+
+

इलाम २ मा देउवाले लिए खड्काको पक्षमा अडान, शेखर-गगन आचार्यको पक्षमा

कार्यसम्पादन समितिले गर्न सकेन निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २० गते १९:२३

२० चैत, काठमाडौं । नेपाली कांग्रेसको मंगलबार बसेको नेताहरुको बैठकले पनि उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउन सकेन । मंगलबार कांग्रेसको कार्यसम्पादन र संसदीय बोर्डको बैठक बोलाइएको थियो ।

उक्त बैठकमा सभापति शेरबहादुर देउवा र शेखर–गगन पक्षबीच उम्मेदवार चयनमा विवाद भएकाले टुंगो लगाउन नसकेको एक नेताले बताए ।

मंगलबारको बैठकमा सभापति देउवाले इलाम–२ को प्रतिनिधिसभा उपनिर्वाचनमा डम्बर खड्का र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र १ मा अभिषेक सिंहलाई उम्मेदवार बनाउनुपर्ने धारणा राखे भने शेखर–गगन पक्षले अस्वीकार गरेको छ ।

उनीहरु इलाममा भेषराज आचार्य र बझाङमा जगत जोशी उम्मेदवार हुनुपर्ने अडानमा रहेकाले सहमति नभएको एक नेताले बताए ।
कांग्रेस प्रचार विभागका प्रमुख मीन विश्वकर्माले उम्मेदवार टुंगो लगाउन बुधबार दिउँसो २ बजे बैठक बस्ने जानकारी दिए ।

बैठक स्रोतका अनुसार देउवा पक्षले ४ मंसिर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा डम्बर खड्का जम्मा ११४ मतान्तरले मात्र एमालेका सुवासचन्द्र नेम्वाङसँग पराजित भएकाले यसपटक उनैलाई टिकट दिनुपर्ने धारणा राखेको थियो ।

तर शेखर–गगन पक्षले कांग्रेस कार्यकर्तामाझ खड्का भन्दा आचार्य बलियो रहेकाले उनले टिकट पाउनुपर्ने अडान राखेका थिए ।

त्यस्तै देउवा पक्षले बझाङ प्रदेशसभा–१ बाट ४ मंसिरमा निर्वाचित पृथ्वी सिंह दुर्घटनामा परेर निधन भएकाले उनकै छोरा अभिषेकलाई टिकट दिनुपर्ने धारणा राखेका थिए ।

शेखर–गगन पक्षले भने गत स्थानीय तहको निर्वाचनमा अभिषेक वडाध्यक्ष पदमा पनि तेस्रो स्थानको मत ल्याएकाले प्रदेशसभाको टिकट दिन नहुने अडान लिएका थिए । उनीहरुले सिंह भन्दा जगत जोशी बलियो उम्मेदवार रहेको बताएका बैठकमा सहभागी एक नेताले बताए ।

१५ वैशाखमा हुने उपनिर्वाचनका लागि एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले उम्मेदवार टुंगो लगाएर मत माग्न थाले पनि कांग्रेसले टुंगो लगाउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?