+
+

हर्क साम्पाङसँग अर्थमन्त्रीले भने– तपाईंको अभियानमा म सँगै छु

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १८ गते १३:५८

१८ चैत, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले धरानवासीलाई पिउने पानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन् ।

अर्थ मन्त्रालयमा आइतबार धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङसँगको भेटमा मन्त्री पुनले धरानको खानेपानी समस्याबारे आफू जानकार रहेको बताए ।

मन्त्री पुनले खानेपानीको दुःखले कतिपय सर्वसाधारण धरानबाट बसाइ सरेर अन्यत्र गएको समेत आफूले सुनेको उल्लेख गरे । सरकारले जनतालाई स्वच्छ खानेपानीको व्यवस्थापन गर्न योजना बनाएको जानकारी दिए ।

‘धरान धेरै राम्रो र सुन्दर सहर हो, त्यहाँ म केही समय बसेको पनि छु,’ अर्थमन्त्री पुनले भने, ‘खानेपानी समस्याबारे जानकारी छ । यो बजेटमार्फत केही न केही समाधान खोज्ने प्रयास हुनेछ ।’

मन्त्री पुनले खानेपानी आयोजनाको माग सम्बन्धित मन्त्रालयबाट आउनुपर्ने भएकाले खानेपानी तथा सरसफाइ मन्त्रालयसँग पनि कुरा गर्न सुझाए ।

‘म पनि सम्बन्धित मन्त्रालयसँग कुरा गर्छु । यहाँले पनि उताबाट योजना माग गर्नुहोला,’ मन्त्री पुनले भने, ‘म तपाईंको अभियानमा सँगै हुने छु ।’

मेयर साम्पाङले धरानबाट करिब १५ किलोमिटर दूरीमा पर्ने चतरास्थित सप्तकोशी नदीबाट लिफ्टिङ गरी पानी ल्याउन सकिने विकल्पबारे मन्त्री पुनलाई अवगत गराए ।

उक्त आयोजनाका लागि करिब ५ अर्ब बजेट आवश्यक पर्ने प्राविधिक अनुमान गरिएको उनको भनाइ थियो । मेयर साम्पाङले अर्थमन्त्री पुनबारे आममानिसमा सकारात्मक धारणा रहेको पाएकाले आफू योजना माग्न आएको उल्लेख गरे । मन्त्री पुनले पनि उनको काम गर्ने शैलीको प्रशंसा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?