बिर्सने समस्या लिएर अस्पताल आउनेहरूको संख्या बढ्दो छ । ‘म कुरा बिर्सिन थालेको छु’ के भएको होला ? भन्ने प्रश्न कतिपय अधवैंशे बिरामीको हुन्छ । बिर्सने समस्या कतिपय अवस्थामा रोगका कारणले पनि हुनसक्छ ।
म त कुराहरू बिर्सिन थालेको छु भन्ने समस्या लिएर अस्पताल आउने सबैलाई बिर्सने रोग लाग्यो नै भन्न मिल्दैन । यसमा उमेरले पनि फरक पार्छ । ६५ वर्ष भन्दा माथिका छन् कि ६५ वर्ष भन्दा कम उमेरका हो भनेर हेरिन्छ ।
यदि २५ वर्षको मान्छे म बिर्सन्छु भनेर आउँछ भने उसमा बिर्सने समस्याको कारण खोजिन्छ । बिर्सने समस्याले दैनिकीमा कति प्रभाव पारेको छ त्यो हेरिन्छ । सबैले सबै नै कुरा म झ्याप्पै सम्झिन सक्दिन तर एक छिन जोड गरेपछि भने याद आउँछ भन्छन् भने त्यो बिर्सने रोग होइन । त्यो ध्यान दिन नसक्ने समस्या भएको मात्रै हो ।
कसैलाई तनाव बढी छ भने दिमागले बाहिरको कुरालाई राम्रोसँग ध्यान दिन सक्दैन । भित्र दिमागमा चलेको कुरा र बाहिरको कुरा एउटै मात्रामा दिमागमा प्रस्तुत भएको हुन्छ । यस्तोमा दिमागले कुन कुरामा ध्यान दिने र कुन कुरामा ध्यान नदिने भन्ने मेसो पाउँदैन । यदि कुनै कुरामा हामीले ध्यान केन्द्रित नै गर्न सकेका छैनौ भने दिमागको सम्झने भाग सम्म त्यो कुरा पुग्दैन । जसकारण एक छिनमा त्यो कुरा सम्झिन खोज्दा बिर्सने हुन्छ । तर दिमागमा अलि बढी जोड दिइयो भने याद आउन सक्छ ।
बिर्सने रोग ‘डिमेन्सिया’
जुन व्यक्तिलाई बिर्सने रोग लाग्न सुरु भएको छ, ती व्यक्तिले सुरुमा तत्कालको कुरा छिटो बिर्सन्छन् र बिस्तारै पहिलेको कुरा बिर्सन थाल्छन् । तर बिरामीको परिवारका सदस्यले यो कुरालाई याद गरेका हुँदैनन् । पहिलेको कुरा त याद आएको छ भन्छन् तर बिर्सने रोग लागेका व्यक्तिले सबैभन्दा पहिले तत्कालको कुरा बिर्सन्छन् ।
जस्तो, कुनै ७० वर्षको मान्छेले २० वर्षअघिको घटना सम्झिन्छन् तर बिहान खानामा के खाएको औषधि खाएको छ कि भन्ने कुरा बिर्सन्छन् भने त्यो बिर्सने रोग अर्थात् डिमेन्सिया हो । जसलाई जटिलता अनुसार ‘माइल्ड कग्निटिभ इम्पेयरमेन्ट’, ‘मोडरेट कग्निटिभ इम्पेरिमेन्ट’, ‘सिभिएर कग्निटिभ इम्पेरिमेन्ट’ पनि वर्गीकरण गरिएको हुन्छ । ‘कग्निटिभ’ भनेको सोच्न सक्ने क्षमता हो ।
