+
+

सचिवहरुको जिम्मेवारीमा व्यापक हेरफेर, को कहाँ भए सरुवा ?

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते १७:१८

१९ चैत, काठमाडौं । सरकारले ठूलो संख्यामा सचिवहरुको सरुवा गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको सरुवा गर्ने निर्णय गरेअनुसार अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सचिवहरुलाई पत्र दिने काम धमाधम गरिरहेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको जल तथा ऊर्जा आयोगमा सरुवा भएको छ । आयोगकी सचिव सरिता दवाडीको सिँचाइ सचिवका रुपमा ऊर्जा जलस्रोत तथ सिँचाइ मन्त्रालयमा सरुवा भएको छ । भौतिक पूर्वाधार मन्त्रालयको सचिवका रुपमा ऊर्जाबाट गोपालप्रसाद सिग्देल फर्किएका छन् ।

ऊर्जा सचिवमा हालका सिँचाइ सचिव रहेका सुशीलचन्द्र तिवारीले जिम्मेवारी पाएका छन् । सचिव रवीलाल पन्थको युवा तथा खेलकुद मन्त्रालयबाट निर्वाचन आयोगमा सरुवा भएको छ ।

उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनसंख्या प्रशासन मामिला सचिवका रुपमा सरुवा भएको छ । सचिव भएपछि बुर्लाकोटीले पहिलोपटक कुनै मन्त्रालयमा सचिवको जिम्मेवारी पाएका हुन् ।

वित्त आयोगका सचिव कृष्णबहादुर राउत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको उद्योग मामिला हेर्ने सचिवका रुपमा सरुवा गरिएको छ । उद्योग सचिव रहेका मुकुन्द निरौलालाई उपराष्ट्रपतिको कार्यालयको सचिव बनाइएको छ ।

मधेश प्रदेशका प्रमुख सचिव दिनेशकुमार घिमिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य मामिला हेर्ने सचिवका रुपमा सिंहदरबार भित्रिएका छन् ।

बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ ।

वाणिज्य सचिव रहेका नारायणप्रसाद शर्मा दुवाडीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरूवा भएको छ ।

अन्य केही सचिवहरुको पनि सरुवा भएपनि कुन–कुन निकाय र मन्त्रालयमा सरुवा भयो भन्ने खुल्न बाँकी छ । ‘केही मन्त्रालय र निकायमा नाम टुंग्याएर पत्र बनाउन बाँकी छ, तर ठूलो संख्यामा सचिवहरुको जिम्मेवारी हेरफेर भएको छ,’ मन्त्रिपरिषद कार्यालय स्रोतले भन्यो, ‘कतिपयको पत्र बनेपछि नै टुंगो लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?