+
+

इलाम २ : दलहरूको ध्यान डिजिटल प्रचारमा

सुदिप श्रेष्ठ सुदिप श्रेष्ठ
२०८० चैत २९ गते १४:१९
एआई सिर्जित तस्वीर ।

२९ चैत, इलाम । उपनिर्वाचनलाई लक्षित गरेर मुख्य प्रतिस्पर्धी दलहरूले मिडिया र सामाजिक सञ्जालमा आफ्नो बाक्लो उपस्थिति जनाएका छन् । वैशाख १५ गते हुने उपनिर्वाचनलाई लक्षित गरेर भिडियो र फोटो सन्देशलाई सामाजिक सञ्जालमा प्रकाशन, प्रशारण गर्ने क्रमलाई दलहरूले आक्रामक बनाएका हुन् ।

भावनात्मक रुपमा प्रभावित पार्ने प्रकारका भिडियो सन्देशलाई दलहरूले प्राथमिकतामा राखेका छन् । वृद्धवृद्धा, महिला र युवाले दलहरूका पक्षमा मतदान गर्ने आशयका साथ बनाइएका भिडियो सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन् । यसरी सबै दल र स्वतन्त्र उम्मेदवारहरूले सामाजिक सञ्जाललाई व्यापक उपयोग गरिरहेका छन् । चुनाव लक्षित प्रचार सामग्री प्रशारण तथा प्रशारण गर्नका लागि जिल्ला, स्थानीय तह लगायतका नाममा पार्टीको फेसबुक प्रोफाइल खोलेर प्रचारलाई आक्रमक बनाइएको छ ।

दलका समर्थक गायक तथा कविहरूले उम्मेदवारको पक्षमा कविता वाचन गरेर, गीत गाएर मत मागेको भिडियो कार्यकर्ताहरूले अधिक पोस्ट र शेयर गर्ने गरेका छन् । धेरै फलोवर्स भएका युट्युब च्यानल र फेसबुक पेजलाई पैसा तिरेर पनि दलहरूले हातहातसम्म सन्देश पुर्‍याइरहेका छन् ।

यसरी इन्टरनेटको बढ्दो पहुँच र सामाजिक सञ्जालको लोकप्रियतालाई ‘क्यास’ गर्ने अभियानमा दलहरू लागिपरेका छन् । हालसम्म दल र कार्यकर्ताहरूले एआई तथा डिपफेकको प्रयोग गरिएको नपाइए पनि चुनौती भने उत्तिकै छ । तर विगतका चुनावमा अन्य निर्वाचन क्षेत्रमा खिचिएका सन्दर्भ मिल्ने प्रकृतिका फोटो र भिडियोलाई प्रशारण गरेर भ्रम छर्ने काम भने भइरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना कार्यक्रम फेसबुक लाइभ गरिरहेका छन् । केन्द्रकै निर्देशनमा डिजिटल क्याम्पेन युनिट गठन गरेर दलहरू आफ्नो प्रचारप्रसारमा लागेका छन् । इन्टरनेट र सामाजिक सञ्जालमा ज्ञान भएका युवा पुस्ताले क्याम्पेनका युनिट सम्हालेका छन् ।

सहमहामन्त्री विपिनकुमार आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टीको डिजिटल क्याम्पेन टोलीको नेतृत्व गरेका छन् । रास्वपाको अभियान विभाग प्रमुख नै आचार्य छन् । आर्चायले भने, ‘हामीले कन्टेन्ट क्रिएसनको काम फिल्डबाट गरिरहेका छौं । पोस्ट प्रोडक्सनको काम कतिपय इलामबाट र अधिकांश काठमाडौंबाट भइरहेको छ ।’

प्रेस चौतारीका उपाध्यक्ष राजेश राईको नेतृत्वमा परिचालन भएको टोलीले नेकपा एमालेको ‘मिडिया क्याम्पेन’को जिम्मा पाएको छ । एमालेले इलाममा छुट्टै मिडिया डेक्स स्थापना गरेको छ ।

एमाले इलामका सचिव उमेश गुरुङले केन्द्रबाट अएका र स्थानीय विषय विज्ञले डिजिटल क्याम्पेन सम्हालेको बताए । उनले भने, ‘हाम्रो ‘टीम बालकोट’ले नै समाजिक सञ्जाल र मिडिया हेरिरहेको छ ।’

नेपाली कांग्रेसको केन्द्रीय उपनिर्वाचन परिचालन समितिले इलाममा डिजिटल क्याम्पेनिङ गरिरहको छ । समितिले खटाएर केन्द्रबाट इलाम आएका आईटीविज्ञ र सोसियल प्ल्याटफर्म विज्ञहरूको टोलीले स्थानीय नेता तथा कांग्रेस उपाध्यक्ष खगेन्द्र देवानसँग रहेर सामाजिक सञ्जालमा प्रचार गरिरहेको छ ।

कांग्रेसको डिजिटल प्रचारका लागि व्यावसायिक फोटो तथा भिडियोग्राफर खटिएका छन् । कांग्रेस केन्द्रीय प्रचार विभाग प्रमुख मीन विश्वकर्माले व्यावसायिक व्यक्तिलाई साथ लिएर इलाम २ मा प्रचार गरिरहेको बताए । उनले भने, ‘डिजिटल प्रचारका लागि आवश्यक पर्ने सबै सामग्री उहाँहरूले नै तयार गरिरहनु भएको छ ।’

इलाम २ को उपनिर्वाचनमा पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिं लिम्बु थेगिमलाई जिताउन पनि मिडिया युनिट खडा गरिएको छ । ४१ वटा पहिचान पक्षघर घटकले सामाजिक सञ्जालको प्रयोग गरेर प्रचार, प्रसार गरिरहेका छन् ।

धरानका मेयर हर्क साङपाङ थेगिमलाई जिताउन लागिरहेका छन् । उनले पनि सामाजिक सञ्जालकै सहारा लिएका छन् । थेगिमका छोरा– गायक एकदेव लिम्बु अष्ट्रेलिया गायन टुर स्थगित गरेर बुबाको चुनावी प्रचारमा आउने फेसबुकमार्फत बताएका छन् । लिम्बुका फेसबुक फलोवर्स ३ लाख ८० हजार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?