जसरी उमेरअनुसार शरीर बूढो हुँदै जान्छ र चाउरी पर्न थाल्छ । त्यसरी नै दिमाग पनि बूढो हुँदै जान्छ र सुक्न थाल्छ । २० वर्षको मान्छेको दिमाग र ६० वर्षको मान्छेको दिमाग एकै प्रकारको हुँदैन । उमेरअनुसार सबैको दिमाग सुक्दै जान्छ । तर कतिपय रोगको कारण कसैको दिमाग अरूको तुलनामा अलि छिटो सुक्ने हुन्छ । जस्तो उमेर चाहिं ७० वर्ष पुगेको छ तर दिमाग छिटो सुकेको कारण दिमाग भने ९० वर्षको भएको छ । यस्तोमा उनीहरूमा ७० वर्षको उमेरमा बिर्सने रोग देखापर्छ ।
७० वर्षको उमेरमा दिमाग जति हुनुपर्ने त्यति नभएर सुकेर कम भएको छ भने दिमागले गर्न सक्ने गतिविधिमा पनि कमी आउँछ । दिमागसम्बन्धी गतिविधिको क्षयीकरणको प्रमुख लक्षण स्मरण क्षमतामा कमजोर हुँदै जानु हो ।
यो उमेरमा स्मरण क्षमतामा मात्र कमजोर हुने होइन, नयाँ कुरा पनि सिक्न सक्दैनन् । वृद्धावस्थामा मान्छेले प्राय: नयाँ कुरा सिक्ने गर्दैनन्, त्यसैले त्यसलाई हामीले खासै ध्यान दिएका हुँदैनन् । तर स्मरण क्षमता कमजोर हुँदै गएको भने याद हुन्छ ।
बिर्सने रोगमा देखिने लक्षणहरू
बिर्सने रोग लागेको बिरामीले सबैभन्दा पहिले बिहान के खाएको बिर्सने, औषधि खान बिर्सने, पूजापाठ गर्छन् भने पाठ गर्दा कुन पेजमा पुगेको हो भन्ने कुरा बिर्सने जस्ता लक्षण देखिन्छ ।
बिस्तारै समस्या बढ्दै गएर दैनिक गतिविधिमा समस्या देखिन थाल्छ । शौचालय गएर आयो हात धुन बिर्सने, ट्वाइलेट जान्छु भनेर अर्कै कोठामा पुग्ने, खाली खुट्टा हिंड्ने, घरबाट केही काम गर्न निस्कने र फर्कने बेला घर जाने बाटो नै बिर्सने हुन्छ ।
समस्या अझै बढ्दै गएपछि पुरानो कुराहरू बिर्सिने जस्तो छोराछोरीको नाम बिर्सने, घरका सदस्यहरू कति जना छन् भन्ने कुरा समेत बिर्सन्छ ।
बिर्सने रोगको कारण
बिर्सने समस्याको प्रमुख कारण दिमाग सुक्ने हो । साथै मस्तिष्कमा रक्तसञ्चार पुर्याउने स-साना नलीहरुमा अवरोध खडा हुँदा दिमागको जुन भागमा रगत पुग्दैन त्यो भाग मर्छ र दिमागको मात्रा र काम गर्ने क्षमता कम भएर बिर्सने समस्या देखापर्छ ।
मस्तिष्कमा पानी हुन्छ, जसलाई ‘सेरेब्रोस्पाइनल फ्लुड’ भनिन्छ । यो पानीको मात्रा बढी भएर त्यसले वरपर दिमागलाई थिच्दा पनि बिर्सने समस्या निम्तिन्छ । साथै केही भिटामिनको कमीका कारण पनि बिर्सने समस्या देखा पर्छ ।
धेरैजसो अवस्थामा बिर्सने समस्या वंशाणुगत कारणले पनि देखा पर्छ । दिमागमा कुनै संक्रमण भएमा, दुर्घटनामा परेर टाउकोमा चोट लागेमा, टाउकोमा ट्युमर पलाएर वरिपरिको भाग थिचिएमा, त्यस्तो ट्युमर निकाल्ने क्रममा दिमागको केही भाग निकाल्दा पनि बिर्सने समस्या देखा पर्छ । यसरी विभिन्न कारणले दिमागको मात्रा कम हुने समस्या भएको छ भने त्यसले बिर्सने समस्या देखा पर्न सक्छ ।
उपचार
