
काठमाडौं । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरूबाट प्रवद्र्धित नेपाल क्लियरिङ हाउस लिमिटेडले अमेरिकाको एक्सयूएनओ र ठमेल रेमिट मार्फत ‘क्रस बोर्डर रिक्वेस्ट टु पे’ सेवा सुरु गरेको छ ।
एनसीएचएलद्वारा सञ्चालित मल्टि बैंकिङ प्ल्याट्फर्म कनेक्ट आईपीपएसमा थप सेवाको रुपमा यो सेवा सुचारु गरिएको हो ।
यो सेवा एक पृथक खालको मेसेजिङ सोलुसन हो, जसबाट नेपालका ग्राहकले संयुक्त राज्य अमेरिकामा रहेका भुक्तानीकर्ता व्यक्ति, व्यवसाय वा संस्थासँग सजिलै भुक्तानी रिक्वेस्ट पठाउन र भुक्तानी प्राप्त गर्न सक्ने छन् ।
यसरी नेपालको राष्ट्रिय स्तरको भुक्तानी पूर्वाधारमा क्रस बोर्डर रिक्वेस्ट टु पेलाई एक्सयूएनओसँग इन्टिग्रेट गरी अमेरिकामा रहेको नियो बैंकिङ नेटवर्कमा रहेका बैंकहरूबाट भुक्तानी प्राप्त गर्न सकिने सेवाको थालनी गर्ने एनसीएचएल र एक्सयूएनओ पहिलो संस्था बनेको छ ।
रिभर्स रेमिटेन्स सुविधाको रुपमा रहेको यस सेवा मार्फत् नेपालका लाभग्राहीहरूले अमेरिकाका भुक्तानीकर्तालाई भुक्तानी अनुरोध पठाउन र कनेक्टआईपीएस प्ल्याट्फर्म मार्फत नेपालमा तोकिएको बैंक खातामा रियल टाइममा भुक्तानी प्राप्त गर्न सक्ने छन् ।
यो सुविधा रियल टाइम क्रस बोर्डर रेमिटको क्षेत्रमा एक महत्वपूर्ण कोषेढुंगा सावित हुने विश्वास दुवै संस्थाले लिएको छ ।
एनसीएचएलको एनपीआईमा समेत उपलब्ध उक्त सेवालाई सम्बन्धित मोबाइल बैंकिङ तथा वालेटमा समेत क्रमिक रुपमा विस्तार गरिने क्लियरिङ हाउसले जनाएको छ ।
प्रविधि र कनेक्टिभिटीको पहुँच भए पनि अन्तर्राष्ट्रिय बैंकहरूबाट भुक्तानी रियल टाइममा गर्न नसकिरहेको अवस्थामा यो साझेदारीले नेपालको भुक्तानी प्रणालीलाई विश्व बजारको भुक्तानी प्रणालीहरुसँग तथा नेपाललाई विश्वव्यापी अर्थतन्त्रमा जोडी लाभग्रालाई प्रत्यक्ष रूपमा सबलीकरण गर्न सकिने एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले बताए ।
एक्सयूएनओको आर२पीएक्स रकम पठाउने र प्राप्त गर्ने बैंकहरूबीच प्रत्यक्ष रियल–टाइम कनेक्सन स्थापना गरी लाभग्राहीले इच्छाइएको रकम, भुक्तानीको उद्देश्य र प्राप्त गर्ने बैंकको जानकारी जस्ता विवरणहरू दाखिला गरी सजिलैसँग भुक्तानीको रिक्वेस्ट पठाउन र सो बापत बैंक खातामा भुक्तानी प्राप्त गर्न सक्ने एनसीएचएलले जनाएको छ ।
उत्कृष्ट श्रेणीको प्रविधि मार्फत् भुक्तानी तथा बैंकिङ क्षेत्रमा आमूल परिवर्तन गर्न प्रतिबद्ध रहेकोमा एनसीएचएलसँगको यस सहकार्यले आफूहरूलाई थप उत्साहित बनाएको एक्सयूएनओका संस्थापक बालकृष्ण जोशीले बताए । यो सहकार्यले नेपाललाई क्रस–बोर्डर पेमेन्टसँगै बोर्डरलेस अर्थतन्त्रमा पनि फड्को मार्न मद्दत गर्ने विश्वास उनको छ ।
‘क्रस बोर्डर रिक्वेस्ट टु पे’ ले कसरी सहयोग गर्छ ?
- यसले ग्राहक पहिचान (केवाईसी), एन्टी–मनी लन्डरिङ (एएमएल), लाभग्राहीको स्वीकृति र प्राप्त खाताहरूको अनुपालन र पारदर्शिता सुनिश्चित गर्न सहयोग गर्दछ ।
- वित्तीय संस्थाहरू बीचको प्रत्यक्ष पहुँच कायम गरी मध्यस्तकर्ताको भूमिका कम गर्न र भुक्तानी रकम सिधै बैंक खाताबाट जम्मा हुने हुँदा लागत निकै कम हुन्छ ।
- लाभग्राहीहरूले डिजिटल माध्यमबाट भुक्तानी अनुरोध गर्न र सिधै आफ्नो बैंक खातामा रकम प्राप्त गर्ने हुँदा प्रक्रिया निकै सरल हुन्छ । हालका लागि ग्राहकले कनेक्ट आईपीएसबाट भुक्तानी अनुरोध गर्ने व्यवस्था रहेकोमा एनपीआई मार्फत कुनै पनि वालेट र मोबाइल बैंकिङले समेत उक्त आर२पीएक्स जोड्न सक्नेछन् । भुक्तानीकर्ता र लाभग्राहीहरूले रियल टाइममा रिक्वेस्ट र भुक्तानीको स्थिति ट्रयाक गर्न सक्छन् ।
- आर२पीएक्सले युनिक प्राइमरी आइडेन्टीफायर (पीआईडी) वा भर्चुअल पेमेन्ट एड्रेस (भीपीए) प्रयोग गर्ने भएकोले रिक्वेस्ट पठाउने र पाउनेको सम्पूर्ण विवरण सिस्टममा उपलब्ध गर्न आवश्यक रहँदैन । साथै सम्पूर्ण जानकारीमा इन्क्रिप्सन प्रविधिको प्रयोगले सम्पूर्ण भुक्तानी प्रक्रिया सुरक्षित र डाटाको गोपनीयताको ग्यारेन्टी गर्दछ ।
प्रतिक्रिया 4