+
+

रूसको श्रम स्वीकृतिबारे संसद्‌मा प्रश्न, मन्त्रालयमा अन्योल

आभास बुढाथोकी आभास बुढाथोकी
२०८० चैत १९ गते २०:५१
सोमबार बिहान सिंहदरबार अगाडि प्रदर्शन गर्दै रूसी सेनाका आफन्त ।

१९ चैत, काठमाडौं । युद्धग्रस्त देश रूसमा श्रम स्वीकृति खुला गरेपछि सरकारको आलोचना भइरहेको छ । नेपालीहरू रूसी सेनामा भर्ना भएर ज्यान गुमाइरहेका बेला श्रम स्वीकृति पुनः खोलिएपछि सरकारको आलोचना सुरू भएको हो ।

जोखिम बढेको भन्दै १९ पुसमा रूसका लागि नयाँ श्रम र पुनः श्रम स्वीकृतिमा रोक लगाइएको थियो । तर श्रम स्वीकृति लिएर गएकाहरू रूसी सेनामा संलग्न भएको नदेखिएको भन्दै सरकारले पुनः खुला गरेको हो ।

श्रम, रोेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले फागुन ९ र १६ मा सचिवस्तरीय निर्णय गर्दै रूसमा दुवै खाले श्रम स्वीकृति खुलाएको थियो । श्रममन्त्री शरतसिंह भण्डारी र सचिव केवलप्रसाद भण्डारी भएकै बेला श्रम स्वीकृति खोलिए पनि निर्णय गोप्य राखिएको थियो ।

सांसदकाे प्रश्न

रूसमा श्रम स्वीकृति खुला गरिएको विषय बाहिर आएसँगै यो विषय संसद्‌मा समेत प्रवेश गरेको छ । सरकारले द्वन्द्वग्रस्त मुलकमा खुला गरेको श्रम स्वीकृतिबारे सांसदहरूले निरन्तर प्रश्न उठाउन थालेका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले रूसमा श्रम स्वीकृति दिने सरकारी निर्णयको विरोध गरिन् । उनले युद्धग्रस्त देशमा श्रमिक पठाउने कार्य सही नभएको भन्दै तत्काल बन्द गर्न माग गरिन् । ‘रूस र युक्रेनको युद्धका कारणबाट हाम्रा युवाहरूले मृत्युवरण गर्नु परिरहेको छ’ उनले भनिन्, ‘त्यहाँ भएकाहरू फर्किनको लागि रोइरहेका छन् । यस्तो बेला श्रम मन्त्रालयबाट रोजगारीका लागि जाने व्यवस्था किन गरेको ? सरकारले के गर्न खोजेको हो ?’

कांग्रेस सांसद प्रदीप पौडेल ।

सोमबारको प्रतिनिधि सभा बैठकमा पनि नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले यही विषयमा प्रश्न उठाए । सरकारले रूस नजाऊ भनेर आग्रह गर्नुपर्नेमा श्रम स्वीकृति दिने निर्णय गरेको भन्दै विरोध गरे ।

‘रूसी सेनामा कति संख्यामा नेपाली छन् ? उनीहरूको अवस्था के छ ? यसको जवाफ सरकारसँग छैन,’ पौडेलले भने, ‘यस्तो बेला थप युवा उता जानेगरी निर्णय गरिनु हुँदैन्थ्यो ।’ पौडेलले पीडित परिवार र अन्यसँग भएको कुराकानीका आधारमा रूसी सेनामा ७ सयभन्दा बढी नेपाली रहेको जानकारी समेत गराए ।

बढ्न थाले रूस जाने

सरकारले श्रम स्वीकृति खुला गरेसँगै रूस जाने नेपालीको संख्या बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउनमा ५३, भदौमा १ सय ६१, असोजमा ४७, कात्तिकमा ४३ जना र मंसिरमा ३९ जना श्रम स्वीकृति लिएर रूस गएका थिए । पुसको १८ सम्म २ जनाले स्वीकृति लिएकाे सरकारी तथ्यांक छ ।

१९ पुसदेखि सरकारले रूस जान रोक लगाएकाले पुस अन्तिम साता र माघमा जानेको संख्या शून्य रह्यो । श्रम स्वीकृति खुला गरेसँगै फागुनको दोस्रो साताबाट यो संख्या उकालो लाग्न थालेको छ । वैदेशिक रोजगार विभागका अनुसार फागुनकाे दुई सातामा मात्रै २५ जनाले रूसको लागि श्रम स्वीकृति लिएका छन् ।

रूसका लागि श्रम स्वीकृतिका विषयमा चौतर्फी विरोध भए पनि श्रम मन्त्रालय भने निर्णयमा पुग्न सकेको छैन । डीपी अर्यालले श्रम मन्त्रालयको जिम्मा सम्हालेको पनि तीन हप्ता पूरा भइसकेको छ ।

मन्त्री अर्यालले रूसको श्रम स्वीकृतिबारे छलफल भइरहेको बताए । ‘दुई देशबीचको कूटनीतिक विषय समेत भएकाले परराष्ट्रमन्त्रीसँग पनि छलफल गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘उहाँ (परराष्ट्रमन्त्री) भर्खरै आउनुभएको छ, सम्भवतः भोलि नै उहाँसँग सल्लाह गरेर निर्णय लिन्छौं ।’

श्रममन्त्री डीपी अर्याल ।

सडकमा परिवार

सरकारले हालसम्म रूसी सेनामा भर्ना भएका १७ जना नेपालीको मृत्यु पुष्टि गरेको छ । उद्धार र खोजका लागि २५० भन्दा बढी निवेदन कन्सुलर सेवा विभागमा दर्ता भएका छन् । रूसी सेनामा भर्ना भएका, मृत्यु भएका, सम्पर्कविहीन भएका र उद्धारको पर्खाइमा रहेकाहरूको परिवार सडकमा उत्रिएका छन् ।

नेपालमा रहेका परिवार तथा आफन्तले मृतकको शव फिर्ता, क्षतिपूर्ति, घाइतेको उपचार लगायतको मागसमेत राखेका छन् । उनीहरू संगठित रूपमा चार महिनादेखि काठमाडौंका सडकबाट सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।

पटक-पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले गम्भीरताका साथ नलिएको ‘रूसी सेनामा आवद्ध नेपालीको जीवनरक्षार्थ अभियान’ की अभियन्ता कृतु भण्डारीले बताइन् । ‘रूसमा मृत्य भएका आफन्तको खोजी र घाइतेको उद्धारका लागि महिनौंदेखि सडकबाट कुरा सुनाइरहेका छौं,’ उनले भनिन्, ‘तर सरकारले पीडितको कुरा सुन्न तयार छैन । उल्टै पीडितलाई थर्काउन र झुलाउने अनेक बहाना गरिरहेको छ ।’

सोमबारमात्र रूसी सेनामा रहेकाहरूका आफन्तले सिंहदरबार अगाडि प्रर्दशन गरे । सोक्रममा प्रहरीले नाबालकसहित १५ जनालाई नियन्त्रणमा लिएको थियो ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?