+

नेपालकै लामो दौड ‘चौथो मन्जुश्री ट्रेल रेस’ सुरू, ४० विदेशीसहित ३२४ धावक सहभागि

२०८० चैत  २३ गते १३:१३ २०८० चैत २३ गते १३:१३
नेपालकै लामो दौड ‘चौथो मन्जुश्री ट्रेल रेस’ सुरू, ४० विदेशीसहित ३२४ धावक सहभागि

२३ चैत, काठमाडौं । खेल पर्यटन प्रवर्द्धन गर्दै चौथो संस्करणको मन्जुश्री ट्रेल रेस सुरू भएको छ । शुक्रबार बिहान ८ बजे इचंगुनारायण स्थित सिंगल ट्रीबाट सय माइलको दौड सुरू गरिएको हो ।

शुक्रबार र शनिबार हुने विभिन्न चरणको रेसमा नेपाल सहित १६ मुलुकका ३ सय २४ धावकहरू सहभागी छन् । जसमा ४० जना विदेशी धावक छन् । यस्तै २ सय ८९ जना महिला र ३५ जना पुरुष धावक छन् । विभिन्न चरण मध्ये सय माइलको दौडमा ४ महिला सहित १८ धावक सहभागी छन् ।

यस संस्करणमा नेपाल, चीन, सिंगापुर, बेलायत, डेनमार्क, इण्डिया, बेलारुस, इण्डोनेसियाका धावकहरू सहभागी भएको रेसका अध्यक्ष सुवास थापाले जानकारी दिए । सय माइलको यस रेसमा चर्चित धावकहरू प्रिया राई, मसफुमी यमाटो, मन कुमार रोका मगर, अर्जुन कुलुङ राई, निक पिलापिल, सोफी सरन्या महाकनोक लगायत अतिथि सहभागी छन् । अन्तर्राष्ट्रिय ट्रेल रेसको प्रतिष्ठित एमसी सोफीले पनि यस रेसमा सहभागीता जनाएकी हुन् ।

धावकहरूले काठमाडौं उपत्यका वरिपरीका सातवटा प्रमुख चुचुराहरू जामाचो, शिवपुरी, नगरकोट, फूल्चोकी, चम्पादेवी, भस्मासुर र चन्द्रागिरि हुँदै १०० माइल दूरी पार गर्नेछन् ।

‘यो रेस सगरमाथाको भन्दा बढी उचाइ गेन गरिने रेस हो ।’ एसिया ट्रेल मास्टर च्याम्पियन रशिला तामाङले भनिन् ‘सय माइलको मञ्जुश्री ट्रेल रेस पार गर्दा विभिन्न चुचुरा चड्ने र झर्ने गरेर १२ हजार ६९५ मिटरको उचाई गेन गरिन्छ ।’

यस्तै आजै राति ८ बजे एक सय किलोमिटरको दौड झुलेबाट, भोलि शनिबार बिहान ७ बजे ५० किलोमिटरको दौड बडिखेलबाट र मञ्जुश्री ट्रेल रेससँग आवद्ध ट्रेलमाण्डुको ३० किलोमिटरको केभीआर स्टेज रेस शनिबार बिहान ८ बजे फर्पिङको डोल्लुबाट सुरू हुँदैछ ।

यो ट्रेलमाण्डुको ५ स्टेज रेसको फाइनल खेल हो । यसमा १०० जना धावक सहभागी हुँदैछन् । त्यसैगरी शनिबार कालुपाँडे डाँडाबाट १० किमिको रेस सुरू भइ सिंगल ट्रीमै सकिने अध्यक्ष थापाले जानकारी दिए ।

अध्यक्ष थापाका अनुसार, यो संस्करणलाई एसिया ट्रेल मास्टर्सको छनोट खेलका रुपमा समेत मान्यता रहेको छ ।एसिया ट्रेल मास्टर्स हङकङमा कुआइ स्पोर्ट्स प्रमोशन लिमिटेडद्वारा व्यवस्थित एसियामा ट्रेल दौडको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिरिज हो ।

