
काठमाडौं । दिनेश राउत निर्देशित सोसल-ड्रामा फिल्म ‘पुजार सार्की’को अर्थपूर्ण टीजर सार्वजनिक भएको छ । १ मिनेट १४ सेकेण्ड लामो टीजरले दुई इभेन्टमार्फत फिल्मबारे दर्शाउने प्रयत्न गरेको छ ।
पहिलो इभेन्टमा पात्रहरु नाचगानसहित रमाइलो गर्दैछन् । यो दृश्यांशमा प्रदीप खड्का बाजा बजाउँदैछन् भने आर्यन बाजाको तालमा छमछमी नाच्दै छन् । त्यो भीडमा परीक्षा लिम्बु र अञ्जना बराइलीसँग उनीहरुको देखादेख हुन्छ ।
त्यसपछि चित्रण गरिएको दोस्रो इभेन्टमा आर्यन र प्रदीपको पात्रलाई पल शाहसहितका गाउँलेले ढुंगामुढासहित लखेटेको, रगताम्मे हुने गरि कुटपिट गरेको देख्न सकिन्छ । टीजरको अन्त्यमा फिल्मले प्रश्न सोधेको छ- पुजार, के शास्त्र पढे बाहुन भइन्छ ?
फिल्मले मुलुकको महत्वपूर्ण राजनीतिक घटनाक्रमलाई सेटिङ बनाएको छ । २०४६ साल फागुन ५ गतेको अवधिलाई दर्शाइएको फिल्मको पृष्ठभूमि प्रजातन्त्र पुनस्र्थापनाको लागि भएको जनआन्दोलनको छेकोमा बुनिएको छ ।
२०४६ साल फागुन ७ देखि चैत २६ सम्म चलेको जनआन्दोलनले निर्दलिय पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुनर्बाहली गरेको थियो । टीजरले जातिय विभेदविरुद्ध हुने संघर्ष र लडाइलाई दर्शाएको छ । साथै, चरित्र चित्रणमा पनि यसले केही महत्वपूर्ण खुलासा गरेको छ ।
आर्यन पुजारी र प्रदीप मैतबहादुरको रोलमा छन् । आर्यन एक दृश्यमा भुइँमा लडेर माफी मागिरहेको रुपमा देखिन्छन् । जब प्रदीपले बाजा बजाउँदै गर्दा परिक्षालाई देख्छन्, त्यसपछि उनको मुड र चरित्रमा बदलाव देखिन्छ । पलले बन्दुक पड्काउँदै लखेटेको दृश्य देखिन्छ ।
फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ । यो फिल्मलाई विकास सुवेदीले लेखेका छन् । संगीतकार समेत रहेका सुवास भुषाल निर्माता हुन् । किङ्गडम नेटवर्कको ब्यानरमा फिल्मको निर्माण भएको हो । ‘पुजार सार्की’को प्रदर्शन जेठ १० गतेदेखि हुँदैछ ।
प्रतिक्रिया 4