
प्रख्यात लेखक जेके रोलिङले आफूलाई गिरफ्तार गर्न सरकारलाई चुनौती दिएकी छन् । सामाजिक सञ्जालमा श्रृंखलाबद्ध रूपमा पोस्ट गर्दै उनले स्कटल्याण्डको घृणाविरुद्धको कानुनबारे बोलेर आफूले अपराध गरेको प्रशासनलाई लागेमा प्रहरीले गिरफ्तार गर्नसक्ने बताएकी हुन् ।
स्कटल्याण्डमा विद्यमान घृणाविरुद्धको सार्वजनिक निर्देशन ऐन २०२१ मा संशोधन गरेर थप कडाइ बनाइएको छ । यस ऐनअन्तर्गत जात, लैंगिकता वा पहिचानलाई लिएर घृणा फैलाउनु आपराधिक कर्म मानिएको छ । यस्तो गरिएको प्रमाणित भएमा अभियुक्तलाई सात वर्षको जेल सजाए हुने व्यवस्था रहेको छ ।
एडनवर्गमा बस्दै आएकी रोलिङले ट्रान्सजेन्डर महिलाहरूलाई पुरुषका रूपमा वर्णन गरेकी छन् । रोलिङ ट्रान्सजेन्डर अभियन्ताहरूको कठोर आलोचक पनि हुन् । ‘जैविक लैङ्गिकताको विवरणमाथि बोल्नु गैरकानुनी हुने हो भने अभिव्यक्ति स्वतन्त्रता समाप्त हुन्छ,’ रोलिङको मान्यता छ ।
सरकारले भने यस नियमले घृणा फैलाउने कदमलाई निषेध गर्ने विश्वास लिएको छ । यस कानुनले महिलाहरूमाथि हुने घृणाबारे भने केही बोल्दैन । महिलाहरूमाथि हुने घृणा निषेधका लागि आवश्यक कानुन पछि बनाउने सोचमा स्कटिस सरकार छ ।
संशोधित कानुनले महिलाहरूमाथि हुने दुराचार र घृणाबारे नबोलेपछि रोलिङले लेखेकी छन् -‘स्कटिस कानुन निर्माताहरूले वास्तविक महिला, स्त्रीको अधिकार र स्वतन्त्रताको तुलनामा स्त्रीत्वको आफ्नो विचारको पालना गर्नुपर्ने पुरुषहरूको भावनालाई अधिक महत्त्व दिएको छ । यो कानुन स्त्रीद्वेषी छ ।’
पुरुषलाई पुरुषभन्दा आपत्ति जनाउनुपर्ने कारण नै नरहेको उनको मत छ । जैविक लैंगिकताको सही विवरणलाई आपराधिक मान्दा अभिव्यक्ति र विश्वासको स्वतन्त्रता समाप्त हुने उनको मत छ । ‘महिला र स्त्रीकोविरुद्ध हुने हिंसाबारे वर्तमान कानुन मौन छ । महिला र स्त्रीको अधिकारबारे मौन रहेको कानुनले पुरुषलाई पुरुष भन्ने अनुमति पनि दिंदैन,’ उनको मत छ ।
रोलिङले केही ट्रान्सजेण्डर अपराधीहरूको विवरण समेत दिएकी छन् । उनीहरूबाट स्त्री पीडित भएको उनले बताएकी हुन् । ट्रान्सजेण्डरद्वय इस्ला ब्राइसोन र एन्ड्रु मिलले एक स्त्रीलाई अपहरण गरेर बलात्कार गरेको दृष्टान्त उनले दिएकी हुन् । ‘म अहिले मुलुकबाहिर छु । नयाँ कानुनमा रहेको त्रुटी औँल्याउँदा म दोषी हुन्छु भने म स्कटल्याण्ड टेक्नेबित्तिकै सरकारले मलाई गिरफ्तार गर्न सक्छ,’ उनले भनेकी छन् ।
स्टकल्याण्डको प्रहरीले भने उनी विरुद्ध कुनै उजुरी नपरेको बताएको छ ।
नयाँ कानुनको विरोधमा स्कटल्याण्डको संसद्अघि समेत प्रदर्शन भएको बीबीसीले जनाएको छ । स्कटिस प्रधानमन्त्री हुम्जा युसुफले नयाँ कानुनप्रति कोही पनि आत्तिनुपर्ने जरुरी नरहेको बताएका छन् । ‘यदि आफ्नो आचरण वा स्वभावमा घृणा फैलाउने वा दुराचार गर्ने छैन भने कानुनदेखि कोही पनि आत्तिनुपर्ने छैन,’ उनले भनेका छन् । नयाँ कानुनले अभिव्यक्ति स्वतन्त्रतालाई नदबाउने बरु घृणा र पुर्वाग्रहबाट व्यक्तिलाई सुरक्षा प्रदान गर्ने उनको भनाइ छ ।
यस विधेयकबारे संसद्मा मतदान हुँदा ८२ जनाले पक्षमा र ३२ जनाले विपक्षमा मतदान गरेका थिए । चार सांसद अनुपस्थित रहेका थिए । संसद्बाट बहुमतले पारित भएसँगै घृणाविरुद्धको नयाँ कानुन लागू हुने भएको छ ।
यो कानुन संसद्बाट पारित भए पनि यस उपर कारबाहीका लागि प्रहरीलाई स्रोत साधन उपलब्ध नभएको स्कटिस प्रहरीले बीबीसीलाई बताएको छ । स्कटिस प्रहरी अधिकारी रब हेले बीबीसीसँग भनेका छन्- ‘कानुनको विरोध गर्दै वा ट्रान्सजेन्डर नीतिको विरोध गर्दै सामाजिक सञ्जालमा भएका पोस्ट समेत यस कानुनअन्तर्गत आकर्षित हुनसक्छ । संसद्बाट कानुन पारित भए पनि त्यसअनुसार अनुसन्धानका लागि प्रहरीलाई साधन स्रोत उपलब्ध भएको छैन ।’
नयाँ कानुन अनुसार घृणाविरुद्धका अपराध अनुसन्धानका लागि छुट्टै टोली बनाउने तयारी भइरहेको छ । रोलिङले मात्रै नभएर केही महिला अधिकारकर्मीहरूले समेत यो कानुनको विरोध गरेका छन् । यस कानुनले महिलाविरुद्ध हुनसक्ने दुराचार र हिंसालाई अवमुल्यन गर्दै कानुनी सुरक्षाका लागि वेवास्ता गरेको उनीहरूको मत छ । महिला अधिकारकर्मीहरूको माग छुट्टै कानुनमार्फत छिट्टै सम्बोधन गर्ने सरकारले बताएको छ ।
प्रतिक्रिया 4