
३० चैत, काठमाडौं । पार्टी प्रमुख सहित उपल्लो तहका नेताहरू सरकारमा सहभागी हुँदा दलको आन्तरिक सांगठनिक गतिविधिमा असर गर्ने बहस बेलाबेला उठ्ने गर्छ । वर्तमान सरकारमा पार्टी प्रमुखसहित शीर्ष तहका नेताहरू सहभागी हुनेमा अरू दलभन्दा राष्ट्रिय स्वतन्त्र पार्टी अघि छ ।
सभापति रवि लामिछानले गृह, उपसभापति डीपी अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा, सह-महामन्त्री सुमना श्रेष्ठले शिक्षा विज्ञान तथा प्रविधि र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद मन्त्रालय सम्हालेका छन् । पार्टीको उपल्लो तहको भूमिकामा रहेका नेताहरू सरकारमा सहभागी हुँदा पार्टीको आन्तरिक जीवनमा प्रभाव पारेको हुन्छ । पार्टी गतिविधि एवं संगठन विस्तारमा कमी आउन सक्छन् ।
रास्वपाका महामन्त्री मुकुल ढकालको दाबीअनुुसार शीर्ष तहका नेताहरू सरकारमा सहभागी हुँदा दलको आन्तरिक गतिविधिमा कुनै प्रभाव परेको छैन । ‘सरकारमा सहभागी नेताहरू पार्टीका काममा लाग्नु हुन्न भन्ने नै हाम्रो मान्यता हो,’ ढकाल भन्छन्, ‘पार्टी जुन रूपले चल्नुपर्ने थियो, सरकारमा गए पनि त्यहीअनुसार चलेको छ ।’
सरकारमा सहभागी भएपछि सभापति लामिछाने, उपसभापति अर्याल, संसदीय दलको उपनेता श्रेष्ठ र सहमहामन्त्री श्रेष्ठको नियमित पार्टी कार्यालय जाने क्रम घटेको छ । पार्टीको शीर्ष तहको जिम्मेवारीमा रहेका चार जना सरकारमा सहभागी भए पनि पार्टीको दैनन्दिनका कार्यमा प्रभावित नभएको सह-प्रवक्ता मनिष झा दाबी गर्छन् ।
‘संस्थापन कालदेखि पार्टीका काममा लागेका केही नेताहरू पहिलेकै अनुसार आफ्नो कार्यमा संलग्न हुनुहुन्छ,’ झा भन्छन्,‘कार्य विभाजन भएको छ । सरकारमा जाँदा पाटीको काममा असर पर्दैन ।’
रास्वपाले मन्त्रीहरुको कार्यलाई प्रभावकारी बनाउने र उपनिर्वाचनमा केन्द्रित हुने गरी पार्टी शक्ति परिचालित गरेको छ । ‘सरकारमा नगएको भए पनि अहिले पार्टी चुनाव केन्द्रीत हुने थियो । सरकारमा गएपनि चुनाव केन्द्रीत हुनै पर्यो,’ ढकाल भन्छन् । पार्टी सरकार जाँदा संगठन विस्तार, पार्टीले आयोजना गर्ने कार्यक्रम लगायतमा असर नगरेको ढकाल दाबी गर्छन् ।
पार्टी–मन्त्री समन्वय
पार्टी र मन्त्रीको प्रत्येक सोमबार छलफल गर्ने नयाँ ढाँचा रास्वपाले अख्तियार गरेको छ । पार्टीबाट सहभागी चार मन्त्रीसँग पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री ढकाल र नेता शिशिर खनालले प्रत्येक सोमबार बिहान छलफल गर्ने गरी कार्यतालिका बनाइएको छ । उक्त बैठकमा मन्त्रीहरूले आफूहरूले गरेका कार्यको व्रिफिङ गर्नेछन् भने प्राथमिकता तोकिएका विषयमा छलफल हुनेछ ।
पार्टीको शक्तिलाई तीन क्षेत्रमा विभाजित गरी मन्त्रालय, संसद् र पार्टीका कार्यमा लगाउने गरिएको रास्वपाले जनाएको छ । ‘चार जना मन्त्रीसँग नियमति अब छलफल गर्छौं । हामीले सम्हालेका मन्त्रालयमा प्रभावकारी कार्य गर्नका लागि पार्टीसँगको छलफल राखेका हौं,’ महामन्त्री ढकालले भने ।
पार्टीले सम्हालेका मन्त्रालय प्रभावकारी बनाउन पार्टी र मन्त्रालयको समन्वय गर्न चार नेतालाई संयोजक तोकिएको छ । संयोजन समितिमा केन्द्रीय नेताहरु सहितको १२ जनाको टोली हुने रास्वपाले जनाएको छ । चार मन्त्रालयलाई प्रभावकारी बनाउन केन्द्रीय तहका नेता देखि कार्यकर्ता गरी तीन दर्जन बढी व्यक्ति खटिएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पार्टीबाट समन्वय गर्ने गरी केन्द्रीय सदस्य गणेश कार्की, सांसद गणेश पराजुली श्रम, रोजगार तथा सामाजिक सुरक्षा, सांसद असिम शाह युवा तथा खेलकुद र सह प्रवक्ता प्रतिभा रावललाई गृह मन्त्रालयमा समन्वय गर्ने गरी संयोजक तोकिएको छ । ‘मन्त्रीलाई सुझाव दिने र सघाउने गरी यो अवधारणा ल्याइएको हो,’ केन्द्रीय सदस्य पराजुलीले अनलाइनखबरसँग भने,‘मन्त्रालयलाई सहज हुने गरी सुझाव सल्लाह दिने कार्य हुन्छ ।’ चार संयोजकले फरक फरक चार दिन नियमित बैठक गर्ने रास्वपाले जनाएको छ ।
गृहमन्त्री लामिछानेलाई पार्टीबाट समन्वय गर्ने गरी प्रतिभा रावललाई जिम्मेवारी दिइएको छ । उनी सहप्रवक्ता समेत हुन् । सांसद चन्दा कार्की र विन्दबासिनी कंशाकार छन् । रास्वपा स्रोतका अनुसार गृहमन्त्री लामिछानेका काममा सुल्लाह सुझाव र सघाउने गरि पाँच विज्ञ पनि राखिएको छ । उनीहरुको इच्छा अनुसार नाम सार्वजनिक नगरिएको रास्वपा स्रोतले जानकारी गराएको छ ।
शिक्षा मन्त्रीलाई सघाउने गरी संयोजक बनेका कार्कीको टीममा नेताहरू कविन्द्र बुर्लाकोटी, डा. तोसिमा कार्की, हरि ढकाल, विनिता कठायत, डा. प्रभात अधिकारी र पुकार बम र विशाल अधिकारी छन् । शिक्षा मन्त्रीका कार्यमा सघाउने गरी थप व्यक्तिहरूमा डा. रामहरि लामिछाने र आकृति घिमिरे छन् ।
श्रम मन्त्री अर्यालका लागि पार्टीबाट संयोजन गर्ने सांसद गणेश पराजुली तोकिएका छन् । उनको टीममा पार्टीबाट नै खटिएका थप व्यक्तिहरुमा सोबिता गौतम, मनिष झा, कमल सुवेदी, केशव राणा, ज्वाला संग्रौला, कामिनी चौधरी, क्रान्तिशिखा धिताल छन् ।
युवा तथा खेलकुद मन्त्री श्रेष्ठका कामलाई प्रभावकारी बनाउन पार्टीबाट समन्वय गर्ने गरी असीम शाह तोकिएको छ । शाहको टोलीमा कविन्द्र बुर्लाकोटी, प्रदीप ज्ञवाली, निशा डाँगी, पुरुषोत्तम पोखरेल, अच्युत्तम लामिछाने, शंकर श्रेष्ठ, शिव नेपाली लगायत छन् ।
सरकारी मोर्चामा प्रभावी देखिन प्रयासरत रास्वपा इलाम–२ मा हुने उपनिर्वाचनमा पार्टी शक्ति खन्याउँदै छ । सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई चुनावी कमाण्डर बनाइएको छ । उनी उम्मेदवारी दर्ता अघि देखि नै क्षेत्रमा केन्द्रित छन् । इलाम–२ मा सभापति लामिछाने, उपसभापतिद्वव वाग्ले र अर्याल, संसदीय दलका उपनेता विराजभक्त एक चरण चुनावी क्षेत्रमा पुगेर फर्किएका छन् । उपसभापति वाग्ले शुक्रबार पुनः इलाम गएका छन् ।
अन्योलमा दबाब यात्रा
२१ विकास आयोजनाका निर्माण कार्यमा भइरहेका ढिलासुस्ती हटाउने उद्धेश्यले दबाब यात्रा तय गरिएको थियो । २१ माघ देखि २१ नेताले पदयात्रा गर्ने गरी सूची तयार गरिएको थियो । रास्वपाका अनुसार हालसम्म तिन वटा आयोजनामा मात्रै दबाब यात्रा भएको छ । सरकारमा सहभागी भएपछि दबाब यात्रा स्थगित गरिएको छ । दबाब यात्रा कुन रुपमा गर्ने/नगर्ने अन्योलमा रास्वपा छ । ‘अब त के को दबाब अभियान? अब त गर्ने अभियान हो,’ महामन्त्री ढकालले भने ।
२१ माघमा मेलम्ची आयोजनाका लागि सिन्धुपाल्चोक–काठमाडौं दबाब यात्रा गरिएको थियो । २१ आयोजना छनोट गर्नुअघि सभापति लामिछानेको नेतृत्वमा नारायणगढ–बुटवल सडक खण्डमा दबाब यात्रा गरिएको थियो ।
चुनावले कर्णाली विशेष अभियान ओझेलमा
६ फागुनमा सचिवालय बैठक कर्णालीका सबै पार्टी संरचना विघटन गर्ने निर्णय लिएको थियो । एक वर्षे अवधिमा धिरज वलीको नेतृत्वको कमिटीले संगठन विस्तार गर्न नसकेको आरोप लगाउँदै भंग गरिएको थियो । कर्णाली प्रदेशमा ३ महिने ‘कर्णाली विशेष अभियान’ सञ्चालन गर्ने निर्णय गरिए पनि अभियान परिणामुखी हुन सकेको छैन । पार्टी सरकारमा सहभागी भएका कारणले अभियानलाई लिएर नेताहरू कर्णाली पुग्न सकेका छैनन् ।
अभियानको केन्द्रीय तहबाट संयोजन गर्ने गरी सहमहामन्त्री विपिन आचार्यले जिम्मेवारी पाएका छन् । चुनावका कारणले कर्णाली विशेष अभियानलाई केही मात्रामा प्रभावित गरेको अभियानका सचिव शंकर श्रेष्ठले जानकारी दिए । भेटघाट, अन्तर्क्रिया, प्रशिक्षण, भेला भइरहेका छन् ।
चुनाव सकिएपछि ८/१० दिन बस्ने गरी केन्द्रीय सदस्य जिल्लामा खटाउने तयारी गरिएको छ । त्यस लगत्तै सभापति लामिछाने सुर्खेत पुगेर सभालाई सम्बोधन गर्ने रास्वपाले जनाएको छ । ‘सबै जिल्लामा सभापति पुग्ने गरी कार्यक्रम तयारी गरेका छौं । सभापति कहिले जाने निश्चित भएको छैन,’ श्रेष्ठले भने,‘केन्द्रीय सदस्यहरू वैशाख १७/१८ पछि जाने गरी कार्यतालिका बन्छ होला ।’
प्रतिक्रिया 4