
२० चैत, काठमाडौं । एउटा विषयको परीक्षामा अर्को विषयको प्रश्न आएपछि मंगलबारको अटोमोबाइल इन्जिनियरिङको परीक्षा स्थगित भएको छ ।
गलत विषयकाे प्रश्न आएको विद्यार्थीले बताएपछि त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) परीक्षा नियन्त्रण महाशाखाले परीक्षा स्थगित गरेको हो ।
आज ब्याचलर इन अटोमोबाइल इन्जिनियरिङ तेस्रो वर्षको दोस्रो भागकाे एएम ६५१ अटोमोबाइल कम्पाेनेन्ट डिजाइन विषयको परीक्षा थियो ।
एक परीक्षार्थीले भने ‘आज एएम ६५१ अटोमोबाइल कम्पाेनेन्ट डिजाइनको सेकेन्ड पार्टको परीक्षा थियो तर पार्ट वानको प्रश्न आएपछि हामीले जानकारी गरायौं र परीक्षा स्थगित भएको छ ।’
शिक्षकले प्रश्नपत्र बनाएपछि परीक्षा नियन्त्रण कार्यालयले प्रमाणीकरण नगर्दा विद्यार्थीहरूले दुःख पाएको पुल्चोक इन्जिनिरिङ क्याम्पसका स्ववियु अध्यक्ष विराज अर्यालले बताए । उनले भने ‘चरम लापरबाहीको उदाहरण हो यो । यसमा शिक्षक तथा परीक्षा कार्यालयको कमजोरी छ ।’
त्रिवि आईओई परीक्षा नियन्त्रण महाशाखाले आज स्थगित भएको परीक्षा २८ चैत दिउँसो १ बजे हुने सूचना जारी गरेको छ ।
अटोमोबाइल इन्जिनियरिङ थापाथली इन्जिनियरिङ क्याम्पस, धरान इन्जिनियरिङ क्याम्पस र पोखरा इन्जिनियरिङ क्याम्पस गरी तीन ठाउँमा पढाइ हुने गरेको छ ।
प्रतिक्रिया 4