एसिया ट्रेल मास्टर्स पारदर्शी र सजिलो पोइन्ट प्रणालीमा आधारित वार्षिक च्याम्पियनसिप कार्यक्रम पनि हो । यसका साथै ग्रान्डमास्टर क्वेस्ट मार्फत सबै बर्गका धावकहरूलाई समान अवसर दिइन्छ ।

गत वर्षको सम्पन्न तेस्रो संस्करणको मञ्जुश्री ट्रेल रेसमा ६७ जना नेपाली र २१ जना विदेशी गरी जम्मा ८८ जना धावकले भाग लिएका थिए ।आयोजकका अनुसार यस रेस अन्तर्गत प्रत्येक सिजन ‘एटिएम फाइनल’ सँगै समाप्त हुन्छ जसमा अन्तिम विजेतालाई सम्मानित गरिन्छ ।

स्थापनाको आठौँ वर्षमा १२ देखि १५ वटा सम्म एसियाली मुलुकहरूमा ३० खेलको आयोजना हुनेछ । यसमध्येका थाइल्याण्ड, मलेसिया, जापान, भियतनाम र हङकङमा हुने रेस मुख्य रेस हुन् ।

पौराणिक कथन अनुसार मञ्जुश्री नामक भिक्षुले काठमाडौंमा अवस्थित पोखरीमा जम्मा भएको पानीलाई निकास दिन, विभिन्न डाँडा घुमेर हेरेको थिए । यसै विश्वासलाई आधार मानेर यस रेसको परिकल्पना तथा नामाङ्कन गरिएको हो ।सेतो र पहेलो रङले चिह्न लगाइएको यस ट्रेलमा अहिले हाइकिङ तथा साइक्लिङ समेत हुने गरेको छ ।

धावकहरू भने जंगल, खोला, खेत र केही गाउँहरू हुँदै दौडन्छन् । लगभग ७० प्रतिशत दौड वन-जंगल र गोरेटो बाटोमा हुने ट्रेलमाण्डुका सह सँस्थापक आशिष मिश्रले बताए ।

अध्यक्ष थापाका अनुसार रेसलाई थप समावेशी बनाउन शनिबार २ किलोमिटरको विशेष रेस समेत आयोजना हुँदै छ । जसमा भिन्न रुपले सबल बाल-बालिकाहरूको रेस पनि आयोजना हुनेछ । नेपाल डाउन सिन्ड्रोम सोसाइटीसँगको सहकार्यमा सो रेसको आयोजना हुन लागेको हो । यसमा २० खेलाडी सहभागी हुँदैछन् ।

१०० माइल यस लामो दौड नेपालकै सबैभन्दा लामो तथा ठुलो संख्यामा सहभागिता रहने दौड पनि हो । यसमा धावकहरूलाई सहज बनाउनको लागी जम्मा १९ वटा चेक प्वाईन्ट उपलब्ध गराइएको हुन्छ जहाँ उनीहरूलाई आवश्यक पर्ने खानेकुरा, पानी तथा आधारभुत औषधिको पनि व्यवस्था गरिएको हुन्छ ।

त्यस्तै तीन स्थानमा केही समय आराम गर्नको निम्ति बासस्थानको पनि व्यवस्था गरिएको छ । ईमर्जेन्सी अवस्थालाई मध्यनजर राखि सबै चेक प्वाईन्टहरूमा आधारभूत तालिम प्राप्त मेडिकल टिम राखिनुको साथै एम्वुलेन्स तथा अस्पतालहरूसँग पनि समन्वय गरिएको अध्यक्ष थापाले जानकारी दिए । यसका लागि ट्रेलमाण्डुसँग सहकार्य गरिएको उनले बताए ।

खेल पर्यटन चौथो मन्जुश्री ट्रेल रेस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय