
काठमाडौं । बाघ संरक्षणको माग गर्दै पशुअधिकारकर्मीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । मंगलबार बालुवाटारस्थित वर्ल्ड वाइडलाइफ फन्डको कार्यालय परिसरमा प्रदर्शन गर्दै उनीहरुले बाघको संख्या मात्रै बढ्दैमा संरक्षण नहुने बताए ।
पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएका तीनवटा बाघ पाँच महिनाको अवधिमा मरेको भन्दै उनीहरुले बाघ संरक्षणको नाममा हत्या भइरहेको आरोप लगाए । सोही घटनाको विषयमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन प्रदर्शन गरेको स्नेहाज केयरकी संस्थापक स्नेहा श्रेष्ठले बताइन् ।
‘बाघको संख्या मात्र बढाउने काम भयो । एकै खोरमा धेरै बाघ कोचेर राख्दा बाघहरु मरिरहेका छन् । यसको संरक्षण र उचित व्यवस्थापनको माग राखेका छौं,’ उनले भनिन् ।
बाघ संरक्षणका लागि पहल नगरेको भन्दै नेसनल ट्रस्ट फर नेचर कन्जरभेसन (एनटीएनसी)को पनि पशुअधिकारकर्मीहरुले आलोचना गरेका छन् ।
निकुञ्ज प्रशासनले दुईवटा बाघ अट्ने क्षमता भएको खोरमा तीनवटा राख्नुपर्दा साँघुरो भएर बिरामी भएर मरेको प्रष्टीकरण दिएको छ ।
प्रदर्शनकारीहरुले ‘बाघको जन्म तिम्रो मनलाग्दी प्रयोगका लागि होइन, उसको आफ्नै अस्तित्व छ’, ‘बाघको संख्या झण्डै तेब्बर बढायौं, खोरमा थुन्न ?’, ‘प्रोटेक्ट टाइगर्स, सेभ बायोडाइभर्सिटी’, ‘ एनटीएनसी जवाफ खोइ ?’ लेखिएका प्लेकार्ड बोकेका थिए ।
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4