
२७ चैत, धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम चौधरी पक्षले प्रदेश सभाका सभामुखको ध्यानाकर्षण गराएको छ ।
नाउपाकी समानुपातिक सांसद इन्दिरा गिरीको कारबाही सभामुख भीमबहादुर भण्डारीले सदर गरेपछि दुई दलका नेताहरूले मंगलबार बिहान संयुक्त रुपमा भेटेर ध्यानाकर्षण गराएका हुन् ।
प्रदेश सभा सदस्यलाई संसदीय दलले मात्र कारबाही गर्न पाउने भए पनि सभामुख भण्डारीले पार्टीको सिफारिसका आधारमा कारबाही सदर गरेकाले लिखित रुपमा ध्यानाकर्षण गराइएको नाउपाका प्रदेश सभा सदस्य घनश्याम चौधरीले बताए । उनले नाउपा संसदीय दलले कुनै पनि सांसदलाई कारबाही नगरेको भन्दै सभामुखको ध्यानाकर्षण गराइएको जानकारी दिए ।
नाउपा संसदीय दलका नेता समेत रहेका घनश्याम चौधरीलाई जिम्मेवारी मुक्त गर्दै कैलाश चौधरीलाई जिम्मेवार दिएको पत्र समेत प्रदेश सभा सचिवालय नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले पठाएकी छन् । तर घनश्यामले भने ७ जना सांसदले आफूलाई दलको नेता चयन गरेकाले अहिलेसम्म आफै कायम रहेको दाबी गरेका छन् ।
नाउपासँगै सभामुखलाई भेटेका कांग्रेसका प्रमुख सचेतक बिक्रम धामीले पनि संसदीय अभ्यासअनुसार अघि बढ्न सभामुख भण्डारीलाई सुझाव दिइएको बताए ।
पार्टीले गरेको सिफारिसका आधारमा सांसदलाई कारबाही गर्न थाल्यो भने अन्य दलका सांसद समेत नरहने अवस्था आउने भएकाले सभामुखको ध्यानाकर्षण गराइएको उनको भनाइ छ ।
प्रतिक्रिया 4