सबै बिर्सने रोगको उपचार हुँदैन र यो समस्या जिन्दगीभर रहन्छ भन्ने सोच धेरैमा हुन्छ । तर बिर्सने रोगको उपचार सम्भव छ । ‘अल्जाइमर डिमेन्सिया’, ‘मिक्स डिमेन्सिया’ र ‘भास्कुलर डिमेन्सिया’मा औषधि दिएर समस्यालाई रोकथाम गर्न सकिन्छ । मानौं, औषधि उपचार नगर्दा दुई वर्षमा बिरामीले सबै कुरा बिर्सन्थे भने औषधिले त्यसलाई लम्बाएर सात वर्ष पुर्याउन सक्छ ।
रगतको नलीमा अवरोध भएका कारण दिमाग सुकेर कसैमा बिर्सिने समस्या देखिएको हो भने रगत पातलो पार्ने औषधि दिइन्छ । दिमागको जुन भाग मरेको छ, त्यसलाई पूर्ण काम गर्न सक्ने बनाउने भन्ने त नहोला तर जति दिमाग बाँकी छ त्यहाँ थप क्षति नहोस् भनेर औषधि चलाइन्छ ।
भिटामिनको कमीले वा दिमागमा पानी बढी भएर बिर्सने समस्या देखिएको छ भने सही कारण पत्ता लगाएर सही उपचार गरियो भने बिर्सने रोगलाई निको पनि पार्न सकिन्छ ।
बिर्सने रोगमा परिवारको सहयोग महत्त्वपूर्ण
कुनै व्यक्तिमा उमेर बढ्दै गएपछि सोचमा, व्यवहारमा परिवर्तन देखिन थाल्यो भने बिर्सने रोग देखापर्यो कि भनेर परिवारका सदस्यहरूले शंका गर्नुपर्ने हुन्छ ।
बिर्सने रोगको लक्षणको रूपमा कतिपयले शंकाको समस्या र मनोबल कमजोर हुने समस्या देखाउन थाल्छन् । सुरुवाती अवस्थामा बिरामीले मैले बिर्सिरहेको छु भनेर मेसो पाउँछन् । तर आफूले बिर्सिएको कुरालाई लुकाउन सक्छन् ।
स्मरण शक्ति कमजोर हुनु भनेको मनोबल कमजोर हुनु हो । मनोबल कमजोर हुँदा भावना नियन्त्रण हुन नसक्ने, मन थाम्न नसक्ने, रिसाउने, झर्कोफर्को गर्ने, बिना कारण वा आधार बिना शंका गरिदिने जस्ता समस्या देखिन्छ । उदाहरणका लागि बिरामीले कतै पैसा राखेका हुन्छन् । आफूले कति पैसा राखेको भन्ने कुरा बिर्सन्छन् र मेरो पैसा चोरी भइरहेको छ भनेर शंका गर्ने गर्छन् ।
६५ वर्ष उमेर कटिसकेको मान्छेले कुनै पनि मनोरोगको लक्षण देखाउँछन् भने प्राथमिक रूपमा यो बिर्सने समस्या हुनसक्छ भनेर सोच्न जरुरी छ । बिर्सने समस्यामा बिरामी भन्दा पनि बिरामीको हेरचाह गर्ने व्यक्तिले रोगको बारेमा बुझ्नुपर्छ । त्यसैले बिरामीको हेरचाह गर्ने व्यक्ति र घरपरिवारको सदस्यलाई काउन्सिलिङ गर्नुपर्छ ।
नेपाली समाजमा बिर्सने रोग बढ्दै जानेवाला छ । किनभने नेपालीको औसत आयु ७२ वर्ष हो । ६५ वर्ष कटेपछि बिर्सने समस्या देखा पर्ने सम्भावना बढी हुने भएकाले यो रोगका बिरामी बढ्ने देखिन्छ । त्यसैले लक्षणहरू समयमै पहिचान गरेर समयमा उपचार गर्न सकियो भने बिरामी र परिवार दुवैलाई सहज हुन्छ ।
प्रतिक्रिया 4