
२१ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यार्थीलाई शिक्षा मन्त्रालयमा काम सिक्ने अवसर दिलाउन ‘प्रशिक्षार्थी (इन्टर्न) सम्बन्धी कार्यविधि २०८०’, ल्याएको बताएकी छन् ।
निजामती कर्मचारीलाई अविश्वास गर्दै मन्त्री श्रेष्ठले शिक्षा मन्त्रालयमा प्रशिक्षार्थी कर्मचारी राख्न खोजेको भन्दै संसदमा प्रश्न उठेको छ भने सार्वजनिक रुपमा पनि आलोचना भएको छ ।
मंगलबार नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रशिक्षार्थी कर्मचारी लिने प्रवृत्ति पछ्याउँदै गृहमन्त्रीले प्रशिक्षार्थी प्रहरी र रक्षामन्त्रीले प्रशिक्षार्थी सेना भर्ना गरे देश कहाँ पुग्छ भनेर प्रश्न गरेका थिए ।
त्यसको भोलिपल्ट बुधबार प्रतिनिधि सभाको बैठकमा इन्टर्न कार्यविधिको बचाउ गर्दै शिक्षामन्त्री श्रेष्ठले विद्यार्थीले पाउने अवसरमा राजनीति नगरिदिन आग्रह गरिन् ।
‘कार्यविधि वेबसाइटमा नै छ हेरिदिनुहोला । तर, विद्यार्थीहरुको लागि जे राम्रो छ, उहाँहरुले अवसर पाउने कुरामा, उहाँहरुलाई न्याय हुने कुरामा राजनीति नगरिदनुहोला यो मेरो बिनम्र अनुरोध छ’, उनले भनिन् ।
शिक्षा मन्त्रालयले जारी गरेको कार्यविधिमा उच्च शैक्षिक संस्थामा अध्ययनरत तथा उच्च शैक्षिक उपाधिको लागि प्रतिक्षारत विद्यार्थीलाई शिक्षा मन्त्रालय तथा मन्त्रालय अन्तर्गतका निकायबाट सम्पादन हुने कार्य तथा सेवाका विषयमा इन्टर्नसीप कार्यक्रममार्फत व्यवहारिक सीप र कार्य अनुभव दिलाउने उल्लेख छ ।
उक्त कार्यविधि कुन ऐनमा टेकेर ल्याएको भन्ने प्रश्न पनि संसदमा उठेको थियो । इन्टर्नसिपको यस्तो अभ्यास अन्यत्र पनि कतै छ कि भनेर सांसदहरुले प्रश्न गरेका थिए । जवाफमा शिक्षामन्त्री श्रेष्ठले आफूले जारी गरेको जस्तै कार्यविधि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले २०७६ मै जारी गरेको र कार्यान्वयनमा रहेको बताएकी छन् ।
‘सुशासन ऐन छ, त्यसमा टेकेर कार्यविधि आएको हो’, उनले भनेकी छन्, ‘कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको अभ्यास वृति इन्टर्नसीप सम्बन्धी कार्यविधि पनि छ २०७६ सालको । यो अलरेडी कायम रहेको सिस्टम हो ।’
शिक्षा मन्त्रालयले जारी गरेको कार्यविधि अन्तर्गत हुने गतिविधिले राज्यलाई भार नपर्ने पनि उनले बताइन् ।
‘आवश्यकता र विद्यार्थीको रुची अनुसार सीमित संख्यामा त्यो पनि राज्यलाई आर्थिक भार नपर्ने गरी, गोप्य सूचनामा पहुँच नहुने गरी, मापदण्ड बनाएर कर्मचारीको नै नेतृत्व हुने गरी काम गर्न खोज्दा समानान्तर सत्ता कसरी बन्छ ?’ शिक्षामन्त्री श्रेष्ठको प्रतिप्रश्न छ ।
देशलाई नेता मात्रै चाहिएको हो ?
शिक्षामन्त्री श्रेष्ठले राजनीतिक दलहरुले विद्यार्थीले राजनीति सिक्न आवश्यक रहेको र यसका लागि विद्यार्थी संगठनहरु आवश्यक रहेको तर्क गर्ने गरेको पनि स्मरण गराएकी छन् ।
‘विद्यार्थीको राजनीतिक संगठन भएन भने विद्यार्थीले कसरी राजनीति सिक्छ भन्ने प्रश्न गर्नुहुन्छ । त्यो त एक प्रकारको इन्टर्नसीप जस्तो हो भन्नुहुन्छ । के विद्यार्थीले राजनीति मात्रै सिक्ने त ?’ उनले प्रश्न गरिन् ।
विद्यार्थीलाई सरकारी काम पनि सिकाउनुपर्ने उनको भनाइ छ । यसका लागि प्रशिक्षार्थीको रुपमा विद्यार्थीलाई काम गर्ने अवसर दिँदा ‘भविष्यका कर्णधार निस्कने’ शिक्षामन्त्री श्रेष्ठको जिकिर छ ।
‘यो देशको सरकारी कार्यालयहरु कसरी चल्छ ? कसरी इम्प्याक्ट पार्न सकिन्छ भनेर विद्यार्थीहरुले सिक्नुपर्दैन ? हाम्रो देशमा के नेता मात्रै चाहिएको हो र ?’ मन्त्री श्रेष्ठले प्रश्न गरिन्, ‘हामीलाई अब्बल कर्मचारी चाहिएको छ । नीति निर्माणकर्ता चाहिएको छ ।’
आफूले प्रशिक्षार्थी लिने र विद्यार्थीलाई अवसर दिने भन्दा प्रश्न गर्नेहरुमाथि मन्त्री श्रेष्ठले उल्टै प्रश्न गरिन् । ‘शिक्षा श्रमसँग जोडिएन भन्नुहुन्छ । बेरोजगारको कारखाना भयो भन्नुहुन्छ । युवाको विमानस्थलमा लर्को देखेर दुःखेसो पोख्नुहुन्छ हैन त ? हो भने इन्टर्नसिप किन नगराउने ? काम गर्न किन नसिकाउने ?’ उनको प्रश्न छ ।
प्रतिक्रिया 4