
२१ चैत, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पदबाट राजीनामा दिने भएका छन् । उनले बिहान ११ बजे प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाउने भएका हुन् ।
राजीनामा दिनुअघि मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद बैठक बसालेका थिए । सो बैठकमा उनले पछिल्लो अवस्थाबारे जानकारी गराउँदै आफूले राजीनामा दिन लागेको जानकारी गराएका थिए ।
बैठकपछि सरकारकी प्रवक्ता एवम् ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले मुख्यमन्त्रीले आज बिहान ११ बजे राजीनामा दिने जानकारी गराइन् ।
गत फागुन २३ माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले २२ गते संसदमा विश्वासको मत लिनुपर्ने थियो । तर, पाण्डेले विश्वास प्राप्त गर्ने स्थिति नदेखेपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने र ठूलो दलका हैसियतमा फेरि मुख्यमन्त्री हुने रणनीति अपनाएका छन् ।
ठूलो दलको हैसियतमा फेरि मुख्यमन्त्री बन्ने रणनीति
मुख्यमन्त्री पाण्डेले मंगलबार संसदीय दलका सदस्यसँग छलफल गर्दै सुझावसमेत मागेका थिए । सांसदहरुले पनि अहिलेको अवस्थामा राजीनामा दिएर जानु नै उपयुक्त हुने सुझाव दिएका थिए ।
गण्डकीमा निर्णायक देखिएको राप्रपाले तत्काल कुनै पनि दललाई सत्ताकेन्द्रित गतिविधिमा साथ नदिने बताएपछि पाण्डेले राजीनामा दिन लागेका हुन् ।
गण्डकीमा एमालेका २२, माओवादीको सभामुखसहित ८ जनालेमात्रै सरकार बन्ने स्थिति छैन ।
२ सदस्य रहेको राप्रपाले गठबन्धनलाई साथ नदिँदा बहुमत नपुग्ने र ठूलो दलको हैसियतमा फेरि आफैं मुख्यमन्त्री हुने रणनीति पाण्डेको छ ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ सांसद छन् । एकीकृत समाजवादी प्रवेश गरेर अहिले फेरि स्वतन्त्र हैसियत मागेका दीपक मनाङेलाई पाण्डेले भौतिक मन्त्री बनाएका छन् ।
प्रतिक्रिया 4