
काठमाडौं । ‘डिग्री माइला’ हलमा प्रदर्शनरत छ । सुरुवाती तीन दिनमा ३ करोड ८२ लाख रुपैयाँ हाराहारीमा ग्रस कलेक्सन गरेको भनिएको फिल्मले काठमाडौं र उपत्यकाबाहिर राम्रै कमाइ गरेको छ ।
काठमाडौंभन्दा बाहिरका सहरमा कमाइ उत्कृष्ट रहेको निर्माताले बताएका छन् । पूर्वी नेपालका सहरमा फिल्मको कमाइ अन्यत्रमाथि भन्दा माथि रहेको बाँसुरी फिल्म्सले जनाएको छ ।
यसैबीच पूर्वी सहरमा फिल्म प्रवर्द्धन गर्न दयाहाङ राई, आँचल शर्मा, विजय बराल, कार्यकारी निर्माता मणिराम पोखरेलसहितको टोली मंगलबार त्यसतर्फ लागेको छ । दर्शकसँग भेटेर प्रतिक्रिया बुझ्ने तयारीसहित फिल्मको टोली त्यसतर्फ लागेको हो ।
यो भेटघाट विराटनगरदेखि सुरु भएर बिर्तामोडमा पुगेर टुंगिने जनाइएको छ । कलाकारको टोलीले बिहान विराटनगरको क्यूएफएक्स हलमा पुगेर दर्शकसँग भेटघाट र संवाद गर्ने भएको छ । त्यसपछि टोली विराटनगरका विभिन्न हलमा पुग्नेछ ।
विराटनगरपछि टिम इटहरीका दुई हल एलाइट सिनेमा र क्यूएफएक्स हलमा पुग्नेछ । मंगलबार साँझ धरानस्थित फ्रेण्ड्स सिनेमाज, बुधबार दमकस्थित म्याक्स, पाथीभर सिनेप्लाजा र बिर्तामोडको क्यूएफएक्स सिनेमाजमा पुग्नेछ ।
‘कबड्डी’ फेम्ड रामबाबु गुरुङ निर्देशित फिल्मले शैक्षिक बेरोजगारीको कथा भन्छ । फिल्मको शीर्ष भूमिकामा दयाहाङले अभिनय गरेका छन् ।
प्रतिक्रिया 4