+
+

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारीका लागि विज्ञापन खुल्छ, भर्ना लिइँदैन

विगतमा खुलाइएका विज्ञापनहरुको परीक्षा सन्चालन नगर्ने, आवेदन दस्तुर पनि फिर्ता नदिने तर पटक–पटक नयाँ विज्ञापन खुलाउने गरेको भन्दै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको आलोचना भइरहेको छ ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० चैत २९ गते ८:२०

२९ चैत, जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले मातहतको प्रदेशिक अस्पताल जनकपुरको कर्मचारीको लागि १ साउन २०७९ मा विज्ञापन खुलायो । मेडिकल अंकोलोजिस्ट (नवौं तह) देखि कार्यालय सहयोगीसम्म ३५ पदमा ५० जना कर्मचारीको लागि आवेदन मागेको थियो । १५ सयभन्दा बढीले आवेदन दिए । आवेदन दस्तु १५ सयदेखि ५ सय रुपैयाँसम्म थियो ।

केही पदमा भर्ना लिइयो । तर एचए, कम्प्युटर अपरेटर, कार्यालय सहयोगी जस्ता पदमा भर्ना नै लिइएन । चुनावको आचारसंहिता लागेपछि त्यसबेला केही पदमा भर्ना रोकिएको प्रतिष्ठानका रजिस्टार डा. विनोद यादव बताउँछन् ।

तर अहिलेसम्म त्यसको भर्ना लिइएको छैन । नत प्रतिष्ठानले उम्मेदवारको दस्तुर नै फिर्ता गरेको छ । ‘विज्ञापन खुलाएपछि भर्ना लिनुपर्थ्यो, कि त दस्तुर फिर्ता गर्नुपर्थ्यो । तर केही गरेन । विज्ञापन खोलाएर हामी जस्ता वेरोजगारलाई थप लुट्नेकाम मात्रै प्रतिष्ठानले गर्यो’ कार्यालय सहयोगीमा दरखास्त दिएका धनुषाको हंसपुर नगरपालिका–६ का २७ वर्षीय परमेश्वर मण्डल गुनासो गर्छन् ।

त्यो विज्ञापनका बाँकी पदमा भर्ना नलिँदै प्रतिष्ठानले एक वर्षपछि १० असोज २०८० मा फेरि अर्को करार सेवाका लागि दुईवटा विज्ञापन आह्वान गरेको थियो ।

अस्पतालका कन्सल्ट्यान्ट चिकित्सक, चिकित्सक, मेडिकल ल्याब टेक्निसियन, स्टाफ नर्स, कम्प्युटर इन्जिनियर, कानुन अधिकृत लगायत विभिन्न पदमा ६५ जना कर्मचारीका लागि विज्ञापन खुलेको सूचना प्रकाशित गरेको थियो । आवेदन दस्तुर ५ सय रुपैयाँदेखि १५ सयरुपैयाँसम्म तोकिएको थियो ।

रजिस्ट्रार यादवका अनुसार यी दुई विज्ञापनमा करिब ३ सय जनाले दरखास्त दिएका छन् । यो विज्ञापनको भर्ना पनि हलासम्म लिइएको छैन ।

त्यसबेला प्रतिष्ठान उपकुलपति विहीन हुँदा मुख्यमन्त्री कार्यालयले दीर्घकालीन असर पर्ने काम नगर्न पत्र पठाएपछि भर्ना रोकिएको तत्कालीन डीन एवम् वर्तमान उपकुलपति डा. अंकुर साह बताउँछन् ।

२५ चैतमा फेरि प्रतिष्ठानले प्रादेशिक अस्पताल जनकपुरका लागि विगतको झैं विभिन्न पदमा ७६ जना कर्मचारीका लागि विज्ञापन खुलाएको छ । आवेदन दिने म्याद आगामी १ वैशाखसम्म छ । यो विज्ञापनमा पनि आवेदन दस्तुर ५ सय रुपैयाँदेखि १५ सयसम्म तोकिएको छ ।

विगतमा गरेका विज्ञापनहरुको भर्ना नलिएर फेरि नयाँ विज्ञापन गरेको भन्दै प्रतिष्ठानको आलोचना भइरहेको छ । बेरोजगारबाट पटक-पटक दस्तुर लिएर फारम भराउने, तर भर्ना नलिएर थप पीडित बनाउने काम प्रतिष्ठानले गरिरहेको स्थानीयको गुनासो छ ।

२०७९ साउनकै विज्ञापनमा एचए पदमा दरखास्त दिएका धनुषाको शहीदनगर नगरपालिका ८ विसरभोराका विवेक यादवले विगतमा गरेको विज्ञापनको भर्ना नलिएर पछि अन्य विज्ञापन खुलाउनु प्रतिष्ठानले गलत गरेको गुनासो गरे ।

‘मात्र विज्ञापन गर्ने काम मात्र प्रतिष्ठानले गरिरहेको छ । विगतमा गरेको विज्ञापनको पहिला भर्ना लिनुपर्थ्यो नि !’ उनी भन्छन् ‘अहिले फेरि विज्ञापन गरेछ । भर्ना कहिले लिने निश्चित छैन । यसरी ठग्ने काम ठीक होइन ।’

२५ जेठमा प्रतिष्ठानका तत्कालीन उपकुलपति डा. रामकेवल साहको निधन भएपछि मुख्यमन्त्री सरोज कुमार यादवले रिक्त पदमा डा. अंकुर साहलाई नियुक्त गरेका थिए । नवनियुक्त उपकुलपति साहले विगतमा भएका विज्ञापन अनुसार यसपटक सबैको भर्ना लिने बताए । ‘विगतमा भएका विज्ञापन निरन्तर रहन्छ । विगतका दरखास्तकर्ताले फेरि भर्नु पर्दैन । यसअघि भएको विज्ञापनको लागि छुटेकाहरुका लागि मात्र एक हप्ता समय थप गरेर विज्ञापन गरिएको हो, यसपालि विगतमा छुटेका सबै विज्ञापनको भर्ना हुन्छ,’ उनले भने ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?