
२३ चैत, काठमाडौं । जुगल हिमालको पहिलो आरोहण नेपाल र कोरियाबीच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा विशेष रुपमा मनाइने भएको छ ।
नेपाल सरकारले २८ चैत २०७९ मा सिन्धुपाल्चोकस्थित जुगल हिमाल आरोहणका लागि खुला गरेको थियो । यो हिमालको पहिलो आरोहणका लागि ३ नेपाली र ७ जना दक्षिण कोरियाली सहभागी टिम जाने भएको छ ।
टोली २४ चैतका दिन प्रस्थान गर्ने नेपाल पर्वतारोहण संघले जानकारी गराएको छ ।
टोलीमा कोरियाली विख्यात आरोही तथा नेपालका मानार्थ नागरिक अमहोङ गिलले नेतृत्व गर्दैछन् । नेपालको तर्फबाट कीर्तिमानी आरोही तथा संघका प्रथम उपाध्यक्ष दावा याङजुम शेर्पाले नेतृत्व गर्ने भएका छन् ।
यो टोलीले १३ वैशाख २०८१ मा चुचुरो चढी काठमाडौं फर्कने योजना बनाएको छ । यो आरोहणलाई नेपाल सरकार, पर्यटन बोर्डले समेत सहयोग गर्ने भएका छन् । यसअघि सरकारले हिमाल आरोहणमा लाग्ने रोयल्टी दस्तुर मिनाहा गरेको थियो ।
शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टोलीलाई नेपालको राष्ट्रिय झन्डा हस्तान्तरण गर्दैछन् । हिमाल आरोहणसँगै ५० जना कोरियाली पदयात्री जुगल हिमाल क्षेत्रको पदयात्रामा जाने भएका छन् ।
यसले नेपालको पर्यटनमा समेत योगदान गर्ने भएको छ । १६ वैशाखका दिन टोलीलाई काठमाडौंमा सम्मान गरिने भएको छ ।
प्रतिक्रिया 4