
काठमाडौं । बल्छी धुर्वेको रुपमा प्रसिद्ध मरिचमान श्रेष्ठले आफू निर्देशित टेलिभिजन श्रृंखलाबाट समसामयिक सामाजिक मुद्दा उठाउँछन् ।
युट्युबले पारिवारमा पारेको असर होस् या जातीय विभेदले निम्ताएको द्वन्द्व, उनको कथाको केन्द्रमा समाज हुन्छ ।
आफू निर्देशित ‘हल्का रमाइलो’को पछिल्लो एपिसोडमा पनि उनले वर्तमान समयको मुख्य आर्थिक र सामाजिक मुद्दालाई पेश गरेका छन् । श्रृंखलाको २२४ औं एपिसोडमा सहकारी ठगीको कथावस्तु चित्रण गरिएको छ ।
वित्तीय साक्षरता न्यून भएका जनतालाई सहकारीले प्रलोभनमा पार्ने र ठग्ने गरेको कथावस्तु यसमा समेटिएको छ । सहकारीका मालिकको गलत नियतले सर्वसाधारणको जीवन, परिवार र समुदायमा पार्ने असरको कथा यसमा भनिएको छ ।
‘सहकारीले ठगी गरेको देखाएर यसमार्फत हामीले सन्देश दिन खोजेका हौं । अहिले आर्थिक, राजनीतिदेखि समुदायसम्म यो मुद्दा महत्वपूर्ण रुपमा उठेको छ । यसबारे सन्देश दिनु हाम्रो दायित्व पनि हो,’ निर्देशक श्रेष्ठले अनलाइनखबरसँग भने । बचत गर्नुअघि सहकारीको विश्वसनीयता बुझ्न पनि सिरियलले आग्रह गरेको छ ।
ठगिएपछि न्याय माग्दै शान्तिपूर्ण प्रदर्शनमा बसेका सर्वसाधारणमाथि प्रशासनले गरेको जबर्जस्तीको पनि सिरियलमा चित्रण छ । स्थानीय कर्मचारीको समस्यालाई पनि यसमा चित्रण गरिएको छ । बल्छी धुर्वे र पुजन घिमिरे (पुकु)ले कर्मचारीको भूमिका निर्वाह गरेका छन् ।
बल्छी धुर्वेकै निर्देशन रहेको यो सिरियलमा लक्ष्मी गिरी, शारदा गिरी, सविन बास्तोला, सिरु विष्ट, दीपेन्द्र तिमिल्सना, राजु पौडेल, कृष्ण सिवाकोटी, कमला रेग्मी लगायतको अभिनय छ ।
‘हल्का रमाइलो’ हिमालय टेलिभिजनबाट प्रसारण हुन्छ ।
प्रतिक्रिया 4