
२० चैत, काठमाडौं । तीन दशकदेखि नेपाली पत्रकारितामा सक्रिय रहेका चेतनाथ आचार्यले चीनमा ‘उत्कृष्ट विदेशी अनुवादक विज्ञ सम्मान’ प्राप्त गरेका छन्।
पछिल्लो एक दशकदेखि चीनको राजधानी बेइजिङमा बसेर पत्रकारिता गरिरहेका आचार्यलाई चीनको अनुवादक सङ्घले अन्तर्राष्ट्रिय सम्मान प्रदान गरेको हो।
चीनबाट यस प्रकारको सम्मान प्राप्त गर्ने आचार्य पहिलो नेपाली हुन्। यस प्रकारको सम्मान प्राप्त गर्ने आचार्य दक्षिण एसियाबाटै पहिलो व्यक्ति बनेका छन्।
चेतनाथ आचार्य २०७० साल भदौदेखि चिनियाँ अन्तर्राष्ट्रिय रेडियो ‘सीआरआई’ नेपाली सेवामा विदेशी विशेषज्ञका रुपमा कार्यरत छन्।
सीआरआई हाल चिनियाँ मिडिया ग्रुप ‘सीएमजी’मा परिणत भएको छ। आचार्य पत्रकारितासँगै पुस्तक लेखन र साहित्य साधनामा पनि उत्तिकै सक्रिय रहेका छन्।आचार्यले आख्यान र गैरआख्यान गरी सातवटा कृति प्रकाशन गरिसकेका छन्। उनले चीनका अनुभवमा केन्द्रित रहेर चारवटा किताब प्रकाशन गरेका छन्।
आचार्यले चीनमा देखेका, भोगेका, पढेका विषयलाई रोचक ढङ्गले नेपाली सञ्चार माध्यममा लेखरचनाहरु प्रकाशित गर्दै आएका छन्। केही लेखिरहने आफ्नो रुचि भएको र त्यही कामलाई चीनले मूल्याङ्कन गरेर सम्मान गरेकाले आफूलाई निकै खुशी लागेको आचार्यले बताए ।
उनले भने ‘चीनले दिएको सम्मानले मलाई अझै बढी लेख्न र अनुवाद गर्न प्रोत्साहन र जाँगर थपिदिएको छ। यो सम्मानलाई मैले जिम्मेवारी थपिएको ठानेको छु।’
प्रतिक्रिया 4