+
+

उपनिर्वाचनलाई प्रतिष्ठा बनाउँदै पहिचान पक्षधर

प्रदेशको नामकरणप्रति असन्तुष्टि जनाएर सडक आन्दोलन गर्दै आएका पहिचान पक्षधर अभियान्ताहरुले इलाम–२ मा हुने उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन् । उनीहरुले डकेन्द्रसिं थेगिमलाई साझा उम्मेदवारका रुपमा अगाडि बढाएका छन् ।

सुदिप श्रेष्ठ सुदिप श्रेष्ठ
२०८० चैत २२ गते १४:१४

२२ चैत, इलाम । किरात धर्मावलम्बीहरुले पवित्रस्थल मान्ने माङ्सेबुङमा पहिचान पक्षधरले बुधबार शक्ति प्रदर्शन गरेका छन् ।

माङ्सेबुङ गाउँपालिका–५, भालुटारमा गरिएको सभाका लागि धरान, विराटनगर लगायत शहरी क्षेत्रबाट समेत मानिस लगिएका थिए ।

शक्ति प्रदर्शनको आयोजना भने प्रदेशको नाम कोशी राख्ने निर्णयप्रति असन्तुष्ट ४१ राजनीतिक तथा सामाजिक संस्थाहरुले संयुक्त रुपमा गरेका थिए । अर्थात् प्रदेशको नामकरणप्रति असन्तुष्टि जनाएर एक वर्षदेखि सडक आन्दोलन (विशेष गरी विराटनगर केन्द्रित) गरिरहेका पहिचान पक्षधर अभियन्ताहरु इलाम पुगेका हुन् ।

इलाम–२ मा आगामी १५ वैशाखमा उपनिर्वाचन हुने भएकाले आफूहरु पनि यही केन्द्रित भएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन बताउँछन् । उनका अनुसार, उपनिर्वाचनलाई पहिचान पक्षधरले आन्दोलनकै अर्को रूप मानेको छ ।

‘शान्तिपूर्ण युद्धका लागि देशका सबै तप्कामा पहिचानवादीहरु तयार छन् र एकजुट छन् भन्ने सन्देश दिने अवसरको रुपमा उपनिर्वाचनलाई लिएका छौं’, उनी भन्छन् । ४१ वटा संस्थाहरुले डकेन्द्र सिं थेगिमलाई साझा उम्मेदवार बनाउन सक्नुले राम्रो सन्देश गइसकेको उनको तर्क छ ।

विगतमा पहिचान पक्षधरहरुबाट कमजोरी भएकाले त्यसलाई सच्याउने अवसर पनि उपनिर्वाचन बन्न पुगेको उनीहरु बताउँछन् । ‘लिम्बुवान आन्दोलन चरम उत्कर्षमा पुगेको बेला नेतृत्वमा रहेकाहरुले संगठन फुटाउँदै नयाँ संस्था र पार्टी दर्ता गर्ने काम गरियो, तर अब पाठ सिक्नुपर्छ’, लिङ्देन भन्छन् ।

प्रदेशको नाम परिवर्तन गर्न एकताबद्ध प्रयत्नको खाँचो रहेको उनको तर्कमा अरुले पनि विमति राखेका छैनन् । त्यसैले अरु राजनीतिक दललाई उछिनेर उनीहरुले डकेन्द्र सिंह थेगिमलाई साझा उम्मेदवार टुंगो लगाएका थिए ।

अहिले उनीहरुले थेगिमको उम्मेदवारीलाई पहिचानको आन्दोलनसँग जोडेका छन् । बुधबारको सभामा वक्ताहरुले त थेगिमको उम्मेदवारीलाई अन्तिम लडाईं समेत भने । अर्थात् थेगिमलाई प्रतिष्ठा मानेर सम्पूर्ण शक्ति उपयोग गर्ने नीति पहिचान पक्षधरले लिएका छन् ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई बुधबारको सभामा प्रमुख वक्ता बनाइनुले पनि यो उपनिर्वाचनलाई पहिचान पक्षधरले प्रतिष्ठाको रुपमा लिएको बुझ्न सकिन्छ । गैरदलीय उम्मेदवारी दिएर धरानको मेयर जितेका साम्पाङ पछिल्लो समय पहिचानको एजेण्डा वकालत गरिरहेका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर आफ्नो कार्यकक्षबाट हटाएर यलम्बरको तस्वीर राखेपछि साम्पाङले पहिचान पक्षधरको मन जितेका छन् ।

तिनै मेयरलाई प्रमुख वक्ता मानेर लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष जेण्टल लिम्बु, लिम्बुबान आन्दोलनका नेता एवं संघीय लिम्बुवान पार्टीका अध्यक्ष सञ्जुहाङ पालुङ्वा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन, किरात राई यायोख्खाका केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राई लगायत माङ्सेबुङको सभामा पुगेका थिए ।

