजेटिभ’ छ र उसलाई ‘एबी पोजेटिभ’को रगत दिइयो भने एन्टिजेन प्रतिक्रिया ‘प्रतिरक्षा प्रणालीविरुद्ध एन्टिबडीहरू उत्पादन’को जोखिम हुनसक्छ ।

यस्तो अवस्थामा एन्टिजेन्स एकै ठाउँमा जम्मा भएर नसाहरू अवरुद्ध हुन्छन् । नसा अवरुद्ध हुँदा शरीरको रक्तसञ्चार रोकिन्छ र रक्तसञ्चार बन्द हुँदा मिर्गौला जस्ता अंगले काम गर्न छाड्छ । यसरी हेर्दा गलत समूहको रगत ट्रान्सफ्युजनको कारण मान्छेको मृत्यु समेत हुनसक्छ ।

तीव्र हेमोलाइटिक प्रतिक्रिया

गलत समूहको रगत ट्रान्सफ्युज गर्दा तीव्र हेमोलाइटिक प्रतिक्रियाको जोखिम पनि उल्लेखनीय रूपमा बढ्छ । एक्युट हेमोलाइटिक प्रतिक्रियाको अवस्था तब हुन्छ, जब दाताको रगतको रातो कोषिकाहरु प्राप्तकर्ताको प्रतिरक्षा प्रणालीद्वारा नष्ट हुन्छ । यस्तो अवस्था रगत लिने व्यक्तिको लागि खतरनाक हुन्छ ।

यो प्रतिक्रिया रक्तक्षेपणपछि वा तुरुन्तै हुनसक्छ । यसका लक्षणहरूमा ज्वरो आउने, चिसो महसुस हुने, वाकवाकी लाग्ने र कम्मर वा छाती दुखाइ हुनसक्छ । यसबाहेक यस्तो अवस्थामा व्यक्तिको पिसाबको रंग कालो हुन्छ ।

ब्लग ग्रुप फरक हुन्छ ?

रक्तकोषमा तन्तु ४५ प्रतिशत र पानीको तत्व ५५ प्रतिशत हुन्छ । कोषमा रातो रक्तकोष (आरबीसी), सेतो रक्तकोष (डब्लुबीसी) र प्लेटलेटहरु हुन्छन् । रातो रक्तकोषले अक्सिजनलाई शरीरका कोषमा पुर्‍याउने र कोषबाट कार्बनडाइअक्साइड फिर्ता ल्याउने गर्छ । प्लेटलेटले रक्तश्राव भएमा त्यसलाई जमाएर नियन्त्रण गर्छ । यस्तै, सेतो रक्तकोषले शरीरको प्रतिरक्षा गर्नुका साथै रोगसँग लड्न पनि भूमिका खेल्छ ।

जबकि ५५ प्रतिशत पानीमा प्लाज्मा, विभिन्न रसायन र शरीरलाई चाहिने विभिन्न पोषक तत्व हुन्छ । जुन सबैको शरीरअनुसार फरक-फरक हुन्छ । ४५ प्रतिशत तन्तुको सतहमा विभिन्न एन्टिजेन हुन्छन् । जुन फरक-फरक रसायनमा जोडिएर ५० थरी एन्टिजेन बन्छ, जसले मान्छेमा रगतको समूह फरक-फरक हुने गर्छ । रगतको कोषिकाहरुमा अनेकथरीका एन्टिजेन हुन्छन्, जसले रक्त समूह निर्धारण गर्छ ।

रगतलाई एबीओ र अर्को आरएचको आधारमा विभाजन गरिएको हुन्छ । एबीओमा चारवटा रक्त समूह हुन्छन्, ए, बी, ओ र एबी । र, आरएचमा पोजेटिभ र नेगेटिभ हुन्छ । यी चारैवटा समूहको पोजेटिभ र नेगेटिभ हुन्छ ।

डा. अजयकुमार झा
डा. अजयकुमार झा
लेखक
डा. अजयकुमार झा
रगत तथा क्यान्सर रोग विशेषज्ञ

डा. झा काठमाडौं बल्खुस्थित बयोधा अस्पतालमा कार्यरत छन् । उनले एमबीबीएस र एमडीका साथै रगत तथा क्यान्सरमा भारतको चण्डीगढबाट डीएम गरेका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ३०२१ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय