
२२ चैत, काठमाडौं । आयातमा भएको संकुचन र आर्थिक वर्षको सुरुवातदेखि नै रेमिट्यान्समा भएको लगातारको वृद्धिले विदेशी विनिमय सञ्चित १९ खर्ब नजिक पुगेको छ ।
चालु आर्थिक वर्षको ८ महिनामै बैंकिङ प्रणालीमा रहेको विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले बढेर १८ खर्ब ७२ अर्ब ८२ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रहेकोमा बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ८ महिनामा ३ खर्ब ३३ अर्ब ४६ करोडले बढेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा फागुन मसान्तमा २०.८ प्रतिशतले वृद्धि भई १४ अर्ब १४ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा फागुन मसान्तमा १६ खर्ब ४४ अर्ब ६ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा फागुन मसान्तमा २ खर्ब २८ अर्ब ७६ करोड कायम भएको छ । २०८० फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको छ ।
मौद्रिक नीतिले चालु आर्थिक वर्षमा ७ महिनाको वस्तु तथा सेवाको आधार धान्न पुग्ने विदेशी विनिमय सञ्चिति कायम राख्ने लक्ष्य लिएको थियो । तर आर्थिक वर्षको ८ महिना सकिँदा एक वर्षभन्दा बढीको वस्तु तथा सेवाको आयात धान्न सक्ने अवस्थामा पुगेको छ ।
चालु आर्थिक वर्षको आठ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १२.४ महिनाको वस्तु तथा सेवाको आयात धान्नसक्ने अवस्था देखिएको राष्ट्र बैंकले जनाएको छ । यस्तै १४.८ महिनाको वस्तु आयात धान्न पर्याप्त रहने उल्लेख गरेको छ ।
२०८० फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३४.८ प्रतिशत, कुल आयातसँगको अनुपात १०३.१ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु २८.२ प्रतिशत रहेका छन् ।
प्रतिक्रिया 4