
काठमाडौं । विश्व अटिजम सचेतना दिवसको अवसरमा मंगलबार फिल्म ‘मीरा : स्याडो अफ अ रेन्बो’को ट्रेलर सार्वजनिक भएको छ । झण्डै तीन मिनेट लामो ट्रेलरले फिल्मको कथाबारे विस्तृत जानकारी दिन्छ ।
यो फिल्मको कथावस्तुमा दुई आयाम छन् । केन्द्रीय कथावस्तुमा अटिजम पीडित बच्चालाई हुर्काउन र स्याहार्न एकल आमाले गर्नुपरेको संघर्ष चित्रण छ । अर्कोतर्फ एक महिला अर्को महिलाप्रति आकर्षित हुने (लेस्बियन) सम्बन्धलाई चित्रण गरिएको छ ।
निर्देशक समेत रहेकी अनिता पाण्डेले फिल्ममा शीर्ष भूमिका निर्वाह गरेकी छन् । सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की र आश्वी घिमिरेले अभिनय गरेका छन् । आश्वीले अटिजम पीडित बालिकाको भूमिका निर्वाह गरेकी छन् ।
ट्रेलरमा अनिता र सुरविनाको लेस्बियन सम्बन्धलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ । यी दुई रोमान्टिक सम्बन्धलाई दृश्य मनोविज्ञान जगाउन अनिल कट्वालले पिंक र रेड प्रकाशमा दृश्य कम्पोज गरेका छन् । अभिनेता दिव्यदेवको काव्यात्मक न्यारेसनमा तयार पारिएको ट्रेलर कर्णप्रिय पनि सुनिन्छ ।
यो फिल्मको कथावस्तुले अल्पसंख्यक लैंगिक समुदाय लेस्बियनको मुद्दालाई फिल्ममार्फत समाजमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । एलजीबीटीआइक्यू समुदायबारे कमै फिल्म बनिरहेको बेला यौनिक शिक्षामा आधारित रहेर यो फिल्म बनेको हो । अर्कोतर्फ अटिजम रोग नभएर अवस्था भएको भन्दै फिल्मले सन्देश दिने काम गरेको छ ।
यो फिल्मको एकैपटक देशव्यापी रिलिज नगरीकन विशेष दर्शक लक्षित शो आयोजना गर्ने जनाइएको छ । उपयुक्त समयमा थिएट्रिकल रिलिज गर्ने निर्देशक पाण्डेले जानकारी दिइन् ।
प्रतिक्रिया 4