+

गर्भावस्थामा श्रीमानको भूमिका कस्तो हुनुपर्छ ?

२०८१ वैशाख  २ गते १२:२६ २०८१ वैशाख २ गते १२:२६
गर्भावस्थामा श्रीमानको भूमिका कस्तो हुनुपर्छ ?

जब श्रीमती गर्भवती हुन्छिन्, श्रीमानको भूमिका के हुनसक्छ ? सामान्य लाग्ने यो प्रश्न दाम्पत्य सम्बन्धदेखि सन्तानसुखसम्म जोडिएको छ ।

गर्भवती बेलामा शारीरिक र भावनात्मक उथलपुथलबाट गुज्रिनुपर्ने हुन्छ । त्यसले गर्दा उनीहरुको व्यवहारमा परिवर्तन आउन सक्छ । खानपानको रुचि फेरिन सक्छ । र, धेरै कुरा बद्लिन सक्छ । साथै भावनात्मक रुपमा पनि उनीहरु स्थिर हुँदैनन् । केही डर, केही पीर, केही दुःख, केही उत्साहका कारण उनीहरुको मनोदशा बद्लिरहन्छ ।

यसरी भावनात्मक र शारीरिक रुपमा आउने अनेक उतारचढावमा उनीहरुलाई सम्हाल्न, साथ दिन, शान्त राख्न सबैभन्दा नजिकको साथी हुनसक्छन् श्रीमान् ।

श्रीमानको सामीप्य, साथ, हौसलाले गर्भवती श्रीमतीलाई धेरै सहज हुन्छ । र, यो चरण उनीहरु जति सहज र खुसी हुन्छन्, गर्भको बच्चामा पनि त्यसको सकारात्मक प्रभाव पर्छ । त्यसैले गर्भवती श्रीमतीका लागि श्रीमानले यी भूमिका खेल्न सक्छन् ।

श्रीमतीको मनोबल बढाउने

गर्भवती अवस्थामा श्रीमतीलाई बाहिरी र आन्तरिक समस्या, पीडालाई बुझेर श्रीमानले आत्मबल बढाउने र सकारात्मक कुराहरु गर्नुपर्छ । गर्भावस्थामा केही समस्या जटिलता भएपनि ‘केही हुँदैन म छु’, ‘जस्तो परिस्थितिमा पनि म तिम्रो साथमा छु’ भनी  आत्मबल बढाउने र खुसी राख्ने प्रयास गर्नुपर्छ ।

गर्भावस्थामा श्रीमतीलाई सकेसम्म तनावबाट टाढा राख्ने प्रयास गर्नुपर्छ ।

गर्भावस्थामा महिलाको भावनामा उथलपुथल ल्याउनमा उनको शारीरिक परिवर्तन पनि जिम्मेवार हुन्छ । किनभने यसबेला चायापोतो आउने, मोटोपन बढ्ने, पेटको छालामा धर्सा बस्ने र कसैकसैलाई कपाल झर्ने समस्या हुन्छ । यस्तो बेला उनीहरुको आत्मविश्वास कमजोर हुने र आफूले आफैंलाई उमेर गएको महसुस गर्छन् । यस्तो अवस्थामा श्रीमानले श्रीमतीलाई जस्तोसुकै परिस्थितिमा पनि साथ नछोड्ने विश्वास दिलाउन सक्नुपर्छ ।

गर्भावस्थामा महिलामा हार्मोनको परिवर्तनले महिलाको सोच्ने शैली परिवर्तन ल्याउने गर्दछ । यस्तो अवस्थामा महिलाको भावनाहरु बदलिरहने हुन्छ । उनीहरु सानो सानो कुरामा धेरै चिन्तित हुने, तनाव, बेचैनी, डर पैदा हुने, धेरै भावुक हुने अर्थात् रुने गर्छन् । यस्तो अवस्थामा उनीहरुको छिनछिनमा परिवर्तन भएको व्यवहारलाई बुझेर उनीहरुसँग रिसाउने र बाझ्नेभन्दा पनि उनीहरुको भावनालाई बुझेर सम्झाउने वा राम्रो कुराकानी गर्नुपर्छ ।

कामकाजमा सहयोग गर्ने

गर्भावस्थाको सुरुवाती महिनादेखि नौ महिनासम्म विभिन्न समस्या देखिन्छ । त्यसकारण गर्भावस्थामा श्रीमतीलाई घरको कामकाजमा पनि सहयोग गर्नुपर्छ । यसबेला शरीर कमजोर हुने, छिनछिनमा चक्कर लाग्ने, एकै छिनमा थकान महसुस हुने, झर्को लाग्ने वा रिस उठ्ने हुन्छ ।

थोरै काम गर्दा पनि धेरै थकान महसुस वा जीउ गल्ने भएकाले गर्भावस्थामा श्रीमानले लुगा धोइदिने वा धुँदा सहयोग गर्ने, खाना पकाउने, भाँडा माझिदिने र घरको सरसफाइमा मद्दत गर्ने गर्नुपर्छ । यसले आमा र बच्चाको स्वास्थ्यमा पनि सहयोग मिल्छ । फलस्वरूप श्रीमतीलाई थकान वा अन्य पीडाबाट जोगाउँछ ।

नियमित गर्भजाँचमा साथ दिने

गर्भावस्थामा महिलालाई एक्लै चिकित्सक कहाँ पठाउने गल्ती गर्नुहुन्न। प्रत्येक पटकको जाँचमा आफू पनि श्रीमतीसँगै अस्पताल जानुपर्छ । यसले श्रीमतीलाई बलियो ढाडस दिन्छ ।

उनका लागि खानपान, समयअनुसारको लुगाकपडा किनिदिने र औषधि सेवन जस्ता कुरामा श्रीमानले ख्याल राख्नुपर्छ । यसबेला श्रीमतीसँग बस्दा वा कुराकानी गर्दा सकारात्मक र राम्रो कुरा मात्र गर्ने गर्नुपर्छ । यस्तो गर्नाले श्रीमतीले आफूलाई एक्लो र असुरक्षित महसुस गर्दिनन् ।

शारीरिक व्यायाम गर्ने वा गराउने

गर्भावस्थामा श्रीमतीलाई शारीरिक र मानसिक रुपमा शान्त र स्वस्थ राख्न व्यायाम गर्ने गर्नुपर्छ । व्यायाम र ध्यान श्रीमतीलाई मात्र गराउने होइन आफू पनि सँगसँगै गर्नुपर्छ । यसले पेटभित्रको शिशु र आमा दुवैको शारीरिक र मानसिक अवस्था स्वस्थ राख्न मद्दत गर्छ । नराम्रो विचारबाट टाढा राख्छ ।

खानेकुरामा ध्यान दिने

गर्भावस्थामा महिलालाई गर्भवती बेला खान नहुने कतिपय खानेकुरा खाने इच्छा हुन्छ । त्यसैले श्रीमानले गर्भवती पत्नीको इच्छा भन्दा पनि आमा र गर्भेशिशुको  स्वास्थ्यलाई लाभ गर्ने खानेकुरामा जोड दिनुपर्छ । गर्भावस्थामा हरियो सागसब्जी, मौसमी फलफूल, ड्राइफुड, मासु र गेडागुडी खान दिने तर प्याकेजिङ खानेकुरा जस्तै चिप्स, बट्टामा राखेका अचार जस्ता खानेकुराबाट टाढा राख्ने भूमिका श्रीमानको हुन्छ ।

खानपानको विषयमा श्रीमानले आफूखुसी वा श्रीमतीको खुसीभन्दा पनि चिकित्सकको परामर्श लिएर प्राथमिकता  दिनुपर्छ । समय-समयमा नजिकै घुमाउन लैजानुपर्छ ।

स्वास्थ्य अवस्थामा ध्यान दिने

गर्भावस्थाको छैठौं र सातौं महिनाका लक्षण सामान्य हुन्छन् । आठौं र नवौं महिनामा गर्भवती महिलालाई थकान र कमजोरी बढ्छ । असहज महसुस हुने, निद्रा नलाग्ने, थकान महसुस हुने, धेरै पिसाब लाग्ने जस्ता समस्या हुन्छ । गर्भावस्थामा महिलाको हात-खुट्टा सुन्निने गर्छ । गर्भको शिशुको तौल बढ्दै जाँदा महिलाको शरीरको तौल धेरै बढ्न सक्छ र रक्तचाप बढ्दै गयो भने हातखुट्टा सुन्निने हुन्छ । यस्तो अवस्थामा मालिस गरिदिने, निद्रा नलाग्ने भएमा टाउकोमा मसाज गरिदिने, सुत्न सहज बनाइदिने गर्नुपर्छ । परिवारमा कुनै खटपट भएमा त्यसलाई व्यवस्थापन गरिहाल्दा श्रीमतीलाई तनावमुक्त बनाउँछ ।

गर्भावस्था डा. बालकृष्ण साह श्रीमान्-श्रीमती
डा. बालकृष्ण साह
लेखक
डा. बालकृष्ण साह
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ७३१३ एमबीबीएस, डीजीओ र एमपीएच । मोरङ सहकारी अस्पताल विराटनगरमा कार्यरत डा. साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?