+
+

घरको काम गरेबापत पूर्वपत्नीलाई डेढ करोड भुक्तानी गर्न अदालतको आदेश

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २५ गते १२:२४

डिभोर्सपछि पुरुषले आफ्नी पूर्वपत्नीलाई अंश तथा मानाचामल दिनका लागि अदालतले फैसला गर्ने गरेको त सामान्य हो । तर, स्पेनको एक अदालतले भने महिलाले वैवाहिक सम्बन्धमा रहँदा घरायासी काम गरेबापतको रकम समेत पूर्वलोग्नेबाट भराउने आदेश दिएको छ ।

स्पेनको पोन्टेभेड्रास्थित एक प्रान्तीय अदालतले २६ वर्षसम्म घरायासी काम गरेकी आफ्नी पूर्वपत्नीलाई ८८ हजार २५ यरो अर्थात् करिब १ करोड ४० लाख रुपैयाँ तिर्नका लागि ती महिलाका पूर्व पतिलाई आदेश दिएको छ ।

नाम नखुलाइएका ती महिला र पुरुषबीच सन् १९९६ मा बिहे भएको थियो । सन् २०२२ मा उनीहरुबीच डिभोर्स हुने बेलासम्म पत्नी चाहिंले परिवारको घरभन्दा बाहिर केवल २०५ दिनसम्म मात्र काम गरेकी थिइन् र अरु सबै समय छोरी हुर्काउन तथा अन्य घरायासी कामका लागि आफ्नो घरभित्रै घरधन्दाको काम गर्न बाध्य भइन् ।

डिभोर्सपछि लोग्ने चाहिं त्यहीँ पारिवारिक घरमा बसे । तर, महिला भने बाहिर अर्को भाडाको घर खोज्नुपर्‍यो । साथै जिविका चलाउनका लागि उनले तत्कालै जागिर खोज्नुपर्‍यो । तर, उनले २६ वर्षसम्म पूरै गृहिणी बनेर बिताएकाले उनले सामाजिक सुरक्षा पेन्सन पनि निकै कम पाउनेछिन् । तर, उनले घर धानिदिएका कारण आफ्नो व्यवसायिक करिअरमा पूर्ण रुपमा लाग्न पाएका कारण उनको पूर्वपतिको पेन्सन भने धेरै आउनेछ। त्यसैले उनले २६ वर्षसम्म लोग्नेको घरमा घरधन्दा गरेबापतको पारिश्रमिक वा क्षतिपूर्ति माग गरिन् ।

सुरुको अदालतले उक्त मुद्दामा पूर्वलोग्नेले आफ्नी ती पूर्वपत्नीलाई एक लाख २० हजार युरो तिर्नुपर्ने फैसला गरेको थियो । तर, यसमा चित्त नबुझाएर दुवै पक्षले पुनरावेदन गरेका थिए ।

पुरुष चाहिं पूर्वपत्नीलाई उनले गरेको घरधन्दाबापत रकम तिर्न राजी थिए र त्यस्तो रकम ६० हजार युरो कायम होस् भन्ने चाहन्थे । तर, पूर्वपत्नीको माग भने आफ्नो २६ वर्षसम्म पूर्णरुपमा समर्पित भई काम गरेकाले त्यस्तो क्षतिपूर्ति रकम २ लाख डलर बराबरको रकम होस् भन्ने थियो ।

पोन्टेभेड्रास्थित प्रान्तीय अदालतले तल्लो अदालतको फैसलामाथि पुनर्विचार गर्दै एक लाख २० हजार युरोको क्षतिपूर्ति रकमलाई घटाएर ८८ हजार २५ युरो बनायो । त्यसका अतिरिक्त ती पुरुषले पूर्वपत्नीलाई तीन वर्षसम्म मासिक ३५० डलर रकम प्रदान गर्नुपर्नेछ।

पछिल्लो समय युरोपमा दम्पतीहरुको डिभोर्सपछि महिलालाई पूर्वपतिले घरधन्दाबापतको रकम तिर्नुपर्ने घटनाहरु बढेका छन् ।

गत वर्ष स्पेनकै एक अदालतले २५ वर्षको घरधन्दाबापत पूर्वपत्नीलाई २ लाख ४ हजार युरो क्षतिपूर्ति दिन आदेश दिएको थियो भने पोर्चुगलको एक अदालतले सन् २०२१ म यस्तै खालको फैसला गर्दै ३० वर्षको वैवाहिक सम्बन्धपछि छुट्टिएकी महिलालाई उनका पूर्वपतिबाट ७२ हजार डलर बराबरको रकम क्षतिपूर्ति भराउने आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?