
काठमाडौं । फिडेल देवकोटा निर्देशित फिल्म ‘द रेड सुट्केस’ले नेपाल प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको छ । वरिष्ठ निर्देशक नीर शाहले अडियोग्राफी विधामा यो फिल्म फिल्महरुमध्येकै उत्कृष्ट रहेको बताए ।
मंगलबार बेलुका सीडीसी सिनेमाजमा आयोजित भव्य प्रिमियरमा फिल्ममेकर, सेलिब्रेटी, प्राज्ञिक क्षेत्रका व्यक्तिको खचाखच उपस्थिति रह्यो । शाहसहित प्रा. डा. केदारभक्त माथेमा, सांसद रघुजी पन्त, मिरुना मगर, विप्लव प्रतीक, विपिन कार्की, मीन भाम, प्रवीण खतिवडा लगायत सहभागी भए ।
नयाँपुस्ताका फिल्ममेकरको बाक्लो उपस्थिति प्रिमियरमा देखियो । ‘यो फिल्म हरेक कोणमा उत्कृष्ट छ । सिनेम्याटोग्राफी र अडियोग्राफी झनै उत्कृष्ट । अडियोग्राफीको दृष्टिकोणमा फिल्महरुमध्येकै उत्कृष्ट फिल्म हो,’ शाहले भने, ‘युनिभर्सल मापदण्डमा अडियोग्राफीको काम भएको छ ।’
शाहले भने, ‘यति राम्रो साउण्ड वर्क प्रायः हामीले फिल्ममा हेर्न पाउँदैनौं । नेपाली फिल्ममा त बहुत कम हेर्न पाउँछौं । अभिनय जीवन्त छ, कलाकारले पात्रलाई न्याय गर्नुभएको छ ।’ यस्तो फिल्मलाई प्रश्रय दिनुपर्ने भन्दै शाहले नेपाली फिल्मको मापदण्डलाई माथि लैजान यो फिल्मले भूमिका खेल्ने बताए ।
एमाले सांसद रघुजी पन्तले ‘ऐना झ्यालको पुतली’का निर्माताको नयाँ फिल्म सुन्दर बनेको प्रतिक्रिया दिए । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको या फिल्म संसारका चर्चित फेस्टिभलको चक्र पूरा गरेपछि नेपालमा रिलिज हुन लागेको हो । आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेको यो फिल्मलाई अमेरिकी टेलिभिजन एचबीओले गत साता १६ युरोपेली मुलुकको ओटीटी राइटको लागि खरिद गरेको छ ।
तस्वीरहरु
प्रतिक्रिया 4