मेयर साम्पाङ धरानबाट दलबल सहित माङ्सेबुङ पुगेका थिए । उनले थेगिमलाई जिताउन स्थानीयसँग अपिल गरे । उनीहरुका अनुसार थेगिमलाई जिताउने वातावरण बनाउन ठूलो संख्यामा जनपरिचालनको तयारी भइरहेको छ ।

संघीय लिम्बुवान पार्टीका अध्यक्ष सञ्जुहाङ पालुङ्वा, इलाम–२ को विभिन्न ६ स्थानबाट आफ्नो कार्यकर्ता मत माग्न परिचालित भइसकेको बताउँछन् । ती स्थानमा क्याम्प नै स्थापना गरेर भोट माग्ने र पहिचानको मुद्दाबारे जनतालाई बुझाउने काम सुरु भइसकेको उनी बताउँछन् ।

पूर्वशिक्षकलाई पहिचानको झण्डा

पहिचान पक्षधरले साझा उम्मेदवार बनाएका थेगिम पेशाले पूर्वशिक्षक हुन् । फाकफोकथुम गाउँपालिका–३, का ६२ वर्षीय थेगिमले २२ वर्षसम्म स्कूल पढाएका थिए ।

२०३४ सालदेखि पढाउन थालेका थेगिमले सल्लेरी विद्यालय, सिंहदेवी मावि आमचोकमा पढाए । २०६३ सालदेखि भने १० वर्षसम्म फाकफोक स्रोतकेन्द्र र गजुरमुखी स्रोतकेन्द्रको श्रोतव्यक्ति रहे । त्यसपछि सेवा निवृत्त थेगिम पहिचानकै आन्दोलनमा सक्रिय भए ।

यद्यपि धार्मिक एवं सामाजिक संस्थाहरुमा थेगिमको आवद्धता पुरानै हो । २०५८ सालमा किरात धर्ममा हर्कध्वज चेम्जोङबाट साङदाङवारुमसाबा दीक्षा प्राप्त गरेका थेगिमले २०५९ मा नालीफुङ्वा पाङ्भे पान्जुम्भोको आमचोक गाविसको अध्यक्ष भए ।

२०६० चैतमा सम्पन्न किरात धर्म तथा साहित्य उत्थान संघको केन्द्रीय समितिको महाधिवेशनमा किरात धर्मगुरु आत्मानन्द लिङ्देनबाट अध्यक्ष मनोनित भए । २०६५ चैत र २०७१ वैशाखमा सम्पन्न महाधिवेशनबाट पनि उनी अध्यक्षमै मनोनित भए ।

किरात धर्म तथा साहित्य उत्थान संघको केन्द्रीय समितिको अध्यक्ष नै महागुरु फाल्गुनन्द स्मृति प्रतिष्ठानको अध्यक्ष हुने प्रचलन रहेकाले उनी प्रतिष्ठानको समेत अध्यक्ष थिए ।

उपनिर्वाचनमा उम्मेदवार बन्ने भएपछि थेगिमले बुधबार मात्रै दुवै संस्थाको अध्यक्षबाट राजीनामा घोषणा गरेका छन् । शिक्षण पेशा, धार्मिक एवं सामाजिक अभियानसँगै थेगिमले नेकपा एमाले निकट भएर काम गरेका थिए । उनी लामो समय एमाले निकट राष्ट्रिय शिक्षक संगठनमा आवद्ध थिए ।

शिक्षकबाट अवकाश पाएपछि पनि एमाले नजिक रहेका थेगिम गत वर्ष १७ फागुमा प्रदेशको नाम कोशी राख्ने निर्णयपछि पहिचानको आन्दोलनमा छन् । तिनै थेगिमलाई पहिचान पक्षधर ४१ घटकले साझा उम्मेदवार बनाएर आफ्नो आन्दोलनको स्वरुपलाई समेत तत्काल परिवर्तन गरेका छन् ।

इलाम–२ मा एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले २०५६ सालपछि निरन्तर जित्दै आएका थिए । गत वर्ष मंसिरको चुनावमा पनि नेम्वाङले जितेका थिए ।

तर नेम्वाङको निधनपछि हुन लागेको उपनिर्वाचनलाई पहिचान पक्षधरले आफ्नो आन्दोलनसँग जोड्ने प्रयास गरेको छ । बुधबारका सभामा सहभागी वक्ताहरुले सुवास नेम्वाङको २५ वर्षे विरासत तोड्न १५ हजार मत पर्याप्त हुने दावी समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?