+
+

बागमती सरकारमा डेढ वर्ष अवधिमा २१ मन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते १४:५९

२१ चैत, हेटौंडा । २५ पुस २०७९ मा बागमतीको मुख्यमन्त्री नियुक्त शालिकराम जम्कट्टेलले डेढ वर्षको अवधिमा २१ जनालाई मन्त्री बनाएका छन् ।

एमाले–माओवादी–राप्रपासहितको समर्थनमा मुख्यमन्त्री बनेका उनले पछि कांग्रेस र एकीकृत समाजवादीसँग सहकार्य गरे । २३ फागुनमा कांग्रेस सरकारबाट बाहिरिएपछि पुनः एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी सम्मिलित सरकार बनाएका छन् ।

बागमतीमा ११ वटा मन्त्रालय र मुख्यमन्त्रीसमेत गरेर १२ सदस्यीय मन्त्रिपरिषद थियो । तर अहिले एक जना विना विभागीय मन्त्रीसमेत गरेर मन्त्रिपरिषद १३ सदस्यीय बनेको छ ।

तेस्रो पटक १९ चैतमा विश्वासको मत पाएपछि २० चैतको साँझ नेकपा एमालेका चार जना मन्त्रीलाई शपथ गराउँदै जम्कट्टेलले सरकारलाई पूर्णता दिएका छन् । तर, विना विभागीय मन्त्री नियुक्त भएकी रमा आले मगरलाई मन्त्रालयको जिम्मेवारीसहित सरकार व्यवस्थापन गर्न भने बाँकी छ ।

डेढ वर्षको अवधिमा २१ जनालाई मन्त्री बनाउँदा केही सांसद मन्त्रीमा दोहोरिएका छन् । पहिलो पटक २५ पुस २०७९ मा जम्कट्टेल मुख्यमन्त्री नियुक्त हुँदा एमालेबाट जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना र राप्रपाका उद्धव थापा खानेपानी, उर्जा तथा सिचाईं मन्त्री नियुक्त भएका थिए ।

३ माघमा १०५ सांसदको विश्वासको मत लिएका जम्कट्टेलले ११ माघमा माओवादी केन्द्रबाट आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ, भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल र सामाजिक विकासमन्त्रीमा कुमारी मोक्तानलाई नियुक्त गरे । एमालेबाट थप मन्त्रीहरु स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ, कृषि तथा पशुपन्छी विकासमा केशव पोख्रेल र श्रम, रोजगार तथा यातायात मन्त्रत्रालयमा एकालाल श्रेष्ठ ११ माघमा नियुक्त भए । राप्रपाबाट डम्बर तामाङ पर्यटन, उद्योग तथा सहकारीमन्त्री र राजु विष्ट वन तथा वातावरण मन्त्री बने ।

२ महिनामै सत्ता गठबन्धन परिवर्तन भएपछि राप्रपाले १३ फागुनमा र एमालेले १० चैतमा सरकारलाई दिएको समर्थन फिर्ता लिए । मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक २६ चैतमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को समर्थनको सरकार विस्तार गरे ।

१० चैतमा विश्वासको मत लिएपछि उनले कांग्रेसबाट आर्थिक मामिलामन्त्रीमा बहादुर सिं लामा र खानेपानी, उर्जा तथा सिचाईं मन्त्रालयमा तिर्थ लामालाई नियुक्त गरे । ७ जेठ ०८० मा कांग्रेसबाटै स्वास्थ्य मन्त्रालयमा उत्तम जोशी, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयमा पुकार महर्जन, वन तथा वातावरण मन्त्रालयमा मसिना खड्का, रामकृष्ण चित्रकार विना विभागीय मन्त्री नियुक्त भए । सोही मितिमा एकीकृत समाजवादीबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा डा.राजेन्द्रमान श्रेष्ठ र श्रम, रोजगार तथा यातायात मन्त्रालयमा लक्ष्मण लम्साल मन्त्री बने ।

कांग्रेस संसदीय दलका उपनेता चित्रकारलाई साढे दुई महिनासम्म विना विभागीयमै राखेर मुख्यमन्त्री जम्कट्टेलले अन्ततः मन्त्रालय विभाजन गरेर उद्योग तथा सामान्य प्रशासन मन्त्रीको जिम्मा दिए । पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरेर उद्योग तथा सामान्य प्रशासन मन्त्रालय बनाइएको थियो ।

मुख्यमन्त्री बनेसँगै जम्कट्टेलले पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बनाएको १४ वटा मन्त्रालयलाई गाभेर ११ वटामा झारेका थिए । चित्रकारलाई व्यवस्थापन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १२ वटा मन्त्रालय पुर्‍याइएको थियो । बागमतीमा फेरि पछिल्लो पटकको सरकार विस्तारका क्रममा मन्त्री संख्या १३ पुर्‍याइएको छ । त्यसैले मन्त्रालय संख्या पनि थपिने सम्भावना छ ।

मुख्यमन्त्री जम्कट्टेलले तेस्रो पटक १५ चैतमा सरकार विस्तार गरे । मंगलबार सरकारलाई पूर्णता दिएका उनले ३ जना नयाँ अनुहारलाई मन्त्री बनाए भने बाँकी पुनः सरकारमा फर्किए । हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्री बनाएर जम्कट्टेलले बहुमत जुटाएका थिए । एमालेबाट १७ चैतमा आर्थिक मामिलामन्त्रीमा थपलिया, मंगलबारै रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र केशव पोख्रेल मन्त्रीमा दोहोरिएका छन् ।

एमालेबाट प्रकाश श्रेष्ठ उद्योग, प्रशासन मन्त्रीमा नयाँ अनुहार आए । एकीकृत समाजवादीबाट मन्त्री बनेकी रमा आले मगर पनि नयाँ हन् । प्रदेशसभाको पहिलो कार्यकालमा उनी संसदीय समितिको सभापति थिइन् ।

तीन पटक सरकार फेरबदल हुँदा माओवादीका तीन मन्त्रीहरु श्रेष्ठ, दुलाल र मोक्तान यथावत रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?