
२३ चैत, इलाम । आगामी १५ वैशाखमा हुने उपनिर्वाचनका लागि राजनीतिक दलहरुले उम्मेदवार टुंग्याएसँगै शीर्ष नेताहरु इलाम आउने क्रम बढेको छ ।
बिहीबार मात्रै जिल्ला सभापति डम्बरबहादुर खड्कालाई उम्मेद्वार बनाउने निर्णय गरेको नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी इलाम आउँदैछन् । महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भिष्मराज आङदेम्बे, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापा लगायतको टोली शनिबार इलाम आइपुग्ने जिल्ला सभापति खड्काले बताए ।
यी शीर्ष नेताहरु मनोनयन दर्ता सभामा सहभागी हुन इलाम आउन लागेका हुन् । खड्काले पार्टी पंक्तिलाई एकताबद्ध हुनुपर्ने सन्देश दिन पनि शीर्ष नेताहरु इलाम आउने बताए । ‘उम्मेद्वार टुंगो नलागुन्जेल जे भयो भयो, अब सबै खाले केन्द्रिय नेताहरु इलाम आएर मतदातासँग भेट गर्नुहुन्छ’, उनले भने ।
अरु दलहरुले कांग्रेस भन्दा अगाडि बढेर गतिविधि र प्रचार गरिरहेका छन् । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली इलाम महोत्सवकै अवसरमा इलाम आएर पार्टी गतिविधिमा सहभागी भएका थिए । गत ११ चैतमै सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले नेताहरु सुन्तलावारीस्थित नेम्वाङको घर पुगेका थिए ।
पूर्वमन्त्रीहरु भानुभक्त ढकाल, तिलकुमार मेन्याङ्बो लगायत नेताहरुले चुनावी कार्यक्रममै भाग लिइरहेका छन् । पूर्वउपसभामुख एवं पार्टी नेता शिवमाया तुम्वाहाम्फेले उपनिर्वाचनको संयोजन गरिरहेकी छन् ।
सुहाङको चुनावी अभियानको प्रचार गर्न प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष राजेश राईको टोली इलाम आइसकेको छ । एमाले इलामका सचिव उमेश गुरुङका अनुसार, उपाध्यक्ष राईको टोलीले प्रचारसँगै स्थलगत रिपोर्टिङ गरिरहेको छ । अरु जनसंगठनका नेताहरु पनि इलाम आउने क्रम चलिरहेको छ ।
सुहाङको पक्षमा माहोल बनाउन आगामी ५ वैशाखमा एमालेका अध्यक्ष केपी शर्मा ओली आफै इलाम आउने तालिका छ । इलाम–२ को दोश्रो महत्वपूर्ण केन्द्र मानिने मंगलबारे बजारमा ओलीसहित अन्य केन्द्रिय नेताहरुले सम्बोधन गर्ने एमाले इलामका सचिवालय सदस्य धिरेन चेम्जोङले अनलाइनखबरलाई बताए ।
कांग्रेस र एमालेलाई उछिन्नेगरी प्रचार अभियान चलाइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरु पनि इलाममा थपिइरहेका छन् ।
सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई रास्वपाले चुनावी संयोजन गर्ने जिम्मा दिएको छ । बुर्लाकोटी इलाम नै बसेर चुनावी गतिविधिमा सहभागी छन् । रास्वपाबाट इलाम–२ का ६ स्थानीय तहमा मतदाताको धारणा बुझ्न सोबिता गौतम, गणेश पराजुली, मनिष झा, असिम साह, अशोक चौधरी र हरि ढकाल खटिएका थिए ।
१७ चैतमा मिलन लिम्बुको उम्मेदवारी घोषणा गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रहेका पार्टी सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ लगायत नेताहरु इलाम आएका थिए । यो टोलीले उम्मेदवारी घोषणा सँगै धर्मगुरु अत्मानन्द लिङ्देनलाई पनि भेटेको थियो ।
रास्वपाजस्तै नयाँ दल जनमत पार्टीका अध्यक्ष सीके राउत पनि इलाम आइसकेका छन् । साहित्य महोत्सवमा सहभागी हुनु अगाडि उनी चुनावी गतिविधिमै सामेल भएका थिए भने धर्मगुरु भेट्न लारुम्बा पुगेका थिए । जनमत पार्टीले इलाम–२ मा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाएको छ ।
२१ चैतमा पहिचानबादी नेताहरुले इलाम–२ मा साझा उम्मेद्वार डकेन्द्रसिं थेगिमलाई जिताउन आमसभा गरे । सभामा धरानका मेयर हर्क साङपाङ, जसपाका नेता जेण्टल लिम्बु, लिम्बुबान आन्दोलनका नेता एवं संघीय लिम्बुवान पार्टीका अध्यक्ष सञ्जुहाङ पालुङ्वा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रिय अध्यक्ष कुमार लिङदेन लगायत नेताहरु सहभागी थिए ।
माओवादी केन्द्रले एमालेलाई समर्थन गर्ने भएपछि माओवादीका केन्द्रीय नेताहरु पनि इलाम आउने तयारी चलिरहेको नेताहरुले बताएका छन् । एमाले उम्मेद्वार सुहाङ जिताउन आयोजना गर्ने सभाहरुमा माओवादीका केन्द्रिय नेताहरुले सहभागीता हुने जिल्ला इञ्चार्ज धिरेन्द्र शर्मा रमणले बताए ।
‘पार्टी चिनाउन पर्ने र शुरुमै आउनुपर्ने अवस्था होइन, आमसभाका कार्यक्रम तय भएपछि केन्द्रीय नेताहरु आउनुहुन्छ’, उनले भने ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम–२ को केन्द्र मानिने इलाम सदरमुकाममा बिहीबार चुनावी सभा गरेर लक्ष्मी गुरुङलाई उम्मेदवार घोषणा गरेको छ । राप्रकाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन र बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले चुनावी सभालाई सम्बोधन गरे ।
नेकपा एकीकृत समाजवादीले अगाडि बढाएको उम्मेदवार जीतबहादुर राईलाई जिताउन पूर्वप्रधानमन्त्री झलनाथ खनाल आफै गाउँगाउँ घुमिरहेका छन् ।
प्रतिक्रिया 4