
२८ चैत, काठमाडौं । गएको वर्ष २०७९ लाई सेयर बजार १९३४ अंकले बिदाइ गरेकोमा २०८० लाई भने २०२५ अंकले बिदाइ गर्यो । एक वर्ष लामो अवधिमा पनि सेयर बजार जम्मा ४.७ प्रतिशत मात्रै बढ्यो । यो वृद्धिदरमा पनि नयाँ कम्पनीको मूल्यवृद्धिले नै योगदान पुग्यो ।
यो वर्ष नेप्से २२२७ अंकभन्दा माथि जानै सकेन । साउन ७ मा नेप्से २२२७ अंकसम्म पुगेको थियो भने त्यसको एक महिनाअघि १ जेठमा न्यूनतम १८१८ अंकसम्म झरेको थियो ।
फेरिएका केही नीतिगत व्यवस्था
२०७९ सालमा लिइएका कसिला नीतिगत व्यवस्था २०८० मा केही सहज बनाएजस्तो गरियो । खासगरी ठूलो सेयर धितो कर्जामा जोखिमभार १ सय ५० प्रतिशत कायम गरिएकोमा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा त्यसलाई १ सय २५ मा झारियो, जुन हाल कायम छ ।
त्यस्तै सेयर धितो कर्जामा जाने रकम व्यक्तिलाई १२ करोड रहेकोमा असोजमा निर्देशन मार्फत बढाएर १५ करोड कायम गरियो भने संस्थालाई १५ करोडबाट २० करोड पुर्याइयो । २०७९ को तुलनामा सहज, तर समग्रमा कसिलो नीति कायमै रह्यो ।
२० कात्तिकमा नेपाल धितोपत्र बोर्डले म्युचुअल फन्डहरूलाई निर्देशन जारी गर्दै आईपीओ निष्कासनमा पाउने ५ प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन भएको ६ महिनासम्म बेच्न नपाउने व्यवस्था गर्यो ।
यसले आईपीओ सूचीकृतपछि म्युचुअल फन्डबाट बजार आउन सक्ने आपूर्ति ६ महिनासम्म नियन्त्रण गर्यो ।
सूचीकृत कम्पनीले ‘लकइन’ मा रहेको सेयर त्यो खुल्नुभन्दा ३० दिनअघि नै लगानीकर्ता र सरोकारवालालाई सूचना जारी गरेर जानकारी गराउनुपर्ने व्यवस्था मंसिरमा गरियो । जुन व्यवस्था हाल लागु भइरहेको छ ।
नयाँ स्टक एक्स्चेन्ज खोल्ने/नखोल्ने विषय यो वर्ष विवादित बन्यो । त्यस्तै ब्रोकर कमिसन घटाउन धितोपत्र बोर्डले अर्थ मन्त्रालयमा पठाएको प्रस्ताव, साना तथा मझौला कम्पनीको कारोबारका लागि छुट्टै प्ल्याटफर्म तयार गर्ने सम्बन्धी नियमावलीको मस्यौदा अर्थमै अड्किएको छ ।
उत्पादन र होटल समूहमा किन देखियो उत्साह ?
यो वर्ष होटल तथा पर्यटन समूह र उत्पादन समूहमा उत्साह देखियो । होटल तथा पर्यटन समूह यो वर्ष ५३ प्रतिशतले बढेको छ । पर्यटक संख्या बढ्नु र यस क्षेत्रका कम्पनीको वित्तीय स्थिति सबल देखिँदा पर्यटन क्षेत्रमा २०८० मा उत्साह देखियो ।
त्यस्तै होटल तथा पर्यटन समूहमा जम्मा ६ कम्पनी सूचीकृत छन् । थोरै कम्पनी संख्या र उनीहरूको पूूँजी पनि न्यून रहेकाले समग्र समूहको सेयर आपूर्ति नियन्त्रित छ, जसले गर्दा यो समूहको सूचक उल्लेख्य बढ्यो ।
त्यस्तै उत्पादन समूहमा पनि जम्मा नौ कम्पनी सूचीकृत छन्, जसमध्ये सर्वोत्तम, घोराही र सोनापुर सिमेन्ट कम्पनी यो वर्षमै थपिएका हुन् । थपिएका यी तीनै कम्पनीको मूल्य बढ्नुले पनि यस समूहलाई बढ्न टेवा पुग्यो ।
अर्कातर्फ, बोटलर्स नेपाल बालाजुको लामो समयसम्म मूल्य प्रतिसेयर नेटवर्थभन्दा तल रहँदा कारोबार भएको थिएन । तर यो वर्ष उसको कारोबार पनि विगतभन्दा उल्लेख्य भयो भने मूल्य पनि बढ्यो । यो समूहमा पनि सीमित कम्पनी र न्यून पूँजीका कम्पनी हुँदा आपूर्ति धेरै हदसम्म सन्तुलित छ ।
खराब स्थितिमा बैंकिङ
यो वर्ष बैंकिङ समूह सबैभन्दा खराब स्थितिमा देखियो । यो समूह १५.५५ प्रतिशत घट्यो । सबैजसो बैंकको मूल्य यो वर्ष घटेको छ । सेयर संख्या उच्च रहँदा पनि वर्षेनि बोनस सेयर थपिँदै जानुले बैंकिङ समूहका कम्पनीका सेयर मूल्य घट्दै गएको देखिन्छ ।
फागुन मसान्तसम्म वाणिज्य बैंकहरूको मात्रै कुल ३ अर्ब ९७ करोड ९५ लाख कित्ता सेयर सूचीकृत छ । बजारको कुल पूँजीकरण ३२ खर्ब १२ अर्ब रुपैयाँ रहेकोमा वाणिज्य बैंकहरूको ‘बैंकिङ’ समूहको मात्रै ८ खर्ब ७२ अर्ब छ । अर्थात्, कुल पूँजीकरणमा बैंकिङ समूहको हिस्सा मात्रै २७ प्रतिशत छ ।
पूँजीकरणका आधारमा यो समूह सबैभन्दा बलियो छ । यही समूह नै थलिएपछि समग्र सेयर बजार नेप्से पनि बढ्न सकेन । २३ चैतमा यो समूह ४५ महिनायताकै न्यूनतम बिन्दु १०५० अंकमा झरेको थियो । हाल भने १०५९ अंकमा अडिएको छ ।
२०८० मा बजारमा थपिएका कम्पनी
२०८० सालमा बजारमा ३१ कम्पनी सूचीकृत भएका छन् । तीमध्ये तीन वटा उत्पादन र चार अन्य समूहका छन् । त्यस्तै एउटा होटल तथा पर्यटन समूह, एउटा लगानी र १८ हाइड्रोपावर कम्पनी छन् ।
प्रतिक्रिया 4